१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बस बिसौनी बन्यो सहर

चिल्ला र फराकिला सडक, ठूला घर र पूर्वाधार निर्माण, आधारभूत आवश्यकता घरदैलोसम्मै
मनोज पौडेल

चन्द्रौटा (कपिलवस्तु) — शिवराज ५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माणमा संलग्न मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाए । ०४० पछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो । बस्तीमा दुई/तीन पक्की घर थिए, बाँकी फुस र खरले छाएका ।

बस बिसौनी बन्यो सहर

यही ठाउँ पूर्व–पश्चिम चल्ने बस बिसौनी बन्यो । कुनै बेलाको त्यही बस बिसौनी अहिले सहरमा फेरिएको छ ।

स्थानीयका अनुसार सुरुमा २ चिया पसल थिए । यो मुलुकभित्र र भारत ओहोरदोहोर गर्ने नाका सहर भएपछि सबैतिरका यात्रु भेला हुन थाले । पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनेपछि ०५०/५१ देखि पहाडबाट बसाइँसराइ गरी आउने क्रम सुरु भयो । तर, ०५२ मा माओवादी द्वन्द्व सुरु भएपछि यहाँ सन्नाटा छायो । त्यतिबेला बजार विस्तार भएन । बसाइँ सर्ने क्रम थामियो ।

विस्तृत शान्ति सम्झौतापछि चन्द्रौटा बजार फेरि चम्किन थालेको छ । अहिले आसपास जिल्लाबाट बसाइँ सरी आउनेको ताँती छ । एक जमानाको बस बिसौनी अहिले जिल्लाकै व्यस्त बजार बनेको छ । यहाँ मिश्रित बस्ती छ, पहाड, भित्री मधेस र तराईका विभिन्न जातजातिको बसोबास । अर्घाखाँची, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी र दाङबाट बसाइँ सरेर आउने धेरै छन् । पहाडी, मधेसी, थारू र मुस्लिमबीचको एकता बलियो छ ।

केन्द्र बन्दै
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी ०४० तिर बैंकमा पैसा राख्न/झिक्न परे ३५ किमिको दूरीमा रहेको सदरमुकाम तौलिहवासम्म साइकल चलाएर पुग्थे । अहिले त्यस्तो दु:ख छैन । चन्द्रौटा बजारमै १८ वाणिज्य बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

चिल्ला सडक छन् । ठूला घर र पूर्वाधार निर्माण भएका छन् । दुईदेखि चारपांग्रे सवारी साधन घरदैलोमै पुग्छन् । आधारभूत आवश्यकता आँगनमै पूरा भइरहेका छन् । तीव्र बजारीकरण छ । बसाइँसराइ पनि द्रुत गतिमा भइरहेकाले चन्दौटा सहरोन्मुख बनेको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बन्दै छ ।

राजमार्ग दायाँबायाँ बाक्लो बस्ती छ । यहाँबाट दाङ, अर्घाखाँची, प्यूठान र रोल्पासम्म व्यापार हुन्छ । अर्घाखाँची, प्यूठान र रोल्पाका लागि आवश्यक ७० प्रतिशत खाद्यान्न यहीँबाट आपूर्ति हुन्छ । तराई र पहाडी जनजीवनको आनन्द लिन पनि चन्द्रौटा उपयुक्त स्थल बनेको छ ।

मुलुकका ६ ठूला भन्सार नाकामध्येको यो कृष्णनगरसँग जोडिएको नजिकको बजार हो । बजारको पहुँच भारतीय राष्ट्रिय रेल सञ्जालसम्म छ । बढनी रेलवे स्टेसन पनि नजिकै छ । चन्द्रौटाबाट कृष्णनगर २० किमि दक्षिणमा छ । गण्डकी, ५ र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न यही नाका प्रयोग गर्छन् ।

