१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

यस कारण भएन गोकर्ण रिसोर्टमा रिट्रिट

वर्षाका कारण चाबहिल–जोरपाटी–गोकर्ण सडक द्रुत गतिमा सुधार गर्न सकिएन– भौतिक पुर्वाधार सचिव मधुसुदन अधिकारी
सम्मेलन स्थलभन्दा बाहिर नै गर्न सकेको भए निकै राम्रो हुन्थ्यो– पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य
कृष्ण आचार्य

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुको ‘रिट्रिट’ होटल सोल्टीमै हुने भएको छ ।

यस कारण भएन गोकर्ण रिसोर्टमा रिट्रिट

चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन आयोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो । ‘यस पटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्त्ता भरतराज पौड्यालले भने । परराष्ट्रका अधिकारीहरुले प्राविधिक कारणले आयोजना स्थलभन्दा बाहिर रिट्रिट हुन नसकेको जनाए । बिमस्टेक शिखर सम्मेलनका लागि तयार पारिएका कार्यक्रम सम्बन्धी जानकारी पुस्तीकामा ‘काठमाडौ नजिकैकौ कुनै स्थानमा’ रिट्रिट गरिने उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाबहिल–जोरपाटी–गोकर्ण सडक स्तरोन्नती गरि रिट्रिट गोकर्ण रिसोर्टमै गर्ने गृहकार्य गरेको थियो । ‘वर्षाका कारण द्रुत गतिमा त्यो सडक सुधार गर्न सकिने अवस्था नै भएन,’ भौतिक पुर्वाधार मन्त्रालयका सचिब मधुसुदन अधिकारीले भने, ‘सडक बनाउन नसक्ने जानकारी गराएपछि सोल्टीमै गर्ने भनिएको छ ।’

सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गरिन्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ । ठूला सभा सम्मलेनहरुमा त्यसैका लागि रिट्रिट अबधारणा आएको हो ।

बिमस्टेक सम्मेलनको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि ‘रिट्रिट’को कार्यक्रम तय भएको छ । ‘सम्मेलन स्थल भन्दा बाहिर नै गर्न सकेको भएन निकै राम्रो हुन्थ्यो,’ पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले भने, ‘तर सुरक्षा तथा अन्य परिस्थितिवश सम्मेलन स्थलमै पनि रिट्रिट गर्न सकिन्छ ।’

आयोजक मुलुक, सुरक्षा, पूर्वाधार तथा सवारीको अवस्था अनुसार ‘रिट्रिट’ को स्थान फरक पर्ने उनले बताए । नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यस पटक गोकर्णमा गर्ने भनिएपनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो ।

प्रकाशित : भाद्र १४, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?