१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र

आज मन्त्रीस्तरीय बैठक

काठमाडौँ — बिमस्टेकको चौथो शिखर सम्मेलनले अनुमोदन गर्ने विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मंगलबार तयार भएको छ ।

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र

बिमस्टेक सदस्य राष्ट्रका विदेश सचिवको राजधानीमा भएको १९ औं बैठकले ऊर्जा व्यापारको साझा मार्ग निर्माण गर्ने कागजी दस्ताबेजलाई अन्तिम रूप दिएको हो । सम्मेलनक्रममा बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सातै देशका विदेशमन्त्रीले हस्ताक्षर गर्ने जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

सचिवस्तरीय बैठकले बिमस्टेकको बडापत्र तयार पार्ने निर्णयसमेत गरेको छ । स्थापनाको दुई दशक बितिसक्दा पनि कानुनी दस्ताबेजबिनै चलिरहेको बिमस्टेकको बडापत्र बनाउन थप छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘हामी बडापत्र बनाउन सहमत भयौं, अब यसको खाकाबारे थप छलफल हुनेछ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

उनका अनुसार बैठकमा सन् २०७० फागुन २० मा म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनयताको कार्यविवरणको समीक्षा पनि भएको थियो । यसपटकको सम्मेलनमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी सहयोगका १४ मध्ये सात विषयलाई प्राथमिकतामा राखी छलफल अघि बढाउने निर्णय बैठकले गरेको छ । उक्त निर्णयलाई बुधबार सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ, त्यसपछि सम्मेलनमा प्रस्तुत गरिनेछ । यसका लागि परराष्ट्रमन्त्रीहरू काठमाडौं आइसकेका छन् ।

मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव तथा बंगलादेशका कूटनीतिज्ञ शाहीदुल इस्लामले सम्मेलनसँग सम्बन्धित प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि बैठकले सम्मेलनको तयारीका सम्बन्धमा भएका कार्यप्रगतिमाथि छलफल गरी सचिवस्तरीय बैठकले गरेको मस्यौदा र काठमाडौं घोषणापत्रलाई सम्मेलनमा पेस गर्ने निर्णय गर्नेछ । महासचिव शाहीदुलले सचिवस्तरीय बैठकमा पनि यसअघि भएका विभिन्न निर्णय तथा कार्यविवरणमाथिको प्रतिवेदन पेस गरेका थिए ।

म्यानमारका राष्ट्रपति आइपुगे
सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार काठमाडौं आइपुगेका छन् । नेपाल आउने ६ राष्ट्र/सरकार प्रमुखमध्ये उनी पहिलो हुन् । परराष्ट्र मन्त्रालयका अनुसार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला श्रीसेना र भुटानका अन्तरिम सरकारका मुख्य सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार काठमाडौं आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत–चान–ओचा सम्मेलन सुरु हुनुअघि बिहीबार मध्याहन आइपुग्ने कार्यक्रम छ ।

म्यानमारका राष्ट्रपति मिन्ट र श्रीलंकाका राष्ट्रपति श्रीसेना बुधबार बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा जानेछन् भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । ओलीसँग भारतीय प्रधानमन्त्री मोदीले पनि भदौ १५ गते वार्ता गर्नेछन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?