१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

रासस

रत्ननगर — दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । 

बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका-९ स्थित गोविन्दवस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो ।


सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् ।


बाघ समाउन ६ वटा हात्ती प्रयोग गरिएको छ । बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइन्छ ।


'बाघ वस्ती वरिपरिनै बसिरहेको छ, मान्छे मारेपछि गोठको एउटा बाच्छीसमेत खायो, त्यसपछि अहिले पाडो राखेर नियन्त्रण प्रयास जारी छ,' प्रमुख ढकालले भने ।


उनका अनुसार मङ्गलबार नियन्त्रण गर्न लाग्दा बाघ फुत्किएको थियो बुधबार पनि बिहानैदेखि सो क्षेत्रमा बाघ नियन्त्रणका लागि टोली खटिएका छन् ।


यसअघि साउनको २१ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले मारेको थियो ।


त्यसपछि नियन्त्रणमा लिएको बाघ मरेको निकुञ्जले जनाएको छ । बाघ बूढो भएर मरेको ढकालले जानकारी दिए ।

प्रकाशित : भाद्र १३, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?