बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने

जनकराज सापकोटा

काठमाडौँ — बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो ।

बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने

सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं उच्चपदस्थ सरकारी अधिकारीका निम्ति चार घेरे सुरक्षा प्रबन्ध गरिएको छ ।


पहिलो घेरामा सेना रहनेछ भने त्यसपछि क्रमश: प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर टोली रहनेछन् । परिस्थितिको विश्लेषण र तुरुन्तै गर्नुपर्ने निर्णयका निम्तिसमेत सेनाले नै कमान्ड सम्हाल्ने छ । यसका साथै तीनै सुरक्षा निकायको केन्द्रीय कार्यालयमा रहेको कमान्ड सेन्टरले समेत सूचना आदानप्रदान, सुरक्षा विश्लेषण र समन्वयको काम गर्नेछन् ।


प्रहरी स्रोतका अनुसार सुरक्षा व्यवस्था चुस्त राख्न तीनवटा जामर प्रयोग गरिनेछ । बिमस्टेकमा आएका पाहुना हिँड्ने बाटो, कार्यक्रम तथा भ्रमण स्थलमा प्रयोग गरिने जामरले करिब ५ सय मिटरवरपर मोबाइललगायत अन्य सिग्नल निस्तेज गर्नेछ ।

प्रहरीले यसपटक भेहिकल स्क्यानर पनि प्रयोगमा ल्याउनेछ । प्रहरी अधिकारीका अनुसार उच्चपदस्थ केही पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएकाले एउटा भेहिकल स्क्यानर मेसिन त्यता पठाइनेछ । सवारीहरू भुइँमा ओछ्याइएको स्क्यानर पार भएर जानेछन् । स्क्यानरले गाडीको तल्लो भागको चित्र र भिडियो खिच्नेछ, जसले सुरक्षा खतराका बारेमा जानकारी मिल्नेछ । प्रहरीले पहिलो पटक २ वटा पोर्टेबल ब्यागेज स्क्यानर पनि प्रयोग गर्न लागेको छ । कार्यक्रमस्थल र आवास स्थलमा लैजाने ब्याग र अन्य लगेजको जाँचका निम्ति यस्तो स्क्यानर प्रयोग गर्न लागिएको हो ।


प्रहरीले सुरक्षाका निम्ति किनिएका नयाँ ४ र पुराना २५ गरी २९ वटा वाक थ्रु स्क्यानर प्रयोगमा ल्याउने तयारी गरेको छ । कार्यक्रम र भ्रमण स्थलमा सहभागीहरू अनिवार्य रूपमा वाक थ्रु गेट भएर हिँड्नुपर्नेछ । यस्तो मेसिनले मानिसको साथका केही शंकास्पद डिभाइस भएको खण्डमा सूचना दिनेछ । प्रहरीले आन्तरिक सञ्चारका निम्ति चारवटा रेडियो रिपिटर सिस्टम पनि प्रयोगमा ल्याउने भएको छ । हालै खरिद गरिएको रेडियो रिपिटर प्रहरीको आन्तरिक सूचना हयाक गरेर कसैले सुन्न नसक्ने अत्याधुनिक प्रविधिको छ ।


प्रहरीसँग मौजुद एक सय ५० भन्दा बढी मेटल डिटेक्टर पनि प्रयोग गरिनेछ । कार्यक्रममा सहभागी विदेशी सरकारी अधिकारीबाहेकलाई मेटल डिटेक्टरले जाँच गरिनेछ । प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको जनकपुर भ्रमणमा प्रयोग गरेजस्तै र्‍यापिड कम्युनिकेसन सिस्टम पनि प्रयोग गर्नेछ । सवारीका बेला, कार्यक्रम र भ्रमण स्थलमा रहेका प्रहरीले बोकेका मोबाइलजस्तै उपकरणबाट खिचिएको भिडियो प्रहरी हेडक्वार्टरमा लाइभ हेर्न सकिन्छ । प्रहरीले विस्फोटक पदार्थ रहे/नरहेको पत्ता लगाउन सक्ने विशिष्ट क्षमताका कुकुर पनि परिचालन गर्ने तयारी गरेको छ ।


सुरक्षा व्यवस्थाको समन्वय गर्न प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत पूर्वतयारी कमिटी बनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेले सम्पूर्ण सुरक्षा तयारी सकिएको बताए । ‘सवारी मार्ग, कार्यक्रम स्थल, निवास र भ्रमणस्थलको उच्च सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने । सोमबार मात्रै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कार्यक्रम स्थलसम्मको सवारी व्यवस्थापनको रिहर्सल गरेको थियो । प्रहरी प्रवक्ता शैलेश थापाले उच्च सुरक्षा व्यवस्थापनका निम्ति कुनै कसुर बाँकी नराखिएको बताए ।


बिमस्टेकका लागि सुरक्षा उपकरण खरिद

नेपाल प्रहरीले बिमस्टेकका लागि फास्टट्रयाकमा करोडौं रुपैयाँका सुरक्षा उपकरण र गाडी खरिद गरेको छ । प्रहरी अधिकारीका अनुसार करिब २० देखि २५ लाख हाराहारी मूल्य पर्ने चारवटा भेहिकल स्क्यानर, २ वटा पोर्टेबल स्क्यानर, ४ वटा वाक थ्रु गेट, ४ वटा रेडियो रिपिटर सिस्टम, ५० वटा मेटल डिटेक्टर र केही थान गाडी खरिद गरिएको छ । मन्त्रिपरिषद्बाटै निर्णय गराएर फास्टट्रयाकमा यी उपकरण किनिएको प्रहरीले जनाएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट रकम निकासामा ढिलाइ भएपछि प्रहरीले आन्तरिक स्रोतबाट सामान खरिदको व्यवस्थापन मिलाएको हो ।



यस्तो छ सुरक्षा तयारी :

पहिलो घेरा : नेपाली सेना

दोस्रो घेरा : नेपाल प्रहरी

तेस्रो घेरा : सशस्त्र प्रहरी

चौथो घेरा : राष्ट्रिय अनुसन्धान विभाग

सुरक्षामा प्रयोग हुने प्रविधि

जामर : तीनवटा

गाडी स्क्यानर : ४ वटा

पोर्टेबल ब्यागेज स्क्यानर : २ वटा

वाक थ्रु गेट : २९ वटा

रेडियो रिपिटर सिस्टम : ८ वटा

मेटल डिटेक्टर : करिब डेढ सय


प्रकाशित : भाद्र ११, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?