काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न (घोषणा पत्रका प्रमुख बुँदाहरुसहित)

घनश्याम खड्का, कृष्ण आचार्य

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो ।

सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन्। बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ।

त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन्। जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेका छन्।

त्यसैगरी बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ। यसमा आतंकवादमा लगानी पनि रहेका छन्।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ।

घोषणापत्रका प्रमुख बुँदाहरु:
  • बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
  • स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
  • बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
  • बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
  • बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
  • अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
  • यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
  • यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
  • बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
  • बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
  • अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
  • आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
  • जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
  • बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
  • साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
  • कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
  • जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
  • बुद्ध सर्किट बनाउन सहमत ।
  • सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
  • पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
  • भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

आज अपरान्ह ४ बजे नेपाल र भारतबीच दुईपक्षीय सम्झौता हुँदै छ। जनकपुर-काठमाडौं रेलवे को अध्ययन सम्भाव्यतामा सम्झौता हुँदै छ भने भोलि शनिबार श्रीलंकासँग पनि केही विषयमा सम्झौता हुने परराष्ट्र स्रोतले जनाएको छ।

आजै बिहान भएको थाइल्यान्ड र नेपालबीचको दुईपक्षीय बैठकमा थाइल्यान्डले १९ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो। भूकम्पकै बेला दिने भनेर थाइल्यान्डले भने पनि विविध कारणले दिन नसकिएको जनाएको थियो।

Yamaha

प्रकाशित : भाद्र १५, २०७५ १३:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बिमस्टेक सम्मेलनमा भारतका आधा दर्जन प्रस्ताव

बिमस्टेकको मुख्य जोड: कनेक्टिभिटी र बुद्ध सर्किट
घनश्याम खड्का, कृष्ण आचार्य

काठमाडौँ — भारतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) लाई अघि बढाउन आधा दर्जन नयाँ प्रस्ताव अघि सारेको छ । आयोजक नेपालसहितका अन्य सदस्य राष्ट्रले भने बिमस्टेकलाई सार्कको विकल्प नभई परिपूरक भन्दै कनेक्टिभिटीलाई जोड दिएका छन् ।

सम्मेलन उद्घाटनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक महिला सांसद मञ्च, बिमस्टेक अध्ययन केन्द्र, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, डिजिटल कनेक्टिभिटी, लागू औषधविरुद्धको अभियान लगायत प्रस्ताव अघि सारेका हुन् । मोदीले बिमस्टेक थप मजबुत बनाउन नालन्दा विश्वविद्यालयमा संस्कृति, सामुद्रिक कानुन र अन्य विषयमा शोध गर्नका लागि ‘सेन्टर फर बे अफ बंगाल स्टडी’ स्थापना गर्ने योजना पनि अघि सारे ।


उनले बिमस्टेक महिला सांसदहरूका लागि एउटा साझा मञ्च बनाउन पनि सदस्य राष्ट्रलाई प्रस्ताव गरे । यस क्षेत्रका युवालाई एउटै थलोमा उभ्याउन सम्मेलन गर्नुपर्ने उनको अवधारणा छ । आउने महिना भारतमा बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णयलाई मोदीले महत्त्वका साथ
आफ्नो मन्तव्यमा उद्धृत गरे ।

यो अभ्यासमार्फत पाकिस्तान र चीनलाई भारतले रणनीतिक सन्देश दिन खोजेको आरोप लागिरहेको छ । ‘यो अभ्यास आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र अन्तरदेशीय अपराध नियन्त्रणका लागि हो,’ मोदीले भने ।


नेपालले बौद्ध सर्किटलाई बिमस्टेकमार्फत अघि बढाउन प्रस्ताव गरिरहेका बेला मोदीले अगस्ट २०२० मा विश्व बौद्ध सम्मेलन गर्ने योजना पनि अगाडि सारे । ‘म यस अवसरमा सबै बिमस्टेक सदस्य देशलाई गेस्ट अफ अनरका रूपमा सहभागी हुन निमन्त्रणा दिन चाहन्छु,’ उनले भने । तर यो सम्मेलन बिमस्टेककै मञ्चले गर्ने कि भारत एक्लैले भन्नेबारे स्पष्ट छैन ।


