१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एसियाली खेलकुद : उचो उडान

ध्रुव तुलाधर

जकार्ता — वेस्ट जाभास्थित गुनान मास पुन्साकको मौसम खुलेको थिएन । छिनछिनमा बदलिरहने मौसमले उडान हुन्छ हुन्न भन्नेमा दुविधा थियो । मौसम खुल्यो भने ग्लाइडरहरू बिहानको १० बजे उडान भर्न तयार थिए ।

एसियाली खेलकुद : उचो उडान

बुधबार १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङको अन्तिम विधा टिम क्रसकन्ट्रीमा प्रतिस्पर्धा हुँदैथियो । नेपाली टोली स्वर्ण पदकसामुन्ने थियो । एसियाडमा इतिहास बनाउन नेपाली ग्लाइडरको उत्सुकता त्यत्तिकै थियो । यही मौसममा बुधबार नेपाली पाराग्लाइडरले इतिहास कोरेका छन् । पाराग्लाइडिङले नेपाललाई जारी १८ औं एसियाली खेलकुदमा रजत पदक दिलाएको छ । एसियाली खेलकुदको महाकुम्भमा नेपालले १२ औंं दिनमा आएर पहिलो पदक हात पारेको हो ।


२० वर्षपछि नेपालले एसियाडमा जितेको रजत पदक पनि हो । सन् १९९८ बैंंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । बृहत् खेलकुदमा नेपालले जितेको यही दुई नै सबैभन्दा ठूलो पदक हो ।


‘देशका लागि पदक जित्न पाउनु सबैभन्दा ठूलो कुरा हो । सबैको मिहिनेत र हौसलामा यो सफलता पाएका छौं । एकदमै खुसी छौं,’ रजत विजेता टोलीका कप्तान विमल अधिकारीले भने, ‘पहिलो सहभागितामै यो उपलब्धि पाउनु सबैका लागि गौरव गर्ने क्षण हो ।’


यस क्रसकन्ट्रीमा जापानभन्दा थोरै अंक (२७) मा पछाडि पर्दै नेपालले रजतमा चित्त बुझाउनुपरेको थियो । अन्तिम दिन टास्क ५ मा सबैभन्दा राम्रो प्रदर्शन नेपाली ग्लाइडरकै रहयो । तीन ग्लाइडरले सबै टास्क गरी ‘गोल’ पूरा गरे । अर्को एक ग्लाइडरले टास्क पूरा गरेको भए जापानको अंकलाई उछिन्दै नेपाल स्वर्णको हकदार हुन्थ्यो ।


विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिमबाट विजय गौतम, विशाल थापा, युकेश गुरुङ र सुशील गुरुङले उडान भरेका थिए । उनीहरूले २७ सय ९७ स्कोर बनाए । जबकि अघिल्लो दिन अग्रता लिएको जापानी ग्लाइडरले कुल २ हजार ५७ स्कोरमात्र गरेका थिए । जापानका दुईले मात्र टास्क पूरा गरे । पाँच चरण चलेको स्पर्धामा मंगलबारसम्म जापान ९३ सय ९४ स्कोरसहित अगाडि रहँदा नेपालले ८५ सय ६७ स्कोर गरेको थियो । जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमश: स्वर्ण र रजत जितेका हुन् ।


आयोजक इन्डोनेसिया कांस्य जित्न सफल भयो । ८२३६ मा अन्तिम दिन तीन खेलाडीले टास्क पूरा गर्दै ‘गोल’ बनाएपछि आयोजकले २६ सय ३७ स्कोर थपेर कांस्य जितेको हो । १० राष्ट्रले प्रतिस्पर्धा गर्दा दक्षिण कोरिया चौथो स्थानमा धकेलियो ।


नेपालले डेब्यु संस्करणमै पाराग्लाइडिङबाट पदक जितेको छ । यो खेल एसियाली खेलकुदमा पहिलोपल्ट समावेश गरिएको हो । जारी एसियाडमा पाराग्लाइडिङसँगै १० खेलले डेब्युको अवसर पाएका छन् । त्यसमा नेपालले चारवटामा सहभागिता जनाएको छ ।


