कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टीमा 'रिट्रिट'

कृष्ण आचार्य

काठमाडौँ — बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टीमा 'रिट्रिट'

सोल्टीमा रिट्रिट दिए पनि नेपाल सरकारले भदौ १५ गते अर्थात सम्मेलनको दोस्रो दिन गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेको थियो । तर वर्षाका कारण चाबहिल–जोरपाटी–गोकर्ण सडक द्रुत गतिमा सुधार गर्न नसकेपछि सोल्टीमै रिट्रिट दिने तालिका बनाइएको हो ।

चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन आयोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो। ‘यस पटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्त्ता भरतराज पौड्यालले भने। परराष्ट्रका अधिकारीहरुले प्राविधिक कारणले आयोजना स्थलभन्दा बाहिर रिट्रिट हुन नसकेको जनाए।

राससका अनुसार सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी छन् ।

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरूका श्रीमती/श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ ।

बिमस्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरिन् । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

रिट्रिटमा बिमस्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री/राज्यमन्त्री पनि सहभागी छन् । उनीहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला/विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।

नितान्त निजी एवं एकान्त भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताए ।


यो पनि पढ्नुहोस्ः

यस कारण भएन गोकर्ण रिसोर्टमा रिट्रिट

प्रकाशित : भाद्र १५, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?