९ महिने बालिका अपहरणपछि हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

रवीन्द्र उप्रेती

काठमाडौँ — औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको गत आइतबार अपहरणपछि हत्या गरिएको थियो ।

९ महिने बालिका अपहरणपछि हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

घटना भएको तीन दिन भइसक्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बर्दिबास-जलेश्वर सडकमा सवारी आवागमन अवरुद्ध पारेका छन् । उनीहरुले अपहरणकारी र हत्यारालाई तत्काल पक्राउ गरेर कारबाहीको माग राख्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।


घटनाको विरोधमा स्थानीयले बिहानैदेखि औरही बजार बन्द गरेका छन् । हाट, पसल, शिक्षण संस्था समेत बन्द गरेका छन् ।


महोत्तरीका एसपी ईश्वर कार्कीले भने चाँडै अपराधीलाई पक्रेर कारबाही गर्ने बताए । उनले भने, 'हामी अपराधीलाई पक्राउ गरेर कारबाही गर्न प्रतिवद्ध छौं । तर यसरी बन्द, हड्तालमा स्थानीय उत्रिएपछि अपारधीलाई नियन्त्रणमा लिन अप्ठ्यारो हुन्छ ।'


एसपी कार्कीले सादा पोशाकका प्रहरीसमेत नेपाल-भारत सीमामा, छिमेकी जिल्लामा खटाइसकिएको बताउँदै स्थानीयलाई बन्द, हड्ताल नगर्न आग्रह गरे ।


बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ ।


बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको परिवारले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?