एसियाड डेब्यु खेलमा नेपालको एउटा छुट्टै इतिहास पनि छ । हरेक खेलको पहिलो पटक समावेश हुँदा नेपालले कुनै न कुनै पदक जितेको छ । सन् १९९६ सोल एसियाडमा डेब्यु गर्दा तेक्वान्दो र बक्सिङले पदक जितेको थियो । सन् १९९४ का हिरोसिमा एसियाडमा डेब्यु भएको कराँतेबाट पनि पदक जितेको छ । एसियाडमा पदक जित्ने नेपालका तेक्वान्दो, बक्सिङ र कराँते खेलमात्र हुन् ।


एसियाडमा पहिलोपल्ट खेल्न लागेको भए पनि पाराग्लाइडिङबाट सुरुमै पदक आशा गरिएको थियो । नेपालको भौगोलिक वातावरणसँग पनि परिचित भएकाले यसबाट आस गरिएको हो ।


नेपाली टोलीका प्रशिक्षक योगेश भट्टराईले स्वर्ण जित्न नपाएकामा थोरै दु:खी थिए । ‘हामी स्वर्ण जितेर नेपाली खेलकुदको एसियाड इतिहास बदल्न चाहन्थ्यौं, थोरैले सफल हुन सकेनौं । अब हाम्रा लागि रजत पनि स्वर्णजत्तिकै मूल्यवान हुनेछ,’ उनले भने, ‘क्रसकन्ट्रीमा हामी फाइट गर्न सक्छौं भन्ने थियो । राम्रो सुरुआत थियो । हाम्रो प्रतिद्वन्द्वी भनेको जापान र दक्षिण कोरिया थिए । तेस्रो दिनमात्र हामी चौथो स्थानमा झरेका थियौं । चौथो दिन राम्रा टास्क गर्दैै दोस्रोपछि उक्लेपछि हाम्रो स्वर्णको भोक बढेको थियो ।’


१७ वर्षे किशोर खेलाडी युकेशले पाँचमध्ये चार चरणमा गोल पूरा गरेका थिए ।


गोल पूरा गर्नु उत्कृष्ट स्कोरिङको मुख्य आधार हो । टेकअप गर्ने स्थानबाट तोकिएको परिधिभित्र उडान गर्दै टाइमिङमा सफलतापूर्वक अवतरण हुनुलाई नै क्रसकन्ट्रीमा ‘गोल’ भनिन्छ । हरेक चरणमा दूरी भने फरक थियो । अन्तिम दिन १३०–२०० डिग्री अक्षांशको १२.९९ किमि पेरिफेरिमा तय थियो ।


पाराग्लाइडिङ छोटो तयारी गरेर जकार्ता आएको हो । माघमा यस खेललाई पनि १८ औं एसियाडमा समावेश गर्ने भनिएपछि मात्र यसको तयारी थालिएको थियो । नेपालमा पाराग्लाइडिङको व्यावसायिक उडानमात्र हुँदै आएको छ । यसका खेलाडी भनेका नै व्यावसायिक उडानका ग्लाइडर हुन् । नेपाल पाराग्लाइडिङ तथा हयाङग्लाइडिङ संघका पदाधिकारीहरूको उत्साहमा नेपालले पनि एसियाडमा सहभागिता जनाउने निर्णय गरेको थियो । त्यसले गर्दा प्रतियोगितामा भाग लिन आएका सबै ग्लाइडर आफ्नै ग्लाइडरसहितको इक्युपमेन्टमा जकार्ता आएका हुन् । सेट ग्लाइडर किन्नुपरेमा झन्डै ४ हजार डलर लाग्ने उनीहरूले बताए ।


‘हाम्रा लागि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु नै ठूलो विषय थियो । त्यसले गर्दा हामीले आफैं सामान लिएर प्रतियोगितामा सहभागी भयौं । देशका लागि पदक जितेका छौं । अब राज्यले यसलाई खेलका रूपमा लगानी गर्नुपर्छ,’ अर्का प्रशिक्षक तथा थुप्रै अन्तर्राष्ट्रिय उडानका अनुभवी सानोबाबु सुनुवारले भने ।


उनी तिनै भाग्यमात्री हुन्, जो दुर्घटनाबाट बचेर एसियाडका लागि जकार्ता आइपुगेका थिए । एसियाड तयारीका सिलसिलामा काठमाडौंबाट पोखरा फर्कंदै गर्दा उनीसहित व्यवस्थापक शैलेन्द्र राउत र कोषाध्यक्ष मधुकर सुवेदी चढेको कार ट्रकसँग ठोक्किएर त्रिशूलीमा खसेको थियो । सुनारले कारको झ्यालको सिसा फोडे । त्यसपछि राउत र सुनार त्यहींबाट निस्किए । पौडिएर बाँच्न सफल भए । तर कोषाध्यक्ष सुवेदीलाई भने त्यही दुर्घटनामा गुमाए ।


राउतले त्यो क्षण सम्झँदै भने, ‘त्यो दुघर्टना कहालीलाग्दो रह्यो । मरेर बाँच्यौं । सायद हामीलाई यो पदक थाप्नका लागि पठाइएको रहेछ । हामी यो सफलता सुवेदीप्रति समर्पण पनि गर्न चाहन्छौं । उहाँ यही सफलताका लागि दिनरात नभनी लाग्नुभएको थियो ।’


एसियाडमा नेपालले पाराग्लाइडिङमा ८ खेलाडीलाई उतारेको थियो । ६ इभेन्टमा भाग लिएको हो । महिलातर्फ प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ बम्जन, सविता तामाङले भाग लिएको थियो । उनीहरू महिला टिम क्रसकन्ट्रीतर्फ १० टिममा छैटौं भएका थिए । आफ्नो छनोटमा रहेको पाराग्लाइडिङमा इन्डोनेसियाले २ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो भने थाइल्यान्डले २, कोरिया र जापानले १–१ स्वर्ण जितेका थिए ।


पाराग्लाइडिङको रजतको खुसी साट्न नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहितका पदाधिकारी, राष्ट्रिय टिम तयारी समितिका निर्देशकसहितको टोली पुन्साक
पुगेका थिए । तर नेपाली टोलीका सेभ द मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सेभ द मिसन केशवकुमार विष्टले भने बुधबारै काठमाडौंको उडान भरेका थिए । काठमाडौंबाट मन्त्रीबाट आकस्मिक बोलावट आएपछि स्वदेश फर्कनुपरेको जनाउ दिएका थिए ।

यस्ता रहे रजत विजेता

युकेश गुरुङ (उमेर १७)
५ वर्षदेखि आबद्ध
देशका लागि पदक जित्न सकें । आगामी दिन योभन्दा राम्रो गर्दै स्वर्ण जित्नेछु । यसलाई अब खेलकुदको दायरामा ल्याउनुपर्छ । राज्यले लगानी गर्नुपर्छ । त्यसका लागि यो सफलता पक्कै पनि राम्रो गर्नेछ ।

विजय गौतम (उमेर २६)
८ वर्षदेखि आबद्ध
पदक जित्नु त्यो आफैंंमा ठूलो उपलब्धि हो । त्यसमाथि विश्वका उत्कृष्ट ग्लाइडरलाई हराएर जित्न पाउनु हाम्रा लागि झन् ठूलो उपलब्धि हो । हामी एकदमै खुसी छौं, देशका लागि पदक जितेका छौं ।

विशाल थापा (उमेर २७)
७ वर्षदेखि आबद्ध
पहिला पनि थुप्रै अन्तर्राष्ट्रिय खेलेको थिएँ । तर आज जस्तो खुसी र गौरवको अनुभूति भएको थिएन । यो देशका लागि जितेको पदकको महत्त्व नै बेग्लै हुँदोरहेछ ।

सुशील गुरुङ (उमेर २९)
१२ वर्षदेखि आबद्ध
अझै प्रयास गर्न सकेको भए स्वर्ण नै जित्ने थियौं । रजत भए पनि जितेका छौं । यो नेपाली खेलकुद र पाराग्लाइडिडका लागि ठूलो उपलब्धि हासिल गरेका छौं जस्तो लाग्छ । यसलाई निरन्तरता दिनुपर्छ ।

विमल अधिकारी (उमेर ३०)
१३ वर्षदेखि संलग्न
एसियन गेम्समा खेल्ने भनेपछि नै उत्साहित थियौं । सबैले त्यसका लागि मिहिनेत गरे । स्वर्ण नै जित्ने मौका थियो । हामीले पनि त्यही चाहेका थियौं । अन्तिममा सफल हुन सकेनौं । रजत भए पनि जित्यौं । अब योभन्दा माथि जानुपर्छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?