सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा 

चार मध्ये तीन जना नियन्त्रणमा 
रमेशचन्द्र अधिकारी

धनकुटा — तत्कालीन सशस्त्र प्रहरी बल अरुण गुल्म (हालको ४ नम्बर गुल्म) संखुवासभा चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी प्रकरणकाे अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

काठ तस्करीमा प्रयोग गरिएको सशस्त्र प्रहरी चैनपुरको बा १ ग १६६९ नम्बरकाे ट्रक धनकुटा डिभिजन वन कार्यालयमा नियन्त्रणमा राखिएको अवस्थामा  । तस्बिर : रमेशचन्द्र अधिकारी / कान्तिपुर 

गत जेठमा सशस्त्रको बा १ ग १६६९ नम्बरको ट्रकमा राखेर लैँजादै गरेको सखुवाको काठ तस्करी प्रकरण तीन महिनाको अनुसन्धानपछि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

Yamaha

हालसम्म वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सशस्त्र प्रहरीको छानबिन समिति र गृह मन्त्रालय गरी चार निकायबाट घटनाबारे अनुसन्धान तथा छानबिन समिति गठन गरिएका छन्। जसमध्ये डिभिजन बन कार्यालय धनकुटाले शिवशंकर ठाकुरको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले गहिराइमा पुगेर घटनाबारे छानविन गरिरहेको जनाइएको छ।

घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र प्रहरी चैनपुरका तत्कालीन डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको थियो। यसैबिच उनलाई गृह मन्त्रालयले सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको स्रोतले जनाएको छ।

घटनामा संलग्न भएको भनिएका चार जना मध्ये तीन जना सम्पर्कमा आइसकेको वन कार्यालय स्रोतले जनाएको छ। ती मध्ये चालक प्रहरी जवान दिपेन्द्रकुमार कर्मकार गत साउन २३ मा पक्राउ परेका छन्। प्रहरी जवान विनोद कट्टेल र मिलनकुमार राई सोमबार (भदौ ११) मा वन कार्यालयमा हाजिर भएका छन्।

मुख्य अभियुक्त भनिएका सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारी वनको अनुसन्धान टोलीको सम्पर्कमा आएका छैनन्। उनलाई हाजिर हुन सात दिनको म्यादसहित पत्राचार गरिएपनि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ। यसैबिच गत भदौ ५ गते सशस्त्र प्रहरीको बाहिनी तथा गृह मन्त्रालयमा इमेलमार्फत भण्डारीलाई हाजिर हुन पत्रचार गरिएको अनुसन्धान अधिकृत ठाकुरले जानकारी दिए।

‘हामी घटनाको अनुसन्धानको अन्तिम अवस्थामा पुगेका छौं,’ उनले भने, ‘एउटै घटनामा चार वटा निकायबाट छानबिन समिति गठन गरिएकाले किनारामा पुग्न केही ढिलाई भएको हो।’ सोमबार सम्पर्कमा आएका राई र कट्टेलले घर बिदामा जानेक्रममा तस्करीमा प्रयोग गरिएको सवारी साधनमा रहेको बयान दिएका छन्।

यसैगरी डिभिजन वनका प्रमुख कृष्णप्रसाद वस्तीले पनि अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएका छन्। उक्त घटनामा संलग्न चार मध्ये तीन जना सम्पर्कमा आएको र मुख्य व्यक्ति डिएसपी भण्डारीमात्र हाजिर हुन बाँकी रहेको उनले बताए। तस्करीमा प्रयोग गरिएको बा १ ग १६६९ नंबरको ट्रक डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।

उनले चैनपुरको सिस्ने सामुदायिक वनले सशस्त्रको टहरा बनाउन उपलब्ध गराएको भनिएको काठ संखुवासभा, तेह्रथुम र धनकुटाका सुरक्षा पोष्ट पार गर्दै धनकुटाको मुलघाट पुग्नेक्रममा गत जेठमा नियन्त्रणमा लिइएको थियो।

सशस्त्रको ट्रकमा राखेर धनकुटाहुँदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने एक सय क्वीविक फिट बढी सखुवाका काठ तस्करी गरिएको थियो। अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्रको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल अरुण गुल्मको सवारी साधनमा अवैध रुपमा सखुवाको काठ तस्करी गरिएकोबारे तत्काल सशस्त्र प्रहरी बल पकलीस्थित वाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो।

प्रकाशित : भाद्र १२, २०७५ १२:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँवस्तीको अवस्था बुझ्दै विद्यार्थी

