३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धितो राखेको साढे ७ किलो सुन अपचलन गर्ने बैंकका कर्मचारी र ऋणी पक्राउ

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेशलनलाई दुई करोड २८ लाख ३८ हजार बराबरको नोक्सानी गराउने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धितो राखेको साढे ७ किलो सुन अपचलन गर्ने बैंकका कर्मचारी र ऋणी पक्राउ

बैंकमा धितो राखिएको सुन अपचलन गरेको आरोपमा सिटिजन्स बैंक ईन्टरनेशनलको न्युरोड शाखामा कार्यरत सुन जाँचकीसहित तीन कर्मचारी र दुई ऋणी पक्राउ परेका छन् ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकमा धितो राखिएको करिब साढे सात किलो सुन अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । बैंकमा वरिष्ठ सुन जाँचकीमा कार्यरत बांगेमुढा बस्ने समिन शाक्य, बैंकमै सहायक सुन जाँचकीमा कार्यरत भक्तपुरको ईतोछे बस्ने बिन्देश शाक्य र बैंकको कमलपोखरीस्थित शाखाको गोल्ड अडिट शाखामा कार्यरत भक्तपुरको ईटपा बस्ने अमितराज बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो । ब्युरोका अनुसार बैंकका कर्मचारीले ऋणीसँगको मिलेमतोमा धितोमा राखिएको सुन अपचलन गरेका हुन् ।


प्रहरीले अपचलनमा संग्लन ऋणी पुरानो बानेश्वर बस्ने ४५ वर्षीय लभ बराईली र निलोपुल बस्ने ऋणी उमेशराज बराईलीलाई पनि पक्राउ गरेको छ । बैंकले दिएको सूचनाको आधारमा सबैजना मंगलबार पक्राउ परेका हुन् । ब्युरोका अनुसार बैंक कर्मचारीले ऋणीसँगको मिलेमतोमा धितो वापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुन राखी ऋण प्रवाह गराउने काममा संग्लन भएका थिए । प्रहरीले धितो सुनको अपचलनमा संग्लनहरुले बैंकलाई २ करोड २८ लाख ३८ हजार १ रुपैयाँ ५२ पैसा नोक्सानी पुऱ्याएको ठहर गरेको छ ।


पक्राउ परेकाहरुलाई ब्युरोले थप अनुसन्धानका लागि उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको छ । प्रहरीले उनीहरुलाई बैंकिक कसूर तथा सजाय ऐन २०६४ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?