न्वारानकै दिन छोरीको हत्या

हरिराम उप्रेती

काठमाडौँ — गोरखा– सिरानचोक २, थालाजुङको खमारेमा ५ दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको न्वारानकै दिन हत्या भएको खुलेको छ । सोधपुछका लागि आमा १७ वर्षीया रश्मी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिशुको शव घरभन्दा ३ सय मिटर पर बारीमा मंगलबार भेटिएको छ ।

न्वारानकै दिन छोरीको हत्या

साउन २८ मा जन्मिएकी ११ दिने छोरी हराएको भन्दै आफन्त र गाउँलेसमेत चिन्तित थिए । मध्यरातमा फोनबाट उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।


‘रश्मीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेको स्विकारिन्,’ एसपी विमल बस्नेतले भने, ‘आज (मंगलबार) उनको बयानअनुसार हामीले घर नजिकैको बारीमा बोराले बेरेको अवस्थामा खाल्डोभित्र शव भेट्यौं ।’ छोरीको न्वारानकै दिन हत्या भएको खुलेको उनले बताए । रश्मी र गाउँकै १९ वर्षीय सबल भण्डारीले वर्षदिनअघि विवाह गरेका थिए । छोरीले अन्तर्जातीय विवाह गरेकामा रश्मीका माइती पक्ष असन्तुष्ट थिए । छोरीलाई छुटाउन प्रयास भइरहेको अवस्थामा घटना भएको बुझिएको भन्दै प्रहरीले अनुसन्धानका लागि रश्मीकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएको छ ।


पारिवारिक स्रोतका अनुसार घटना भएको रात करिब १२ बजे रश्मीले स्तनपान गराउन भन्दै बच्चा लिएर घरको भित्र–बाहिर गरेकी थिइन् । प्रहरीसमक्ष सोमबार साँझ मात्र उनले छोरीको हत्या गरेको स्विकारेकी थिइन् ।


अनुसन्धानका क्रममा रश्मीले छोरीलाई सुरुमा घर नजिकैको बाँस झयाङमा छाडेर आएको बयान दिएकी थिइन् । ‘रातमा बच्चा छाड्दा पानी दर्किरहेको थियो, बाँस झयाङमा छोरी छाडेर पिँढीमा आएर बसें,’ रश्मीको भनाइ उद्धृत गर्दै बस्नेतले भने, ‘बच्चा रोइरहेको सुनेपछि छाडेको ठाउँमा फेरि पुगें । त्यतिबेलासम्म बच्चाको कानमा पानी जमिसकेको थियो । मुटुको धड्कन भने चलिरहेको थियो, अनि खाल्डो खनेर बच्चा राखेर माटोले पुरिदिएँ ।’

खाल्डो खनेर नवजात छोरीलाई पुरेपछि पिँढीमा आएर बसेकी रश्मी पुन: पुरेको ठाउँमा पुगिन् । ‘अन्तिमपटक जाँदा छोरीको अनुहारको भागको माटो फालेर फर्किएँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘सास फेर्छ कि भनेर मुखको माटो फालिदिएको हुँ ।’


घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘निर्दोष बच्चाको कर्तव्य गरी हत्या भएको छ,’ बस्नेतले भने, ‘यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको अनुसन्धानकै
चरणमा छौं ।’

प्रकाशित : भाद्र १३, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?