२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रक्सौल–काठमाडाैं विद्युतीय रेलमार्ग : भारतले सम्भाव्यता अध्ययन गर्ने

कृष्ण आचार्य

काठमाडौँ — रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन (प्रिलिमिनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) भारतले गरिदिने समझदारी भएको छ । 

रक्सौल–काठमाडाैं विद्युतीय रेलमार्ग : भारतले सम्भाव्यता अध्ययन गर्ने

प्रधानमन्त्री केपी ओली र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा नेपाल आएका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी (एमओयू) भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले हस्ताक्षर गरको एमओयू दुई प्रधानमन्त्रीले एक आपसमा हस्तान्तरण गरेका छन् ।

समझदारी अनुसार भारत सरकारको लगानी रहेको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले रेलवे अध्ययन गर्नेछ । यसबारे नेपालको भौतिक मन्त्रालय, रेलवे विभागसहितका अधिकारीहरुसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता समेत गरिसकेका छन् । ‘अध्ययनका लागि कम्पनीका अध्यक्ष सञ्जय गुप्तासहित ४ जना अधिकारीहरु र हामीबीच वार्ता भइसकेको छ,’ रेलवे विभागका महानिर्देशक अनन्त आचार्यले भने, ‘आगामी ४ महिनामा अध्ययन सक्ने योजना छ ।’ भारतले गर्ने अध्ययन लागत अनुदानअन्तर्गत हो ।

विभागका अनुसार यो अध्ययनका लागि भारतको रेल मन्त्रालयले पहिले नै उक्त कम्पनी छनोट गरिसकेको थियो । एमओयूमा हस्ताक्षर हुन बाँकी नै रहेकाले काम भने सुरु गरेको थिएन ।

उक्त कम्पनीले अध्ययन कार्य पूरा गरिसकेपछि अन्य अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला हुनेछन् । ‘प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हुँदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको हो,’ विभागका महानिर्देशक आचार्यले भने । उनका अनुसार यो रेलमार्ग करिब १ सय २० किलोमिटर दूरीको हुनेछ ।

प्रकाशित : भाद्र १५, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?