बिनागुरुयोजनाको बजार
यहाँ व्यवस्थित सहर बसाउने गुरुयोजनाको भने अभाव छ । ‘गुरुयोजना नहँुदा कस्तो सहर बनाउने अन्योल छ,’ कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भने, ‘कुन ठाउँमा के निर्माण गर्ने भन्ने योजना छैन, जहाँ पायो त्यहीँ विकासका नक्सा कोर्दा समस्या भइरहेको छ ।’ औद्योगिक, व्यापारिक, पर्यटन र बस्ती क्षेत्र छुट्याएर पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए । अहिले समस्या नभए पनि भविष्यमा नराम्रो असर गर्ने हुँदा नगरपालिकाले छिट्टै गुरुयोजना बनाउनुपर्नेमा पोखरेलले जोड दिए ।

‘योजना बनाउन रकम लाग्ने हुँदा धेरैले नाक खुम्च्याउँछन्,’ स्थानीय विष्णुप्रसाद खतिवडाले भने, ‘तर, योजनाअनुसार काम गर्दा ५/७ वर्षपछि त्यसको परिणाम देखिन्छ ।’ व्यवस्थित कामका लागि नेतृत्व अभाव भएकाले यहाँको विकासले गति लिन नसकेको स्थानीय हुमाकान्त खनालले बताए । घर बनाउने र जीविकोपार्जनका लागि व्यापार फस्टाए पनि शिक्षा, स्वास्थ्य, मनोरञ्जन र रोजगारीको अवसर नभएको उनले बताए ।

सुरक्षा चिन्ता
चन्द्रौटा औद्योगिक ‘हब’ बन्ने क्रममा छ । तर, यहाँको मुख्य समस्या भने शान्ति सुरक्षा रहेको चन्द्रौटा उद्योग वाणिज्य संघका उपाध्यक्ष ईश्वरी पाण्डेले बताए । धेरै उद्योगधन्दा यहीँ स्थापना गर्न खोजे पनि उद्योगमैत्री वातावरण नहुँदा समस्या भइरहेको उनले बताए । ‘उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नेभन्दा कसरी दु:ख दिएर कमाउन सकिन्छ भन्ने सोच छ,’ उनले भने, ‘उद्योग स्थापना भए आय आर्जन हुन्छ भन्ने मान्यता नै स्थापित हुन सकेको छैन ।’

यहाँबाट विजया, विश्वकर्मा, गणपति र बुद्ध सिमेन्ट उत्पादन हँुदै आएका छन् । पछिल्लो समय शिवराज ६, वीरपुरमा बालाजी, शुभलक्ष्मी, अटल, देउराली र भू–गर्भ सिमेन्ट उद्योग छिट्टै सञ्चालनमा आउने तयारीमा छन् । मैदा र छड उद्योग पनि सञ्चालनको तयारीमा छन् । प्लाइउड, सख्खर, हाड पिसानीलगायत २ दर्जन बढी उद्योग छन् । उद्योगीलाई नगरपालिकाले प्रोत्साहन गर्नुपर्ने व्यवसायी बताउँछन् ।

उपचार र शिक्षाको अभाव
यहाँ भरपर्दो अस्पताल छैन । उपचारका लागि रूपन्देहीको बुटवल र चितवनको भरतपुर पुग्नुपर्छ । व्यवस्थित अस्पताल छैनन् । उच्च शिक्षाका लागि पनि जिल्लाबाहिर जानुपर्छ । राम्रा र स्तरीय शिक्षालयको पनि अभाव छ । प्राविधिक क्याम्पस छैनन् । स्तरीय होटलको अभाव छ । पर्यटक आकर्षित गर्ने पूर्वाधार छैनन् । अहिलेसम्म चन्द्रौटा बजारमा धेरै परिवर्तन भइसक्नुपर्ने कपिलवस्तु व्यापार संघ अध्यक्ष पोखरेलले बताए । ‘पूर्वाधार विकास हुने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘योजना, इच्छाशक्ति र उत्साह नहुँदा पछि परेको हो ।’

शिवराज नगरपालिकाका मेयर अधिकारी चन्द्रौटाको विकास उल्लेख्य मात्रामा भएको बताउँछन् । उनका अनुसार नगरभित्र परिवर्तन देखिएको छ । सडक, पुल र पक्की ढल निर्माण भएका छन् । ‘बिस्तारै परिवर्तनको अनुभूति हुन्छ,’ उनले भने, ‘हामी योजनाबद्ध ढंगले अगाडि बढ्ने तयारीमा छौं ।’

प्रकाशित : भाद्र १२, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?