१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चुरेका गाडी दुरुपयोग, छानबिन गर्न मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रिय गौरवको कार्यक्रमभित्र पर्ने ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’मा सवारी साधनको अत्यधिक दुरुपयोग भएको भन्दै छानबिनका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । 

चुरेका गाडी दुरुपयोग, छानबिन गर्न मन्त्रालयको ध्यानाकर्षण

चुरे समितिका पदाधिकारीले प्रयोग गर्दै आएका सेतो प्लेटका सवारी साधन (स्कारपियो) र इन्धनको महिनौंदेखि दुरुपयोग भए पनि नियन्त्रणमा ध्यान नपुगेको भन्दै तत्कालन छानबिन गर्न समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको हो । वन तथा वातावरण चुरे समितिको सम्पर्क मन्त्रालय हो ।

अध्यक्ष वीरेन्द्र यादवले दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा आफैं उल्लंघन गर्दै हिँडिरहेको स्रोतको दाबी छ । राज्यमन्त्री सरहको सेवा सुविधा पाएका उनले प्रयोग गर्ने बा २ झ २९८१ नम्बरको गाडी चुरेका काममा भन्दा उनको घरायसी काममा प्रयोग हुने गरेको उनका चालकले चुरे समिति उजुरी गरेका थिए ।


‘अध्यक्षको गाडी छोरालाई नेम्स कलेजमा पुर्‍याउने र ल्याउने काममा बढी प्रयोग हुन्छ’ उजुरीमा भनिएको छ, ‘कहिलेकाँही कार्यालय आउनेबाहेक धेरैजसो निजी काममै प्रयोग हुने गरेको छ ।’ उनले मासिक २ सय लिटर तेल प्रयोग गर्ने गरेका छन् । त्योबाहेक पनि अध्यक्ष यादवले इन्धन दाबी गर्ने गरेका छन् ।


चुरे समितिका सदस्य रामदयाल यादवले प्रयोग गर्ने बा २ झ १२७४ नम्बरको गाडी पनि आफन्तलाई घुमाउन र सपिङ गर्ने प्रयोजनमा मात्र प्रयोग हुने गरेको उजुरीमा छ । अर्का सदस्य विदुर भारतीले प्रयोग गर्ने बा २ झ २०९९ नम्बरको गाडी चुरेको कार्यक्षेत्र नभएको सिन्धुपाल्चोकमा बढी गुड्ने गरेको छ । सिन्धुपाल्चोक भारतीको गृहजिल्ला हो । उनको कार्यक्षेत्र प्रदेश ५ र ७ भए पनि कार्यक्षेत्रम कमै मात्र पुग्ने गरेको स्रोतले बतायो ।


अर्की सदस्य दीपा प्रधानले पनि बा २ झ १२६९ नम्बरको गाडी छोरी स्कुल पुर्‍याउने र कन्सल्टेन्सी प्रयोजनमा बढी गुडाउने गरेकी छन् । जबकी सदस्यहरुले समितिमै बसेर (१० बजेदेखि ५ बजेसम्म) कार्य सम्पादन गर्नुपर्ने टिओआरमा उल्लेख छ ।


सदस्य मोतिलाल रिजालले पनि बा २ झ १२७० नम्बरको गाडी कन्सल्टेन्सी गर्न र पारिवारिक घुमाउने काममा प्रयोग गर्ने गरेको उजुरीमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका रिजाल बिदा लिएर राजनीतिक नियुक्ति लिई चुरेमा आएका हुन् ।

सदस्यहरुले सहायकमन्त्री सरहको सुविधा पाउने चुरे गठनादेशमा उल्लेख छ । सदस्यहरुले फिल्ड अध्ययन भन्दै घरमा समय बिताएर भ्रमण भत्ता लिने गरेको समेत उजुरीमा छ ।


करिब दुई साताअघि समितिको सदस्य–सचिवमा सरुवा भएका सह-सचिव पेमनारायण कँडेलले पनि विगतमा चुरेका गाडी अनावश्क रुपमा प्रयोग भएको पाइएकाले आइन्दा नीजी काममा गाडी प्रयोग नगर्ने भनेर निर्णय नै गरिएको कान्तिपुरलाई जानकारी दिए ।

‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका पनि प्राप्त भएकाले अनावश्यक रुपमा सवारी र इन्धन प्रयोग नगर्ने औपचारिक निर्णय नै गरिएको छ’ उनले भने ।

प्रकाशित : भाद्र १२, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?