नगरपालिका संघमा श्रेष्ठ

सुदीप कैनी

काठमाडौँ — नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनले बिहीबार अशोक व्यञ्जु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

धुलिखेल नगरपालिकाका मेयर श्रेष्ठका अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिका नुवाकोटकी उपप्रमुख कविता ढुङ्गाना, महासचिवमा निलकण्ठ नगरपालिका धादिङका प्रमुख भिमप्रसाद ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ चयन भएकी हुन्।

Yamaha

अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष नेकपाबाट चयन भएका हुन् भने कांग्रेसबाट महासचिव र सहकोषाध्यक्ष छनोट भएका हुन्। संघको विधानअनुसार सहमतिमा पदाधिकारीसहित सदस्य बाडफाँड गरिएको हो।
राजधानीको राष्ट्रियसभा गृहमा सम्पन्न अधिवेशनको प्रधानमन्त्री केपी ओलीले गत बुधबार उद्घाटन गरेका थिए।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्

सडकैपिच्छे कर

नारायण शर्मा

चोरमारा (नवलपरासी) — आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् ।

साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पूर्व–पश्चिम राजमार्गसँग जोडिएका भित्रि सडकमा नगरपालिकाले कर लिने गरेको हो।

‘साउनबाट असुली सुरु गरेका हौं,’ नगरपालिका सूचना अधिकृत घनश्याम गाहले भने, ‘नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो।’ नगरपालिकाले नगरवासीलाई आफ्ना सवारी सूचीकृत गराएर वर्षभरिको कर एकमुष्ट लिन सुरु गरेको छ भने आगन्तुक सवारीमा छुट्टै असुली गर्ने गरेको छ।

अटोरिक्साले दिनभर ती सबै बाटो प्रयोग गर्दा दैनिक १० रुपैयाँ कर तिर्नुपर्छ। निजी साधनले वार्षिक ७ सय र निजी विद्यालयका गाडीसँग वार्षिक १ हजार २ सय रुपैयाँ लिने गरिएको छ।

एउटै आलोक चक्रपथका चार ठाउँमा कर असुल्दा नगरपालिकालाई वार्षिक २७ लाख ५० हजार आम्दानी हुने गाहले बताए। ‘यी कर सडक मर्मतका लागि लिन थालिएको हो,’ उनले भने।

सडकमा सेतो प्लेटका सरकारी गाडी, एम्बुलेन्स र दूध बोक्ने सवारीलाई करमुक्त सूचीमा राखिएको छ। सरकारी कर्मचारीले परिचयपत्र देखाए उनले प्रयोग गरेका सवारीसँग ठेकेदारले कर असुली गर्दैनन्। ‘सरकारी प्लेटका गाडी, दूध बोक्ने गाडी र एम्बुलेन्सलाई कर नलिनु भन्ने मौखिक आदेश छ,’ चोरमारा–कोल्हुवा खण्डमा कर असुलीका लागि बसेका ठेकेदार पूर्णबहादुर थापाले भने।

प्रकाशित : भाद्र १४, २०७५ २१:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT