कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्पतालको आँगनमै पोस्टमार्टम

हरिहरसिंह राठौर

गजुरी (धादिङ) — उपचारार्थ गजुरी अस्पताल पुग्नेहरू कहिलेकाहीँ मूल गेटबाट भित्र पस्नासाथ झस्किन्छन् । अस्पतालको आँगनमै थोरै पर्दाले बारेर शव चिरिएको हुन्छ । नहेरौं भन्दा पनि देखिन्छ ।

अस्पतालको आँगनमै पोस्टमार्टम

दिनहुँजसो हुने सवारी दुर्घटनाका घाइतेको उपचार र मृत्यु भएकाको शव परीक्षण गर्न राजमार्गसँगै जोडिएको गजुरी अस्पतालमा ल्याइन्छ । शवपरीक्षण गर्ने कोठा पर्याप्त नभएपछि चिकित्सकहरू आँगनमा परीक्षण गर्न बाध्य छन् ।

‘अस्पतालमा एउटै मात्र मर्चरी (मुर्दाघर) छ । जसमा २ भन्दा बढी शव परीक्षण गर्न सकिँदैन । त्योभन्दा बढी शव ल्याइए आँगनमै परीक्षण (पोस्टमार्टम) गर्नुपर्छ,’ चिकित्सक भन्छन् ।


राजमार्ग क्षेत्रभरि सरकारी डाक्टर बस्ने एउटै मात्र स्वास्थ्य केन्द्र (अस्पताल) गजुरी हो । पृथ्वी राजमार्ग आसपास हुने आत्महत्या, शंकास्पद मृत्यु, नदीले बगाउने तथा सवारी दुर्घटनामा मृत्यु भएका सबैको पोस्टमार्टम गर्नुपरेमा गजुरी अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । गत बुधबार मात्रै स्वास्थ्य केन्द्रमा ३ वटा शव आइपुगे । एउटा बेवारिसे र २ वटा पहिचान भएका ।


गत भदौ ५ गते झुन्डिएर मृत्यु भएको थाक्रे–३, मिलनचोककी सविता तामाङका आफन्तले पोस्टपार्टम गर्नका लागि शव गजुरी ल्याएका थिए ।

आफन्तले छिटो पोस्टमार्टम गरिदिन आग्रह गरेपछि मुर्दाघरमा अर्को शव भएका कारण स्वास्थ केन्द्रको आँगनमै भए पनि थोरै पर्दाले छेकेर लास चिरिएको केन्द्रकी निमित्त प्रमुख राधा पाण्डेले बताइन् ।

‘मुर्दाघरमा अरू २ वटा शव थिए, जुन एकदमै गन्हाएकाले भित्र बसेर पोस्टमार्टम गर्नै सकिने अवस्था थिएन । मृतकका आफन्तले छिटो गरिदिन आग्रह गरेकाले खुला ठाउँमै भए पनि पर्दा लगाएर पोस्टमार्टम गर्न बाध्य भइयो ।’


उपयुक्त शवगृह निर्माण गरिदिन अस्पतालले पटक–पटक आग्रह गर्दा समेत कुनै पनि सरोकारवाला निकायले चासो नदेखाएको अस्पतालकी निमित्त प्रमुख पाण्डेले भनिन् ।

पहिचान नखुलेका बेवारिसे शव ७ दिनसम्म राख्नुपर्ने कानुनी प्रावधान छ,’ पाण्डेले भनिन्, ‘यहाँको शवगृहमा एउटा मात्रै शव अटाउँछ । कतिपय अवस्थामा बाहिरै शव राख्नुपर्छ । शव गृह खाली बसेको दिन छैन र पनि यहाँ शव सुरक्षित राख्नका लागि व्यवस्थित शवगृह छैन ।’


गएको स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिहरूले व्यवस्थित मुर्दाघर बनाउन र मर्चुरी फ्रिज खरिद गर्नका लागि पहल थाले पनि कार्यान्वयन भएको छैन ।

गजुरी गाउँपालिकाले मर्चुरी फ्रिज खरिद गर्ने प्रक्रियामै रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले वताए । गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरि रेग्मीले भने, ‘नेपालमा यस्तो प्रविधिका सामानहरू वितरण गर्ने सप्लायर्स नै भेटिएको छैन । टेन्डर आहवान गरेका छौं,’


५ लाखभन्दा बढी मूल्यको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आहवान गर्नुुपर्ने बाध्यात्मक अवस्था रहेपनि बोलपत्र हाल्ने फर्मनै नभेटिएकाले मर्चुरी फ्रिज ल्याउन नसकिएको रेग्मीले बताए ।

कम्तीमा ३ वटा शव राख्न मिल्ने मर्चुरी फ्रिज तत्काल खरिद गर्नका लागि पहल गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?