मोदीको अर्को प्रस्ताव लागूऔषधका विषयमा छ । लागूऔषधविरुद्ध लड्ने साझा ढाँचा तयार पार्न एउटा अर्काे सम्मेलन आयोजना गर्न भारत तयार भएको पनि उनले घोषणा गरे ।


राष्ट्रिय ज्ञान सञ्जालका लागि श्रीलंका, बंगलादेश, भुटान र नेपालमा डिजिटल कनेक्टिभिटी बढाउनुपर्ने पहिलेकै प्रतिबद्धतालाई उनले काठमाडौंमा पनि दोहोर्‍याए ।


‘हामी सबै देश सदियौंदेखि सभ्यता, इतिहास, कला, भाषा, खानपान र हाम्रा साझा संस्कृतिका अटुट बन्धनले जोडिएका छौं,’ मोदीले बिमस्टेकलाई अघि बढाउनु पर्नाको कारण देखाए, ‘हाम्रामाझ एकातिर अटुट पर्वत शृंखला छ भने अर्कातिर दुई महासागरका बीचमा बंगालको खाडी छ ।’


भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले ब्लु इकोनोमी र माउन्टेन इकोनोमीका विषयमा पनि चर्चा गरे । भारतले समुद्रसँग जोडिएको अर्थतन्त्र ‘ब्लु इकोनोमी’ र नेपालले हिमालसँग जोडिएको अर्थतन्त्र ‘माउन्टेन इकोनोमी’ लाई बिमस्टेकको मुख्य प्राथमिकतामा राख्न प्रस्ताव गरेसँगै यस क्षेत्रीय संगठनको सहकार्यका १४ क्षेत्र बढेर अब १६ भएका छन् ।


भारतपछि बिमस्टेक सदस्यको अर्काे ठूलो अर्थतन्त्र भएको देश थाइल्यान्डले पनि यस क्षेत्रीय संगठनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने प्रस्ताव गरेको छ । ‘दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीच बढदो विश्वव्यापी चासोअनुसारै रणनीतिक सेतु कायम गर्न बिमस्टेक बितेका केही वर्षयता उपक्षेत्रीय सहयोगको ढाँचाका रूपमा विकास भएको छ,’ थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भने, ‘यो संगठन भारतको पूर्वमा काम गर भन्ने नीति र थाइल्यान्डको पश्चिम हेर भन्ने नीतिअनुसारकै छ ।’


जीर्ण अर्थतन्त्र, अस्थिर राजनीति, बढदो राष्ट्रवाद र संरक्षणवादका कारण बिमस्टेक राष्ट्रले आपसी सहयकार्यलाई पुनरावलोकन गर्ने समय आएको थाई प्रधानमन्त्रीको विश्लेषण छ । ‘बिमस्टेकले यी चुनौतीलाई हाम्रो गतिशील साझेदारीबाट पार लगाउनैपर्छ,’ उनले भने, ‘त्यसैले यो सम्मेलनको सफलता आपसी विश्वास, सम्मान र लाभका आधारमा अनुभव, शक्ति र विशेषज्ञताको आदानप्रदान गर्न‘मा छ ।’ उनले सहयोगका क्षेत्रलाई बढाउनुभन्दा साझेदारीको गुणस्तर बढाउन जोड दिए । व्यापार र लगानी, आपसी सम्पर्क, सुरक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा बिमस्टेकले साझेदारी गर्न थाई प्रधानमन्त्रीले प्रस्ताव गरे ।


त्यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पनि बिमस्टेक एक सम्भावनापूर्ण क्षेत्रीय संगठन भएको भन्दै यसको प्रवद्र्धनमा जोड दिइन् । ‘बिमस्टेकलाई द्विपक्षीय, बहुपक्षीय र क्षेत्रीय हिसाबले अगाडि बढाउनु जरुरी छ,’ उनले भनिन्, ‘विश्वको २२ प्रतिशत जनसंख्या भएको यो क्षेत्रमा सम्भावनाका अपार अवसर छन् ।’


भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकले बिमस्टेक सम्मेलनले अघि सारेको शान्त, समृद्ध र दिगो बंगालको खाडी भन्ने प्रस्तावनालाई स्वागत गरे । ‘साझा भूगोल, इतिहास, संस्कृति र मान्यताले हामीलाई एक भएर काम गर्न प्रेरणा दिएको छ,’ वाङचुकले भने, ‘दुई दशकमा हाम्रो साझा प्रयासले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त गरेको छ ।’


