कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी

राजेश मिश्र

काठमाडौँ — सत्तारूढ दल नेकपाले राष्ट्रिय सभाका चारवटै संसदीय समितिको नेतृत्व आफैंले लिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका १६ मध्ये एक चौथाइ समितिको नेतृत्व दाबी गरे पनि नेकपा त्यसमा अनुदार देखिएको छ । 

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । सबै समितिमा सदस्य चयन भइसकेको छ । ती सदस्यबाटै बुधबार सभापति चयन गरिँदै छ । राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले चारवटै समितिको नेतृत्वमा उम्मेदवारी दिने बताए । संसद् सचिवालयले मंगलबार बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरेको छ ।


कांग्रेसले राष्ट्रिय सभामा कम्तीमा एउटा समितिको नेतृत्व आफ्नो पार्टीलाई दिन सत्तारूढ दललाई आग्रह गरेको छ । राष्ट्रिय सभामा कांग्रेस सचेतक सरिता प्रसाईंले संघीय संसदका दुवै सभामा आफूहरूको करिब एक चौथाइ उपस्थिति रहेकाले समितिको नेतृत्व पनि त्यहीअनुसार पाउनुपर्ने बताइन् । उनले प्रतिपक्षीलाई किनारा लगाएर सत्तापक्षले एकलौटी संसद् चलाउने चाहना देखाएको उल्लेख गर्दै भनिन्, ‘प्रतिपक्षीलाई समितिको नेतृत्व नदिने, प्रतिपक्षीबिनै संसद् चलाउने हो भने कार्यकारी र व्यवस्थापिकाबीचको सन्तुलन सम्भव होला ?’ उनले पार्टीको आन्तरिक बैठकपछि मात्रै समिति सभापति निर्वाचन सन्दर्भमा रणनीति तय हुन सक्ने बताइन् ।


समितिकै नेतृत्वमा उचित स्थान पाउनुपर्ने सुनिश्चितता माग गर्दै कांग्रेसले समितिमा बस्ने सदस्यको नाम बुझाउन आलटाल गरेको थियो । ‘नाम बुझाउनुस्, सभापति चयनको कुरा पछिको विषय हो, त्यसबेला सहमति गरौंला’ भन्ने सत्तारूढ दलको आश्वासनपछि आफूहरूले नाम बुझाएको कांग्रेस नेताहरूको भनाइ छ । तर, नेतृत्व चयनका बेला सत्तारूढ दलले संवादको चाहनासमेत नदेखाएको उनीहरूको गुनासो छ ।


राष्ट्रिय सभामा कांग्रेस सदस्य जितेन्द्रनारायण देवले सरकार सञ्चालनका लागि दुई तिहाइको बहुमत रहेको सरकार संसदभित्रका अन्य दल र प्रमुख प्रतिपक्षीप्रति असहिष्णु बन्ने मानसिकतामा देखिएको बताए । ‘शक्ति सन्तुलनका लागि पनि सत्ताधारी दलले संसदभित्र लिबरल भएर प्रमुख प्रतिपक्षी र अन्य दलका विचार मुखरित होस् भन्ने कार्यशैली अपनाउनुपर्ने हो,’ उनले भने, ‘तर त्यो कतै देखिएको छैन । सबैतिर आफ्नो नियन्त्रण राखेर जाने प्रयास गरिँदैछ । यो लोकतन्त्रको भविष्यका लागि राम्रो होइन ।’


राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैतिरका समिति सभापतिमा सत्तारूढ दलले उम्मेदवारी दिए अन्य दलले नेतृत्व पाउने सम्भावना शून्य रहन्छ । चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न असम्भव देखिएपछि कांग्रेसले त्यस विषयमा राजनीतिक सहमति खोजिरहेको छ । राष्ट्रिय सभाको समितिका लागि मंगलबार तोकिएको उम्मेदवारी मनोनयन बिमस्टेक सम्मेलनपछाडि धकेलेर सत्तारूढ दलको नेतृत्वसँग छलफल गर्ने मनसाय कांग्रेस नेताहरूमा देखिएको छ ।


नेकपा सचेतक भट्टराईले उच्चस्तरमा केही नयाँ सहमति विकास भए मात्रै, नभए सबै समितिका सभापतिका लागि उम्मेदवार छान्ने काम अन्तिम चरणमा रहेको बताए । नेकपाले राष्ट्रिय सभाका चारवटा समितिका लागि परशुराम मेघी गुरुङ, रामनारायण बिडारी, भैरवसुन्दर श्रेष्ठ र पार्वती रावललाई उम्मेदवार बनाउन अन्तिम छलफल गरिरहेको छ । त्यसबाहेक कमला ओली, कालीबहादुर मल्ल, सुमनराज प्याकुरेल र बलराम बाँस्कोटाको नाम पनि चर्चामा छ ।

प्रकाशित : भाद्र ११, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?