१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सभापति निर्वाचन स्थगित

रासस

काठमाडौँ — सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

सभापति निर्वाचन स्थगित

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा शुक्रबार जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम रहेको थियो ।


प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन् ।


राष्ट्रियसभा- सभापति निर्विरोध


राष्ट्रियसभाअन्तर्गतका चारमध्ये तीन विषयगत सभापतिको बुधबार निर्विरोध चयन भएको थियो । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिडारी निर्विरोध निर्वाचित भएका हुन् ।


दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने बताइएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?