कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ठेकेदारको लापरबाही : अधुरै अस्पताल

सम्झौताअनुसार काम भए ३ वर्षअघि सेवा पाइन्थ्यो
प्रकाश बराल

बागलुङ — विशेषज्ञसहितको सेवा दिने भन्दै स्तरवृद्धि घोषणा गरिएको ८ वर्ष पुग्दा पनि धौलागिरि अञ्चल अस्पतालका २ भवन अझै बनेका छैनन् ।

ठेकेदारको लापरबाही : अधुरै अस्पताल

सम्झौताअनुसार ठेकेदारले काम गरेको भए ३ वर्षअघि नै सुविधा सम्पन्न ३ भवनबाट अस्पतालले सेवा दिइरहेको हुन्थ्यो । एउटा मात्रै भवनमा अस्पतालका सबै सेवा सञ्चालन गर्नुपर्दा अस्पतालका नियमित काम प्रभावित भइरहेका छन् ।


विभिन्न बहाना बनाएर ठेकेदारले काम अलपत्र पारेका छन् । पटक–पटकको प्रयासमा ठेकेदारले अस्पतालका २ भवनको बाहिरी आवरण मात्र ठडयाएका छन् । प्लास्टर, झयाल ढोका, रङरोगन नगर्दा भवनहरू जीर्ण जस्ता देखिन्छन् । त्यहाँ सञ्चालन गरिनुपर्ने सेवा नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ । प्रशासन भत्किन लागेको टहरामा सारिएको छ । डेढ वर्षदेखि कर्मचारी प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट र अधिकृतहरू टहरामै छन् ।


अस्पतालको ‘ए’ भवनमा ओपिडी र इमर्जेन्सीसहितका सबै सेवा चलेका छन् । अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र पनि यहीं छ । बिरामी चाप हुँदा भीडले उपचारमा पनि अप्ठयारो पर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ३ वर्षअघि सक्ने गरी ‘बी’ ब्लक १७ करोड रुपैयाँ र ‘सी’ ब्लक १० करोड रुपैयाँमा ठेक्का दिइएको थियो । पहिलो भवन भने बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उद्घाटन भएको थियो । भवन बनाउने जिम्मा लिएको मिलेनियम विल्डर्स निर्माण सेवाले अस्पताल विकास समितिको पटकपटकको आग्रह अटेर गरी काम अलपत्र छाडेको हो । ठेकेदार शिव ढकालले भवन बनाउने क्रममा विद्युत्को तारले अप्ठयारो पारेकाले छाडेको बताए । ‘बिजुलीको तारले काम गर्न अप्ठयारो भएकाले ढिला भएको हो, अब गर्छौं,’ उनले भने, ‘नाकाबन्दीले पनि असर गरेको थियो ।’ पटकपटक थपेको म्यादबाट पनि गत असारमा सक्ने भनिएको ‘बी’ ब्लकसमेत अझै अलपत्र छ । ‘सी’ तर्फ ठेकेदारले हातै नहालेको भवन डिभिजन कार्यालयका इन्जिनियर तेजेन्द्र पौडेलले बताए । यसअघि ढकालले असार मसान्तमा काम सक्ने बताएका थिए । गृह मन्त्रालयले स्थानीय प्रशासनसँग ढिलासुस्ती गर्ने ठेकेदारहरूको विवरण माग गर्दा केही दिन ढकालले कामदार ल्याएर काम अस्पताल भवनको काम लगाएका थिए । चर्चा कम भएपछि उनी फेरि निर्माणस्थलमा आउन छाडेका छन् । कामदार पनि छैनन् ।


सार्वजनिक क्षेत्रको निर्माणमा भएको लापरबाहीले सेवाग्राहीले सास्ती खेपेको अस्पतालका पूर्वअध्यक्ष देवबहादुर श्रेष्ठले बताए । अस्पतालको भवन बनाउने ठेकेदार र सेवाको काम गर्ने स्वास्थ्यकर्मीले पनि जनताको स्वास्थ्यमा चासो दिनुपर्ने उनको भनाइ छ । ‘गृह मन्त्रालयबाट चासो बढेका बेला आएका ठेकेदारहरू फेरि हराए,’ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले भने, ‘यस्तो लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने भएको छ ।’ भवन अलपत्र पर्दा अस्पतालको विशेषज्ञ सेवाहरू पूर्णरूपमा प्रभावित रहेको मेसु डा. राजभण्डारी बताउँछन् । ‘विशेषज्ञ आएमा बसेर काम गर्ने ठाउँ कता देखाउने ?’ उनले भने, ‘संवेदनशील उपकरण राख्ने ठाउँ पनि छैन ।’


अस्पतालमा ल्याइएका डायलासिस मेसिन राख्न छुट्टै ठाउँ नभएपछि प्रशासन र मेडिकल सुपरिटेन्डेन्टको कक्षमा राखिएको छ । डायलासिस चलाउनुपरेकाले मेसुको कक्ष छाप्रोमा सारिएको प्रशासन शाखाका नासु तीर्थप्रसाद शर्माले बताए । भवनकै अभावमा ल्याबलाई पनि ठाउँ छैन । ठेकेदारहरूको लापरबाहीकै कारण जिल्लामा दर्जनौं स्वास्थ्यचौकी, वडा कार्यालय लगायतका भवन अलपत्र परिरहेको बागलुङका नगर प्रमुख जनक पौडेलले बताए । अलपत्र परेका भवनको काम तत्काल गराउन अलपत्र छाड्नेको लाइसेन्स खारेजी सम्मको कारबाही प्रक्रिया थाल्न डिभिजनले पत्राचार गरेको उनले दाबी गरे ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?