१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, 'ज्यान बचायौं'

प्रदीप मेन्याङ्बो

सुनसरी — एक महिनाभन्दा बढी समय उपचारमा राखेको एक नाबालकको अन्तत् बायाँ हात काटिएको छ । अभिभावकले चिकित्सकको लापरवाहीले हात काट्नु परेको आरोप लगाएका छन् भने चिकित्सकले मृत्युको मुखमा पुगेको बच्चालाई बचाइएको बताएका छन् । 

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, 'ज्यान बचायौं'

सुनसरीको रामधुनी नगरपालिका ८ डुम्राहाबस्ने गोकुल विश्वकर्माले जन्मेको तीन दिनमै नाबालक छोरालाई गत जेठ २७ गते विराटनरको आरके चिल्ड्रेन हस्पिटलमा भर्ना गराएका थिए । २६ सातामा जन्मेको बच्चालाई उपचारको लागि राखेको २८ दिनसम्म सघन उपचारकक्षमा राखेपछि उक्त अस्पतालले काठमाडौंस्थित कान्तिबाल अस्पतालमा रिफर गरेको थियो ।


बच्चाका बाबु गोकुल र आमा अनिताले आफुहरुलाई अस्पतालले सुधार हुँदै छ भन्ने गरेको र झ्यालबाट मात्र हेर्न दिएको बताएका छन् । अस्पतालले २८ दिनपछि कान्तिबाल अस्पतालमा लैजान भनेको र त्यहाँ पुगेपछि मात्र छोराको हातको हड्डीसमेत कुहिएकाले सल्यक्रिया गरिदिन लेखि पठाएको थाहा पाएको उनीहरुले बताएका छन् ।


‘मेरा सपाङ्ग जन्मेका छोरालाई अस्पतालले अपाङ्गा बनाइदिए । पैसा तिर्न सकिन्जेलसम्म आइसियुमा राखे । हाम्रो पैसा सकेपछि थप उपचारकालागि बाहिर लैजाउ भनेर कान्तिबाल अस्पतालमा रिफर गरे' गोकुल भन्छन् । उनले आरके हस्पिटलले नै कान्तिमा लैजान एम्बुलेन्सको व्यवस्था गरिदिएको र २० हजार रुपैया दिएर अरुलाई नभन्न समेत सुझाएको बताए ।


आरके हस्पिटलका प्रसासकीय अधिकृत धिरज मैनालीले भने चिकित्सकको लापर्वाही नभएको दावी गरे । ‘अस्पतालमा बच्चा ल्याउँदा सात महिना पुरा नभएको अवस्था थियो । क्रिटिकल अवस्थामा ल्याएकाले भेण्टीलेटरमा राखेर उपचार गरेका थियौं । तर, २६ औं दिनमा बच्चाको देव्रे हात कालो भएको देखिएपछि संक्रमणको थप उपचार गर्न कान्तिबाल अस्पतालमा रिफर गरिएको हो’ उनले भने ।


उपचारमा संलग्न बालरोग चिकित्सक डा. सुवोध शर्माले हात काटेर भएपनि बच्चाको ज्यान बचाएको बताए । उनका अनुसार सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको बच्चा त्यहाँ आइसियु वेड भरिएकाले आरकेमा ल्याएका हुन् । 'यहाँ ल्याउदा बच्चाको हात, खुट्टा पुरै लुलो अवस्थामा थियो । महिना नपुगि जन्मेकाले बच्चाको शरिरको आन्तरिक अंगहरु पुरा विकास नहुने हुँदा राम्ररी स्वास लिन सकेको थिएन' डा. शर्मा भन्छन्, 'हामीले तत्कालै भेण्टीलेटरमा राखेर उपचार सुरु गरेका थियौं । नौ दिन पछि सुधार आएको देखियो । तर, फेरि बच्चाको देव्रे हात निलो भयो ।'


उनले अस्पतालमा पेडियाट्रिक सर्जरीको सुविधा नभएकाले कान्ति बाल अस्पताल रिफर गरिएको बताए । उनका अनुसार महिना नपुगि अर्थात २६ सातातिर जन्मेका बच्चालाई संसारमै ४० प्रतिशतमात्र बचाउन सकिने तथ्याङ्क छ । बाँचेपनि अधिकांशको कुनै न कुनै अंगमा केही न केही कमजोरी हुने पनि उनले बताए ।


विक दम्पतिले भने कान्ति बाल अस्पतालमा पुर्‍याएपछि मात्र आफुहरुलाई आरके अस्पतालले बच्चाको देव्रे हातमा संक्रमण भएकाले काम नलाग्ने अवस्था भएको, हड्डी पनि कुहिसेको र हातको सल्यक्रिया गरिदिन भनेर रिफर गरेको जानकारी पाएको बताए । 'यसअघि त हामीलाई सुधार हुँदैछ मात्र भन्थे' गोकुलको भनाई छ, 'उपचार गराउने पैसा सकिएपछि हामीलाई अन्तै लैजान भनियो ।' उनीहरुका अनुसार बच्चाको उपचारमा आरके अस्पतालमा मात्र करिव ४ लाख खर्च भएको छ ।


प्रकाशित : भाद्र १२, २०७५ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?