बिमस्टेकले सार्कलाई प्रतिस्थापन गर्दैन : प्रधानमन्त्री ओली 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेकले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रतिस्थापन नगर्ने बरु एक–अर्काको सहयोगी रहेको बताएका छन् ।

बिमस्टेकले सार्कलाई प्रतिस्थापन गर्दैन : प्रधानमन्त्री ओली 

उनले आफू बंगलादेश, भुटान, भारत र नेपालको उपक्षेत्रीय सहयोग प्रयासलाई समेत अगाडि बढाउने पक्षमा रहेको बताएका छन् ।


प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षको हैसियतमा दिएको उद्घाटन मन्तव्यका क्रममा यस क्षेत्रका मुलुकहरुले व्योहोरी रहेका धेरै विषयहरु उठाएका छन् । उनले यस क्षेत्रको प्राकृतिक सम्पदाको सम्पन्नता र जनसंख्याको गतिशिलतामा धेरै संभावनाहरु रहेको उल्लेख गरेका छन् । यी संभावनाहरुलाई आत्मसात गर्दै यस क्षेत्रको जनतालाई गरिबीको दलदलबाट निकाल्नु पहिलो ध्येय हुनुपर्ने समेत उल्लेख गरे ।


त्यसैगरी उनले जलवायु परिवर्तनको कारण भएका प्राकृतिक प्रकोपहरुसँग जुध्नका लागि सामूहिक तयारीको आवश्यकतामा जोड दिएका छन् । उनले भनेका छन्, 'हामीले नगरेको दोषको भागीदार भइरहेका छौं, यस प्रकोपसँग जुध्नका लागि साझा तर छुट्टछुट्टै दायित्व र क्षमताको आधारमा साझा पहल जरुरी रहेको छ ।'


उनले आतंकवाद र अन्तरदेशीय अपराधलाई नियन्त्रण गर्नका लागि यस क्षेत्रका राज्यहरुबीच थप बलियो एकता र सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गरेका छन् । साथै प्रधानमन्त्री ओलीले व्यापार आर्थिक बृद्धिको सबैभन्दा महत्वपूर्ण भए पनि बिमस्टेक देशहरुबीच ज्यादै थोरै मात्र व्यापार भएको बताएका छन् । उनले भने, 'व्यापार, सेवा, लगानीलगायत विषयमा बिमस्टेक मुलुकहरु प्रभावकारी रुपमा अघि बढ्नु पर्दछ ।'

प्रकाशित : भाद्र १४, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?