कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बसले जोड्दै पोखरा–लुम्बिनी

पोखरा — पर्यटकीय नगर पोखराबाट लुम्बिनी बस सेवा सञ्चालन हुने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले आगामी शनिबारदेखि सेवा सुरु गर्न लागेको हो ।

बसले जोड्दै पोखरा–लुम्बिनी

सुनौली, भैरहवा र बुटवललाई पोखरासँग यातायात सम्पर्कमा जोड्न २ अत्याधुनिक बस ल्याइएको जगदम्बाका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

‘सिल्भर ट्रयांगल’ भनिने पर्यटकीय क्षेत्र चितवन, लुम्बिनी र पोखरालाई बस सेवामा जोड्न केही वर्षअघि पनि प्रयास भएको थियो । पोखराबाट गएको बसलाई रुपन्देही क्षेत्रमा तत्कालीन एउटा समितिले रोकेपछि पर्यटकीय बस सेवा सुरु गर्नै नपाई बन्द गरिएको थियो ।

यसपटक लुम्बिनी, भैरहवा र बुटवलका व्यवसायी र ५ नम्बर प्रदेशको सरकारसँगको छलफलपछि सेवा सुरु हुन लागेको अधिकारीले बताए । ‘उहाँहरू पर्यटकीय नगर जोड्ने स्तरीय बसको सेवा सञ्चालन हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘हामीले छलफलपछि मात्रै सेवा सुरु गर्न लागेका हौं ।’ हालसम्म भैरहवा भएर नेपाल भित्रिने भारतीय पर्यटक आफ्नै सवारीमा पोखरा आइपुग्ने गरेका छन् । कतिपय सीमा क्षेत्रमा पाइने गाडी रिजर्भ लिएर आउजाउ गर्छन् । जगदम्बाको ३० सिटे बस औपचारिक रूपमा आगामी शनिबारदेखि पोखरा र आइतबार लुम्बिनीबाट छुट्ने भएको छ ।

पोखराबाट दिल्ली र काठमाडौंका लागि अत्याधुनिक बस सेवा सञ्चालनको अनुभवी प्रतिष्ठान भएकाले लुम्बिनी–पोखराको सेवा पनि स्तरीय दिने दाबी अधिकारीको छ । शनिबार पोखराबाट छुट्ने बसको सोमबार जगदम्बा प्रतिष्ठानका अध्यक्ष द्रोणराज अधिकारीले उद्घाटन गरे । ‘मैले ३२ सालमा पोखरामा बस दर्ता गराउन खोज्दा दिएनन्, बुटबल पुगेर दर्ता गराउनुपर्‍यो,’ उनले भने, ‘अहिलेको अवस्था त्यस्तो छैन । स्तरीय सेवा दिएमात्रै व्यवसाय चल्न सक्छ ।’

पर्यटन व्यवसायी वासु त्रिपाठीका अनुसार पोखराबाट स्तरीय बस सेवा काठमाडौं र चितवनका लागि चल्दै आए पनि लामो समययता लुम्बिनीसँगको सम्पर्क बढ्न सकेको थिएन । ‘अबको जमाना स्तरीय सेवा दिएमात्रै पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘अब महेन्द्रनगर र काँकडभिट्टालाई पनि लक्ष्य गर्नुपर्छ ।’ सोझो यात्रा गर्न पाउनेलाई सेवा दिने बसका कारण होटल–रेस्टुरेन्टको पनि व्यवसायमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?