कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिंसा–बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीको निर्देशन

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । 

हिंसा–बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए । बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ । उनले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँकतै त्यस्तो भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।


महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापरबाही नगरी गम्भीरतापूवर्क कारबाही अघि बढाउन उनले प्रहरीलाई निर्देशन दिए । गृहसचिव प्रेमकुमार राईसमेत सहभागी छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउन गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताए ।


अभियान सुरु गर्दै


अनियन्त्रित मदिराको बिक्रीवितरण र लागूपदार्थको सेवनलगायत कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यसविरुद्ध मन्त्रालयले अभियान शुरु गर्ने भएको छ । मन्त्रालयले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित बिक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।


प्रस्ताव पारित भएलगत्तै यही भदौ मसान्तभित्रै अभियान घोषणा गर्ने मन्त्रालयको तयारी छ । इन्टरनेटमार्फत अश्लीलता बढेका कारण पनि बलात्कारका घटना वृद्धि भएकाले यसको नियमनबारेमा समेत मन्त्रालयले छलफल सुरु गरेको छ ।

प्रकाशित : भाद्र १४, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?