कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडकैपिच्छे कर

नारायण शर्मा

चोरमारा (नवलपरासी) — आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् ।

सडकैपिच्छे कर

साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पूर्व–पश्चिम राजमार्गसँग जोडिएका भित्रि सडकमा नगरपालिकाले कर लिने गरेको हो ।


‘साउनबाट असुली सुरु गरेका हौं,’ नगरपालिका सूचना अधिकृत घनश्याम गाहले भने, ‘नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो ।’ नगरपालिकाले नगरवासीलाई आफ्ना सवारी सूचीकृत गराएर वर्षभरिको कर एकमुष्ट लिन सुरु गरेको छ भने आगन्तुक सवारीमा छुट्टै असुली गर्ने गरेको छ ।


अटोरिक्साले दिनभर ती सबै बाटो प्रयोग गर्दा दैनिक १० रुपैयाँ कर तिर्नुपर्छ । निजी साधनले वार्षिक ७ सय र निजी विद्यालयका गाडीसँग वार्षिक १ हजार २ सय रुपैयाँ लिने गरिएको छ ।


एउटै आलोक चक्रपथका चार ठाउँमा कर असुल्दा नगरपालिकालाई वार्षिक २७ लाख ५० हजार आम्दानी हुने गाहले बताए । ‘यी कर सडक मर्मतका लागि लिन थालिएको हो,’ उनले भने ।


सडकमा सेतो प्लेटका सरकारी गाडी, एम्बुलेन्स र दूध बोक्ने सवारीलाई करमुक्त सूचीमा राखिएको छ । सरकारी कर्मचारीले परिचयपत्र देखाए उनले प्रयोग गरेका सवारीसँग ठेकेदारले कर असुली गर्दैनन् । ‘सरकारी प्लेटका गाडी, दूध बोक्ने गाडी र एम्बुलेन्सलाई कर नलिनु भन्ने मौखिक आदेश छ,’ चोरमारा–कोल्हुवा खण्डमा कर असुलीका लागि बसेका ठेकेदार पूर्णबहादुर थापाले भने ।

प्रकाशित : भाद्र १४, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?