पप्पुको लापरबाहीले पुल भासिएको ठहर

कमल पन्थी

बर्दिया — ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थित पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

पुलको डिजाइनमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे । यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणमा मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेको महाशाखाले जनाएको छ । ‘निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो,’ उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।’

पुल गत वर्ष साउन अन्तिम साता भासिएको थियो । निर्माणाधीन पुल भासिएपछि गत वर्ष भदौ तेस्रो साता ललितपुर इन्जिनियरिङ अध्ययन संस्थानका कन्सल्टेन्सी प्रमुख इन्जिनियर नारायण गौतमसहितको चार सदस्यीय टोलीले छानबिन गरेको थियो । छानबिन समितिका संयोजक सडक कार्यालयका तत्कालीन क्षेत्रीय निर्देशक अयोध्या श्रेष्ठले अध्ययनक्रममा १७ वटा स्परमध्ये पूर्वतिरका ६ वटा पिल्लरबाट बबई नदी बगेको बताए ।

Yamaha

‘सबै पानी पिल्लर भएकै स्थानबाट बग्नुपर्ने हो, त्यो देखिएन,’ उनले भने, ‘निर्माणकै क्रममा एउटा पिल्लर ढल्किएको देखिन्छ, पायल पन्च भएको पाइयो ।’ पप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो ।

गत वर्ष साउन २८ गते पुल भासिएको हो । पुल निर्माणकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले कमसल काम भएको भन्दै रोक्ने प्रयास गरेका थिए । तर सडक डिभिजन कार्यालयले कमसल नभएको भन्दै पुल निर्माण गर्न लगाएको स्थानीय बताउँछन् ।

पुल भासिएपछि बबईको पानी निकास हुन नसक्दा बारबर्दियाको जब्दीघाट र गुलरियाको बेचैपुर उच्च जोखिममा परेको बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारूले बताए । पुल भासिएको उत्तरतिरको छेउमा नदीले दुई महिनायता करिब पाँच बिघा जग्गा कटान गरिसकेको उनले बताए ।

डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख अर्जुन बमले निर्माण सामग्री कमसल र मापदण्डविपरीत भएकाले पुलको विकल्प दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएको जनाए । उत्तर–दक्षिण जोड्ने बबई पुल भासिएपछि एक वर्षदेखि सवारी साधन आउजाउ बन्द छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १३, २०७५ ०७:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आरनकै भरमा परिवार

कमल पन्थी

बर्दिया — जिल्लास्थित बारबर्दिया ३ खुरखुरे फाँटाका ६० वर्षीय देवी कामीको ढाड चल्दैन र कान पनि सुन्दैनन् । तर पनि उनको जाँगरमा कमी आएको छैन । नसुन्ने समस्या बाल्यकालदेखिकै हो । उनको मुख्य पेसा भने आरन चलाउने ।

बारबर्दिया ३ खुरखुरे फाँटाका देवी कामीको परिवार आरन चलाउँदै । तस्बिर : कमल

अहिले पनि उनी फलाम पिटेर हँसिया, कुटो, कोदालो बनाएर जीविकोपार्जन गरिरहेका छन् । शारीरिक समस्या उनमा मात्र होइन, उनकी श्रीमती, दुई छोरा र छोरीमा पनि छ । उनको परिवारका सबै सदस्य फरक क्षमता भएका छन् । ५० वर्षीया पत्नी देवीसराका हातका औंला छैनन् । एउटा खुट्टा पनि चल्दैन ।

तर, जसोतसो आरनमै बसेर पतिलाई सघाउँछिन् । उनीहरूले बनाएका फलामका सामान खरिद गर्न ग्राहक नआउँदा भने निराश छन् । आम्दानीको अन्य स्रोत छैन । रूखमुनि छाप्रामा बास छ । आँगनमा रहेको आरनमा फलाम पिट्छन् ।

नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा बस्दै आएको देवीको परिवारसित एक धुर पनि जग्गा छैन । फलाम पिट्ने र औजारमा धार लगाएबापत कहिलेकाहीं एक/डेढ सय रुपैयाँ आम्दानी हुन्छ । त्यसबाटै गुजारा चलाउने गरेको उनले सुनाए । ‘यतिले के पुग्छ र ? त्यसैले समस्या परिरहेको छ,’ देवीले भने । ‘जेठो छोरा यामेलाई मानसिक समस्या छ । ‘कान्छो छोरा टेकबहादुरको एउटा खुट्टा छैन,’ देवीले भने, ‘छोरी कान सुन्दिनन् । सबैको भर मैमाथि छ ।’ बेलाबेलामा मजदुरी पाएका दिन काम गर्न गाउँघर जाने गरेको उनले बताए । ‘परिवार नै अशक्त छ,’ देवीसराले भनिन्, ‘दैवले पनि हामीलाई नै कुन सजाय दिएको हो कुन्नि ?’ बिरामी हुँदा उपचार गर्न नजिकको अस्पताल गए पनि सबै औषधि नि:शुल्क पाइँदैन ।

यहाँ नभएका औषधि किन्ने रकम पनि उनीहरूसँग छैन । जेजति नि:शुल्क औषधि पाइन्छ, त्यसैको भर छ उनीहरूलाई । खुरखुरे फाँटामा ०६४ सालदेखि सुकुम्बासीका नाममा विभिन्न ठाउँबाट आएकाले वन अतिक्रमण गरी बस्दै आएका छन् । स्थानीय दीपक खत्रीले आम्दानीको स्रोत नभएका देवीलाई सहयोग गर्न चाहनेले खुरखुरे फाँटामा व्यवस्थापन गर्न खोजे पनि सबैको अवस्था कमजोर भएकाले गर्न नसकेको बताए ।

नगरपालिकाले देवीको परिवारलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराएको प्रमुख दुर्गाबहादुर थारूले बताए । उनीहरूलाई आयमूलक तालिम दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

परिवारमा सबै फरक क्षमता भएका भए पनि काम गर्ने जोस/जाँगर अझै रहेको देवीले बताए । राज्यले छोराछोरीका लागि उपचार र रोजगार उपलब्ध गरिदिए ठूलो राहत मिल्ने उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT