२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुगममा गाडी, दुर्गममा घोडा

रुकुमपूर्व — पुथाउत्तरगंगा गाउँपालिकाको गाडी सिस्ने गाउँपालिकाको रुकुमकोटमा थन्किएको छ । वर्षासँगै पुथाउत्तरगंगाका कुनै ठाउँमा गाडी चल्ने अवस्था नभएपछि गाउँपालिकाको स्कर्पियो रुकुमकोटमा थन्क्याइएको हो । ३६ लाख ६० हजारमा भित्र्याइएको हाफबडीवाला स्कर्पियो वर्षा सुरुसँगै रुकुमकोटमा थन्किएको छ ।

सुगममा गाडी, दुर्गममा घोडा

गाउँपालिका अध्यक्ष भने सवारीमै आवतजावत गरिरहेका छन् । गाडी नजाने ठाउँका लागि उनले घोडा खरिद गरेका थिए । वर्षा लागेसँगै गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगर घोडामा सवार हुन्छन् । १ लाख ५० हजार मूल्यको घोडा गाउँपालिकाले नै किनेको हो । उनी गाडी नचल्ने र सडक नपुगेका ठाउँ जाँदा हिउँदमा पनि घोडामै सवार हुन्छन् । गाउँपालिकाले गाडी र घोडा खरिद गरेको अध्यक्ष घर्तीले बताए । भौगोलिक विकटतामा पैदलै हिँडेर पुग्न कठिन हुने भएकाले गाडी र घोडा किनेको उनले बताए । ‘गाडी रुकुमकोटमा छ, अहिले म गरिब परिचयपत्र वितरण गर्न गाउँ जाने क्रममा घोडामा गइरहेको छु,’ अध्यक्ष घर्तीले भने ।


सडक अवरुद्ध भएपछि गाडी थन्क्याउनुको विकल्प नरहेको उनले बताए । आफू अलिक अस्वस्थ भएकाले हिँड्न मुस्किल हुने पनि उनले सुनाए । ‘सडक भएकातिर गाडी र दुर्गममा घोडाबाट जान्छु, सवारीबिना थोरै पनि हिँड्न नसक्ने भएपछि घोडा किन्न बाध्य भएको हुँ,’ उनले भने । जिल्लाका तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा गाउँपालिकाले मात्रै गाडी किनेको छ ।


गत आव ०७४/७५ को वित्तीय समानीकरणको बजेटबाट उक्त गाडी र घोडा किनिएको हो । वित्तीय समानीकरणको बजेटलाई विकास निर्माणमा बाहेक अन्यत्र लगाउन नपाइने प्रावधानविपरीत पुथाउत्तरगंगा गाउँपालिकाले गाडी खरिद गरेको थियो । आन्तरिक स्रोतबाट सवारी खरिद गर्ने व्यवस्था भए पनि विकासे बजेटबाट भने त्यस्तो साधन किन्ने व्यवस्था छैन । व्यवस्था नै नभएको शीर्षकबाट गाउँपालिकाले स्कर्पियो गाडी र घोडा खरिद गरेको हो ।


गाउँपालिकाले गाडी किन्ने क्रममा वित्तीय समानीकरणको बजेटबाट गाडी नकिन्न निर्देशन नआएको अध्यक्षको भनाइ छ । ‘हामीले गाडी/घोडा किनेपछि मात्रै त्यस्तो निर्देशन आएजस्तो लाग्छ,’ घर्तीले भने । गाउँपालिकाको आन्तरिक स्रोत भनेको करमात्रै हो । गाउँपालिकाले गत आव ०७४/७५ मा २० लाख रुपैयाँमात्रै कर संकलन गरेको छ । गाउँपालिकाका १४ मध्ये पाँच वडाका केही ठाउँमा मात्रै सडक सन्जाल जोडिएको छ । वर्षामा गाउँपालिकाका कुनै पनि ठाउँमा गाडी चल्दैन । हिउँदमा पनि केही वडामा मात्रै चल्छ । १०, ११, १२, १३ र १४ नम्बर वडाका केही ठाउँमा मात्रै गाडी चल्छन् ।


वर्षामा सिस्ने गाउँपालिकादेखि माथि गाडी चल्दैन । गाउँपालिकाको केन्द्रदेखि सदरमुकाम तथा जिल्लाबाहिर जानलाई मात्रै उक्त गाडी खरिद गरिएको स्थानीयले बताए ।

‘गाउँपालिकाका धेरै ठाउँमा गाडी नै चल्दैन, यत्तिकै विकास बजेट खर्चेर गाडी किनिएको छ, यो सरासर गलत हो,’ १२ नम्बर वडाका मनबहादुर पुनले भने, ‘जनप्रतिनिधिलाई सुगममा गाडी र दुर्गममा घोडा छ । हामी सर्वसाधारणलाई करको सास्ती छ ।’

प्रकाशित : भाद्र १५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?