उनले व्यापार, सुरक्षा, जलवायु, संस्कृति तथा डिजिटल कनेक्टिभिटीलाई बिमस्टेकको पाँच प्राथमिकतामा राख्न प्रस्ताव गरे । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि बिमस्टेकको सफलता कनेक्टिभिटीमा भएको भन्दै क्षेत्रीय सहकार्य र सहयोगमा जोड दिए । ‘हामीलाई भूगोल र संस्कृतिले एक ठाउँमा उभ्याएको छ,’ उनले भने, ‘अब सहकार्य आदानप्रदान र कनेक्टिभिटीको वृद्धिले यो क्षेत्रको विकासलाई उच्च बिन्दुमा पुर्‍याउनुपर्छ ।’ उनले जलमार्गको विकास र बंगालको खाडीको तुलनात्मक लाभले यस क्षेत्रको गरिबी हटाउने विश्वास पनि व्यक्त गरे ।


त्यस्तै, म्यानमारका राष्ट्रपति विन मिन्टले एसियाको यो उपक्षेत्रीय संगठनको महत्त्व तथा आवश्यकता ऐतिहासिक भएको बताए । ‘हामीलाई समान संस्कृति, सभ्यता र भूगोलले जोडेको छ,’ उनले भने, ‘यातायात, वाणिज्य, सुरक्षा र प्रविधिको कनेक्टिभिटी बढाएर यो क्षेत्रमा समृद्धि ल्याउन हाम्रो सहकार्य अझै बढी जरुरी भएर आएको छ ।’


काठमाडौंमा सातै देशका कार्यकारी प्रमुख
चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री वाजेद र थाइल्यान्डका प्रधानमन्त्री ओ चा बिहीबार काठमाडौं आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ वाङचुक भने बुधबार काठमाडौं आएका थिए ।

श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनीहरू सबैसँग सामूहिक भेट गर्दै दिवाभोज दिएकी थिइन् । दिवाभोजलगत्तै सोल्टी होटल पुगेका उनीहरूले शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्रीका लागि २२ मिनेट र अन्य राष्ट्रका कार्यकारी प्रमुखका लागि १५/१५ मिनेटको समय छुटयाइएको थियो ।


सम्मेलनमा सम्बोधनलगत्तै उनीहरू बौद्धस्थित हायात होटल पुगेका थिए । त्यहाँ उनीहरूका लागि प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गरेका थिए । भोजमा नेपालस्थित कूटनीतिक नियोगका उच्च अधिकारीहरू, परराष्ट्रविदलगायत सहभागी थिए ।

कसले के भने?
बिमस्टेक सार्कको विकल्प होइन, यी दुई संगठनले एकअर्कालाई परिपूरण गर्न सक्छन्
– केपी ओली
प्रधानमन्त्री, नेपाल


सातै देश सदियौंदेखि सभ्यता, इतिहास, कला, भाषा, खानपान र साझा संस्कृतिका अटुट बन्धनले जोडिएका छौं
– नरेन्द्र मोदी
प्रधानमन्त्री, भारत

बिमस्टेकलाई द्विपक्षीय, बहुपक्षीय र क्षेत्रीय हिसाबले अगाडि बढाउन जरुरी छ
– शेख हसिना
प्रधानमन्त्री, बंगलादेश

सहकार्यको आदानप्रदान र कनेक्टिभिटी वृद्धिले यो क्षेत्रको विकासलाई उच्च बिन्दुमा पुर्‍याउनुपर्छ
– मैत्रीपाला सिरिसेना
राष्ट्रपति, श्रीलंका

दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीच बढ्दो विश्वव्यापी चासोअनुसारै रणनीतिक सेतु कायम गर्न बिमस्टेक विकास भएको छ
– प्रयुत चान–ओ–चा
प्रधानमन्त्री, थाइल्यान्ड

बिमस्टेक राष्ट्रबीच माग र आपूर्तिको खाडल पुर्न हामीले ऊर्जाको सहकार्य र व्यापार गर्न जरुरी छ
– विन मिन्ट
राष्ट्रपति, म्यानमार

दुई दशकमा हाम्रो साझा प्रयासले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा
सकारात्मक उपलब्धि गरेको छ
– छिरिङ वाङचुक
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष, भुटान

प्रकाशित : भाद्र १५, २०७५ ०७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT