१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रक्षाबन्धनकै दिन सामूहिक बलात्कार, पाँच पक्राउ

अवधेशकुमार झा

राजविराज — दिदीबहिनी र दाजुभाइबीचको प्रेम प्रतिकको रुपमा रहेको रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छिन् । 

रक्षाबन्धनकै दिन सामूहिक बलात्कार, पाँच पक्राउ

रक्षाबन्धनको मेला भरेर फर्किने क्रममा राति शम्भुनाथ नगरपालिका ६ बसबलपुर जाने बाटोको अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय बिमला (नाम परिवर्तन) लाई ६ जना युवकले करणी गरेको जिल्ला प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिए । रक्षाबन्धन पर्व यही भदौ १० गते मनाइएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

आफ्नै टोलका एक १६ वर्षीय युवक रामबहादुर (नाम परिवर्तन) सँगै रक्षा बन्धनको अवसरमा लागेको मेला भरेर साइकलमा घर फर्किने क्रममा बिमलालाई ६ जना युवाले पालैपालो सामूहिक बलात्कार गरेको रिमालले जनाए । बिमलासँगै रहेका युवक रामबहादुरलाई नियन्त्रणमा लिइ कुटपिट गर्दै मोबाइल र साइकल खोसी आरोपी युवकहरुले बिमलालाई धानखेतमा लगेर बलात्कार गरेका थिए ।


राति अढाई बजे बिमलासँगै रहेका युवक रामबहादुरले इलाका प्रहरी कार्यालय कल्याणपुरमा खबर गरेपछि खोजीमा निस्केको प्रहरीले राति रामबहादुरको साइकल धानखेतमा फेला पारे पनि बिमलालाई फेला पार्न सकेको थिएन । सोमबार बिहान पीडित बिमला आफैंले फोन गरी कठौना खरचुहिया सडक खण्डमा रहेको जानकरी दिएपछि जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टको नेतृत्वको टोली नै परिचालित भएको थियो ।


बिमलाको उद्धारपछि प्रहरीले उनीसित सोधपुछ गरेको आधारमा सामूहिक बलात्कारमा सम्लग्नको आरोप लागेका ६ जनामध्ये पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका पाँचैजनालाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट मंगलबार म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी रिमालले जनाए । घटनामा संलग्नमध्ये फरार रहेका एकजनाको खोजी भइरहेको उनले बताए ।


सामूहिक बलात्कारको सिकार भएकी युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य हुन नसकेको डिएसपी रिमालले जानकारी दिए । गत फागुन महिनामा मात्र सप्तरी जिल्लामा १८ वटा बलात्कारका घटना भएका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?