१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्राथमिकतामा भीभीआईपी उडान

सुरज कुँवर

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने सरकार तथा राष्ट्र प्रमुखहरूको (भीभीआईपी) उडानलाई प्राथमिकता दिन मंगलबारदेखि आइतबारसम्म ६ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय कमर्सियल उडान ‘प्रभावित’ हुने भएका छन् ।

प्राथमिकतामा भीभीआईपी उडान

त्यसैगरी विमानस्थल यात्रुका सहयोगी र आफन्तजनलाई प्रवेशमा पनि कडाइ गरिएको छ ।


नागरिक उड्डयन कार्यालय काठमाडौंका अनुसार भीभीआईपी उडानका अवधिमा आधा घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिनेछन् । ‘भीभीआईपी वायुयान आउँदै वा फर्किने बेला आधा घण्टा हाराहारी आन्तरिक र बाहय उडान रोकिनेछन्,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले कान्तिपुरसँग भने, ‘बढीमा आधा घण्टा हो तर ट्राफिक चाप कम गर्न हामी सकभर भीभीआईपी उडान सकिएको आधा घण्टाभन्दा छिटो कमर्सियल उडान सञ्चालनमा ल्याउने प्रयास गर्नेछौं ।’


भीभीआईपी उडान मंगलबार दिउँसोबाट सुरु भइसकेको छ । मंगलबार दिउँसो म्यानमारको ध्वजावाहक म्यानमार नेसनल एयरलाइन्सबाट राष्ट्रपति विन मिन्ट आए । चार्टर उडानमा ल्याइएको बोइङ ७३७ राष्ट्रपति मिन्टसहितको टोलीलाई काठमाडौंमा छाडेर फर्किसकेको छ । विमानस्थलका अनुसार शनिबार फेरि म्यानमार नेसनल एयरलाइन्सको चार्टर विमान राष्ट्रपतिसहितको टोली लिन काठमाडौं आउनेछ । हाल काठमाडौंदेखि म्यानमारका लागि सीधा कमर्सियल उडान हुँदैन ।


बुधबार बिहान ८ बजे भुटानका प्रधानन्यायाधीश योङको छेङ रोयल भुटान एयरलाइन्सको नियमित उडानबाट काठमाडौं ओर्लिनेछन् । यो एयरलाइन्सले काठमाडौंका लागि सीधा उडान गर्दै आएको छ । प्रधानन्यायाधीश छेङको टोली शुक्रबार यसै एयरलाइन्सको नियमित उडानबाट फर्किनेछ । बुधबार दिउँसो पौने ४ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको टोली भारतको दिल्ली हुँदै एयर इन्डियाको नियमित उडानमा आउनेछन् ।


बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान ओचा आउँदै छन् । मोदी भारतीय सैनिक विमानमा आउँदै छन् । उनको सैनिक विमान शुक्रबार फर्किनेछ । थाइल्यान्डका प्रधानमन्त्री ओचा पनि मोदीझैं सैनिक विमानमा आउँदै छन् । उनको विमान पनि प्रधानमन्त्रीसहितको टोली लिई शुक्रबार काठमाडौंबाट फर्किनेछ । बंगलादेशकी प्रधानमन्त्री हसिना विमान बंगलादेशको नियमित उडानमा आउँदै छिन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?