२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

किशोरी बलात्कार र हत्या प्रकरणः प्रहरीले नै प्रमाण मासेको आशंका

कञ्चनपुर — भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।

किशोरी बलात्कार र हत्या प्रकरणः प्रहरीले नै प्रमाण मासेको आशंका

घटनास्थलमा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रूख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरू बताउँछन् ।


‘शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्‍यो ?’ एक स्थानीयले भने, ‘प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन ।’ प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल
बनेको छ ।

‘अम्बाको रूख अहिले नै किन काटियो, निर्मलाले रूखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ,’ अर्का स्थानीय रतन ओझाले भने । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलाई जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छन् । छोरी खोज्न जाँदा उनीहरूले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना त्यही घरभित्र भएको हुन सक्ने उनको बुझाइ छ । ‘प्रहरीले सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरिरहेको थियो,’ उनले भनिन्, ‘तर त्यहाँ प्रमाण मेटाउने खेल भइरहेको रहेछ ।’


यसैबीच जिल्ला अदालतले यो प्रकरणमा पक्राउ परेका दिदीबहिनी रोशनी र बबिता बमलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालतले म्याद दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार म्याद थप गरेको हो ।


गत शुक्रबार पक्राउ परेका उनीहरूमाथि अनुसन्धानका लागि अदालतले सोमबार ६ दिन म्याद दिएको थियो । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले दोस्रोपटक म्याद थपका लागि पेस गरेको हो । ‘अनुसन्धान प्रगतिका आधारमा म्याद थपिएको हो,’ जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने ।


एसपी कुबेर कडायतले बम दिदीबहिनीसँग बयान लिने काम भइरहेको बताएका छन् । ‘हामी अनुसन्धानमै छौं,’ उनले भने, ‘अहिल्यै केही भनिहाल्ने अवस्था छैन ।’ यो प्रकरणमा अनुसन्धानकै लागि गत शुक्रबार गृह मन्त्रालयले कडायत र डीएसपी कृष्ण ओझालाई यहाँ पठाएको हो । घटनाका दोषीका रूपमा भदौ ५ गते सार्वजनिक गरिएका भीमदत्त–१९ बाग्फाँटाका दिलीप विष्टलाई भने स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको छ । उनको म्याद पछि थपिने एसपी कडायतले बताए । विष्टलाई १० दिन थुनामा राख्न अघिल्लो सोमबार लिइएको म्याद बुधबार सकिएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?