किशोरी हत्या प्रकरण: विष्टको स्वास्थ्य परीक्षण काठमाडौंमा

स्थानीयको शंकामा परेका बम दिदीबहिनीसँग बुधबारदेखि बयान

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले साताअघि सार्वजनिक गरेको दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको छ ।

किशोरी हत्या प्रकरण: विष्टको स्वास्थ्य परीक्षण काठमाडौंमा

मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको भन्दै आन्दोलन चर्केपछि प्रहरीले घटनाको प्रारम्भिक चरणबाट अनुसन्धानसँगै विष्टलाई स्वास्थ्य परीक्षण गर्न पठाएको हो । प्रहरीका अनुसार उनको महाराजगन्जस्थित टिचिङ अस्पताल र पाटनस्थित मानसिक अस्पतालमा परीक्षण गरिनेछ ।

‘पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको भन्ने विषयले व्यापकता पाएपछि उनको मानसिक अवस्थाबारे बुझ्न परीक्षण गर्न लागिएको हो,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘यसबाहेक अन्य आवश्यक स्वास्थ्यसम्बन्धी जाँच पनि गरिनेछ ।’ उनलाई धनगढी हुँदै हवाईजहाजबाट काठमाडौं पठाएको हो ।

जिल्ला प्रहरीले गत सोमबार भीमदत्त नगरपालिका १९ बाग्फाँटाका विष्टलाई निर्मलाको बलात्कारपछि हत्याको दोषीका रूपमा सार्वजनिक गरेको थियो । मानसिक रूपले अस्वस्थ र अशक्त तथा घटनाको मुख्य आरोपी भनेर पत्याउनै नसकिने निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेर घटना ढाकछोप गरेर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप लगाउँदै पीडित र स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । यही कारण साता दिनसम्म महेन्द्रनगर अशान्त हुन पुग्यो । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १ किशोरको ज्यानै गयो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै स्थानीयले आशंका गरेका बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरूलाई अदालतबाट ६ दिनको म्याद थपेर आवश्यक सूचना संकलन तथा बयान लिन थालिएको प्रहरीले जनाए । ‘घटनास्थलको अध्ययन तथा शंकास्पद बम परिवारको घरको पनि अध्ययन भइरहेको छ,’ कडायतले भने, ‘अनुसन्धान अधिकृत र सरकारी वकिल सँगै गएर घटनास्थलको अध्ययन गरेका छन् ।’

सरकारी वकिल र अनुसन्धान अधिकृत घटनास्थलमा सँगै जाने चलन विगतमा भए पनि बीचमा रोकिएको थियो । निर्मला घटनामा भने यो अभ्यास गरिएको छ । सर्वत्र चासोको विषय भएकाले पनि यसमा सरकारी वकिललाई पनि अवस्था बुझ्न सहज होस् भनेर यस्तो गरिएको एसपी कडायतले बताए । उनका अनुसार २०४८ अघि यस्तो चलन थियो ।

कडायतले बुधबारदेखि बम दिदीबहिनीसँग बयान लिने जानकारी दिए । ‘अनुसन्धान क्रम अगाडि बढ्दै जाँदा घटनाको केही न केही तथ्य बाहिर आउँछ,’ उनले भने, ‘अहिले अनुसन्धानबारे सबै कुरा सार्वजनिक गर्ने अवस्था भइसकेको छैन, हामी अत्यन्त गम्भीर भएर अनुसन्धानमा छौं, अघि बढ्दै जाँदा केही निष्कर्ष निस्कने आशा गरौं ।’ तत्कालीन एसपी दिल्लीराज विष्टले गराएको अनुसन्धान मिसिल तथा प्रमाणहरूको पनि अध्ययन भइरहेको कडायतले जनाए । ‘हिजोको अनुसन्धान पनि एउटा आधार हो,’ उनले भने, ‘यसबाहेक हामी आन्तरिक रूपमा गर्नुपर्ने प्राविधिक पक्षतर्फ पनि लागिरहेका छौं ।’

यतिबेला निर्मला हत्याकाण्ड जताततै चर्चाको विषय बनेको छ । प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै आन्दोलन चर्केपछि गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खड्कालाई केन्द्र तानेको छ । विष्टलाई निलम्बन नै गरेको छ ।

नयाँ एसपी, डीएसपीलगायत प्रमुख जिल्ला अधिकारीले अब कसरी अनुसन्धान अघि बढाउँछन् भन्नेमा सबैको चासो छ । बलात्कारपछि हत्या गरिएको घटनामा भएको लापरबाहीप्रति स्थानीय आक्रोशित बनेका हुन् । जिल्ला प्रहरीसँगै गृहले गठन गरेको उच्चस्तरीय छानबिन समिति पनि सरोकारवालासँग भेटघाट र सूचना संकलनमा लागेको छ ।

जनजीवन सामान्य हुँदै
सदरमुकामको जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले मंगलबारबाट कफ्र्यु अवधि पनि घटाएको छ । मंगलबार बिहान ५ देखि साँझ ८ बजेसम्म कफ्र्यु हटाइएको कञ्चनपुरका सहायक प्रजिअ शंकर विष्टले जानकारी दिए । रातको समय साँझ ८ देखि बुधबार बिहान ४ बजेसम्म कफ्र्यु जारी रहने उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?