रमेशचन्द्र अधिकारी

धनकुटा — ओखलढुंगाकी सुमित्रा कटुवाल धनकुटाको दुर्गम गाउँवस्तीको अवस्था बुझ्न निस्किएकी छन् । एक महिनादेखि उनी जिल्लाका ग्रामिण क्षेत्रको अध्ययनका लागि घरदैलोमा सक्रिय भएकी हुन् ।



त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘सामाजिक कार्य’ स्नातकोत्तर तह कार्यक्रम अन्तिम वर्षमा अध्ययन गर्दै रहेकी कटुवाल पाठ्यपुस्तकमा आफूले अध्ययन गरेको विषयलाई स्थलगत अध्ययनबाट अझ स्पष्ट हुन भ्रमणमा निस्किएको बताउँछिन्।

उनको साथमा रहेकी काठमाडौंकी नम्रता मानन्धर पनि महिना दिनदेखि दुर्गमस्थानका सर्वसाधारणको दैनिकी नियाल्न हिडँेकी छन्। त्यसो त ती दुई मात्र नभएर यति बेला उक्त विषयमा अध्ययनरत सम्पूर्ण छात्रछात्रा जिल्लाको गाउँवस्तीमा निस्किएका छन्।

पाठ्यपुस्तकका सैद्धान्तिक विषयवस्तुमा मात्र सिमित हुन नहुने उनीहरुको धारणा छ। अझ सामाजिक कार्य विषयको अनिवार्य रुपमा चौथो सेमेस्टरमा ग्रामिण क्षेत्रका विभिन्न विषयवस्तुबारे स्थलगत अध्ययन गर्नुपर्ने भएपछि सबै विद्यार्थी गाउँघरको हाल बुझ्न निस्किएको अर्की सहभागी प्रतिक्षा खकुरेलले बताइन्।

‘हामी स्थलगत रुपमा गाउँघर पुगेर वस्तुस्थिती बुझ्दा निकै उत्साहित भएका छौँ’ उनले भनिन्, ‘शहर बजारमा मात्र सिमित भएर हामी हाम्रो विषयको उद्देश्य प्राप्ति नगर्ने भएकाले ग्रामिण वस्तीमा हिडेँका हौँ।’ उनीहरुले घरेलु हिंसा, प्रजनन् स्वास्थ्य अवस्था, अभिभावक र सन्तानको अवस्था, महिला सचेतना, कृषि, संस्कृति, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयमा उनीहरुले अध्ययन गर्दै आएको बताए।

पछिल्लो समय सामाजिक कार्य विषय अध्ययन गर्नेको चासो उल्लेख्य रुपमा बढेको उक्त विषय अध्यापन गर्दै आएका उप—प्राध्यापक प्रतिक शर्मा लामिछाने बताउँछन्। विश्वविद्यालयले सम्बन्धन दिएको सामाजिक कार्य नीतिस्तरबाट पठनपाठन हुँदै आएको छ।

भर्नाका लागि अन्तवार्ता र अन्य प्रयोगगात्मक परीक्षाबाट ५० जनाको कोटामा चयन गरिने उपप्राध्यापक लामिछानेले बताए। हालसम्म चौथो ब्याच मात्र उत्पादन भएको छ। उक्त विषय पढ्ने चाहना राख्नेको संख्या अत्यन्त धेरै रहेको उनले जानकारी दिए।

स्नातकोत्तरमा प्रत्येक वर्ष कम्तिमा तीन सय बढी विद्यार्थी भर्नाका लागि आउने गरेका छन्। तर ५० जनाको कोटामा प्रतिस्पर्धाबाट चयन गरिने भएपछि अन्यको उक्त विषय पढ्ने चाहना पुरा हुन सकेको छैन। ‘स्वदेश र विदेशमा सामाजिक कार्य विषयको माग बढ्दै गएको छ’, लामिछानेले भने, ‘सिमित कोटा भएकोले पढ्ने चाहना भएका सबैको इच्छा पुरा गर्न सकेको छैन।’ माग तीव्र भएकाले थप कोटा विस्तार गर्न जरुरी रहेको उनको तर्क छ।

स्नातक तहसम्म सामाजिक कार्य विषय पढ्नेको संख्या उच्च रहेको छ। तर विश्व विद्यालयमा उक्त विषय सिमित गरिंदा समस्या रहेको सम्बद्ध विद्यार्थी गुनासो गर्छन्। स्थानीय तह तथा स्वास्थ्य संस्थामा उक्त विषय पढेका जनशक्तिको माग बढ्दै गएकोले रोजगारको लागि आफू आशावादी भएको स्नातकोत्तर तह अन्तिम वर्ष अध्ययनरत इन्द्रजीत गौतमले बताए।

प्रकाशित : भाद्र ३, २०७५ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT