१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कम उमेरमै आमा

इलाम — भर्खरै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर महिला–पुरुष दुवैलाई २० वर्ष तोकेको छ । यसअघि महिलाले १८ र पुरुषले २० वर्षमा विवाह गर्न पाउँथे ।

कम उमेरमै आमा

तर कम उमेरमा आमा बन्नेको संख्या हेर्दा यसअघि पनि कानुन पालनामा ध्यान दिएको पाइँदैन । अझ विवाह गर्ने उमेर २ वर्ष थप भएपछि संहिता कार्यान्वयनमा थप सजग हुनुपर्ने देखिएको छ ।

इलाममा पनि कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउनेको संख्या उल्लेख्य पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले कम उमेरमा बच्चा पाउनेको संख्या अझै घट्न नसकेको देखाएको हो । गत आव ०७४/७५ मा जिल्लामा २० वर्ष तथा त्योभन्दा कम उमेरका ७ सय ५० जनाले पहिलोपटक गर्भ जाँच गराएका थिए । त्यसमा ३ सय ३ महिलाले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा छ । बाँकी प्रसूतिका लागि जिल्लाबाहिर गएका थिए । कम उमेरमा बच्चा जन्माउनुपर्दा जोखिम बढी हुने भएको बुझेपछि धरैले झापालगायत सम्पन्न स्थानमा प्रसूतिका लागि लैजाने गरेको पाइएको छ ।

तथ्यांकले जिल्लाकै अस्पतालमा २० वर्ष मुनिकाले बच्चा जन्माउने क्रम घट्दै गएको देखाए पनि परीक्षण गराउन आउनेको संख्याका कारण समस्या उस्तै देखिएको हो । सन्दकपुर गाउँपालिकाका स्वास्थ्य प्रमुख मनोज शाहले यस क्षेत्रमा कम समयमा विवाह गर्ने र बच्चा जन्माउने धेरै रहेको बताए । ‘केटाको उमेरभन्दा आधा कमकी युवती गर्भवती हुने चलन छ,’ उनले भने ।

कम उमेरमा बच्चा पाउँदा आमा–बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत सरिता सुब्बाले जिल्लाका गाउँगाउँ पुगेर गरेको अध्ययनले कम उमेरमा आमा बन्ने र गर्भपतन गराउनेको संख्या उच्च देखाएको छ ।

कम उमेरमा आमा हुने अधिकांशको शल्यक्रियाबाट प्रसूति गराएको पाइएको उनले बताइन् । इलाम अस्पतालसहित जिल्लाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने ८० प्रतिशत महिलामध्ये ५० प्रतिशतले जिल्ला बाहिरका अस्पतालबाट प्रसूति सेवा लिने गरेका छन् । बाँकी ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् ।

अघिल्लो आवमा २० वर्षभन्दा बढी उमेर समूहका २१ सय महिलाले पहिलो गर्भ जाँच गराएका थिए । जिल्लामा कम उमेरमा विवाह गर्नेको संख्या बढेसँगै कलिलो उमेरमा सन्तान जन्माउने पनि बढेका हुन् । इलाम अस्पतालबाहेक ग्रामीण क्षेत्रमा रहेका बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिएका पनि २० वर्षभन्दा कम उमेर हुने उल्लेख्य छन् ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?