बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्छ : ओली

‘कार्यक्रमको धपेडी र वर्षाका कारण उपत्यकाबाहिर लैजान सकिएन’
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार समापन गर्दै ओलीले प्रतिबद्धता कार्यान्वयनले मात्र यस क्षेत्रका जनताले लाभ हासिल गर्ने उल्लेख गरे ।

‘सबै सरोकारवाला सरकार, निजी क्षेत्र र नागरिक समाजले क्षेत्रीय प्रगतिका लागि भूमिका खेल्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Yamaha

ओलीले बिमस्टेकलाई बलियो बनाउन चौथो सम्मेलनले ठूलो भूमिका खेलेको बताए । सम्मेलनबाट पारित भएका विषयले कनेक्टिभिटी, व्यापार र लगानी, ऊर्जा र पर्यटनलगायत उद्देश्य हासिल गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘गरिबी निवारणको प्रतिबद्धता पनि अब व्यवहारमा देखिनुपर्छ,’ उनले भने । उनले प्रतिबद्धता कार्यान्वयनमा चुनौती रहेको तर सबैले समन्वयात्मक ढंगले काम गरे सफलता हासिल हुने बताए । सचिवालय गठन र चार्टर पारित भएकाले अब बिमस्टेकले बलियो संस्थागत स्वरुप लिएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले बिमस्टेकको नयाँ अध्यक्ष श्रीलंकालाई बधाई दिँदै क्षेत्रीय प्रगतिका लागि नेपालले बिमस्टेकका उद्देश्य कार्यान्वयन गर्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए । चार वर्षदेखि बिमस्टेक अध्यक्षको भूमिका निर्वाह गर्ने क्रममा अन्य मुलुकले नेपाललाई गरेको सहयोगप्रति उनले आभार प्रकट गरे ।

समापन मतव्यको अन्त्यमा उनले कार्यक्रमको धपेडी र वर्षाका कारण विदेशी पाहुनालाई काठमाडौं उपत्यका र उपत्यकाबाहिर भ्रमण गराउन नसकेकोमा दु:खेसो व्यक्त गरे । उनले पुन: भ्रमणमा आउन बिमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई निमन्त्रणासमेत दिए । ‘नेपाल हिमालको भूमि हो, हाम्रा हिमाल हिराभन्दा बढी प्राकृतिक देखिन्छन्, यी अमूल्य चिज हेर्नका लागि पुन: आमन्त्रण गर्छु,’ ओलीले भने ।

प्रकाशित : भाद्र १५, २०७५ २०:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जमिन फाटेपछि ४ घर भत्किए, १४ घर धरापमा

जनकराज सापकाेटा

काठमाडौँ — बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । शाहीले घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहाँ मानवीय क्षति भने नभएको बताए ।

स्थानीय विजेन्द्र बुढाथोकीका अनुसार उक्त ठाउँमा चार/पाँच दिनदेखि नै जमिनमा चिरा पर्न थालेको थियो । बिहीबार भूगर्भविदको टोली आएर चिरा परेको ठाउँ अवलोकन गरेको थियो । पानी बढी पर्न थालेपछि चिरा बढै गएको र घर भत्कन थालेकोसमेत बुढाथोकीले बताए । चिरा परेको ठाउँमा पहिला डाँडो थियो । खारेर प्लटिङ गरिएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने अनुमान भूगर्भविदले गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ २०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT