मोदी चार वर्षमा चौथो पटक आउँदै, दुई सम्झौता हुने

रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने
दुर्गा खनाल

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार वर्षमा चौथो पटक नेपाल आउँदै छन् । १७ वर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोडदै मोदीले २०७१ साउन १८ मा नेपालको पहिलो भ्रमण गरेका थिए ।

मोदी चार वर्षमा चौथो पटक आउँदै, दुई सम्झौता हुने

त्यसपछि उनको नेपाल आगमन निरन्तर भइरहेको छ । पछिल्लोपटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदैछन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ ।

मोदीको यही कार्यकालमा नेपालका तीन प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल भारत भ्रमण गएका छन् । कार्यकारी प्रमुखहरूकै निरन्तरको आपसी भ्रमणले दुई मुलुकबीच विगतमा टुटेको राजनीतिकस्तरको सम्बन्ध र सहकार्य मजबुत बनाउँदै लगेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘यो सुखद संयोग हो, भारतीय प्रधानमन्त्री चौथोपटक नेपाल आउँदै हुनुहुन्छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘सम्मेलनको अवसरमा आए पनि हामीबीच छुट्टै द्विपक्षीय कुराकानी र सम्झौता हुनेछ, अहिले दुई मुलुकबीच विश्वासको नयाँ जग बसेको छ ।’ विगतमा नेपाल–भारतको सम्बन्धमा प्रशासनिक नेतृत्व हावी हुने गरेको तर मोदी आएपछि राजनीतिकस्तरमै सम्बन्ध विकसित भएको मन्त्री ज्ञवालीको बुझाइ छ ।

यसपटक हुने मोदीसँगको दुईपक्षीय वार्तामा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेन्डामा ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि एमओयूमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो । त्यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।

सत्तामा आउनेबित्तिकै मोदीको रणनीति छिमेकीसँगको सम्बन्धलाई विकास गर्ने थियो । ‘त्यसैअनुसार पहिले छिमेकीहरूलाई प्राथमिकता नदिएर गल्ती भयो अब सम्बन्ध सुधार्नुपर्छ भनेर मोदीले प्रधानमन्त्री भएलगत्तै भुटान र त्यसपछि नेपालको भ्रमण गरेका थिए,’ भारतका लागि पूर्वनेपाली राजदूत एवं राजनीतिशास्त्री प्राध्यापक लोकराज बरालले भने, ‘भ्रमण भइराख्दा दुईपक्षीय सम्बन्धलाई मजबुत नै बनाउँछ, तर भेटमा भएका सम्झौता कार्यान्वयन भने फितलो छ । यसमा सुधारचाहिँ आउनुपर्छ ।’

२०७१ साउनको पहिलो पहिलो भ्रमण गरेको झन्डै चार महिनापछि २०७१ मंसिरमा उनी सार्कको १८ औं सम्मेलनमा नेपाल आएका थिए । त्यसपछि गत वैशाखमा २८ मा राजकीय भ्रमणमा नेपाल आए ।

‘मोदीले छिमेकी राष्ट्रलाई महत्त्व दिएका थिए, त्यसैले पटकपटकको भ्रमणले नेपालसँगको कन्ट्याक्ट रिभ्यु भइरहेको छ,’ पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले भने, ‘धार्मिक र सांस्कृतिक कारणले पनि उहाँको नेपालप्रतिको लगाव देखिन्छ ।’

पटक–पटकको नेपाल भ्रमणबाट मोदीले छिमेक नीतिमा नेपाललाई प्राथमिकता दिन खोजे पनि भारतीय सत्तामा मोदीको आगमनपछि दुई देशबीचको सम्बन्ध उतारचढावपूर्ण देखिँदै आएको छ ।

मोदीको पहिलो राजकीय भ्रमणले दुई देशबीच नागरिक स्तरमै हार्दिकता बढेको आभास दिएको थियो । तर संविधान निर्माणमा ‘हस्तक्षेप’ प्रयत्न र संविधान जारीलगत्तैको नाकाबन्दीबाट द्विदेशीय सम्बन्ध तिक्ततामा परिणत भयो । यसले मोदी भारतभित्रै समेत आलोचित रहे ।

संविधान जारी भएकोमा स्वागत गर्नसमेत कन्जुस्याईं गरेपछि नेपालमा भारतविरोधी भावना बढ्दै गयो । नाकाबन्दीपछि नेपालमा विकसित भारतविरोधी भावना मत्थर पार्दै छिमेक सम्बन्ध सामान्य रहेको सन्देश दिन गत वैशाखमा उनी तेस्रो पटक नेपाल आएका थिए । धार्मिक र सांस्कृतिक सम्बन्धसमेत जोडेको देखाउन उनले त्यसबेला जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको धार्मिक यात्रा गरे ।

उनको त्यो भ्रमणमा ‘रामायण सर्किट’ तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ भयो । रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर, व्यापार तथा वाणिज्य सन्धि पुनरावलोकन, नेपालका लागि हवाईमार्ग थप, बाढी–डुबान नियन्त्रणका समझदारी र अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास भएको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?