प्रदूषण खेप्दै लुम्बिनी

वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीअनुसार गत अक्टोबरदेखि फेबु्रअरीसम्म लुम्बिनीको प्रदूषण काठमाडौंभन्दा डेढ गुणा बढी थियो । प्रदूषणकै कारण लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्ने महत्त्वपूर्ण सूचक अशोकस्तम्भ मक्किन थालेको छ ।
दीपेन्द्र बडुवाल, माधव ढुंगाना

लुम्बिनी (रूपन्देही) — विश्वभरका बौद्धमार्गी बुद्ध जन्मस्थल लुम्बिनी टेक्न लालायित छन् । विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्ने चाहना राख्छन् । सहरको कोलाहलबाट छुटकारा पाउन आउनेहरू पनि धेरै छन् ।

भैरहवा–लुम्बिनी करिडोरस्थित एक सिमेन्ट उद्योगबाट निस्किएको धूवाँ । तस्बिर : कान्तिपुर

शान्तिको खोजी गर्दै मानिस आउने लुम्बिनी क्षेत्र आफैं भने प्रदूषणले ग्रस्त छ । कानै टट्टाउने मोटरसाइकल र गाडीले गर्ने ध्वनि प्रदूषण एकातिर छ भने भैरहवा–लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले गर्ने वायु प्रदूषण अर्कातिर । २१ किलोमिटर लामो भैरहवा–लुम्बिनी सडकको दायाँ–बाँया १२ वटा सिमेन्ट उद्योग छन् । यीबाहेक पनि वायू दूषित बनाउने ४० भन्दा बढी विभिन्न उद्योग छन् ।

वातावरण विभागले गरेको वातावरणीय प्रदूषण मापन सर्वेक्षणमा यस वर्ष पनि लुम्बिनी प्रदूषित सहरमा परेको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीअनुसार गत अक्टोबरदेखि फेबु्रअरीसम्म काठमाडौंभन्दा लुम्बिनीको प्रदूषण डेढ गुणा बढी थियो । ‘अक्टोबरदेखि फेबु्रअरी वायु प्रदूषणको ‘पिक सिजन’ हो । यो समयमा लुम्बिनी देशकै सबैभन्दा बढी प्रदूषित देखिन्छ,’ वातावरण विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले भने । उनका अनुसार करिडोरका नेपाली सिमेन्ट उद्योग र भारतीय सीमाबाट बहने वायु प्रदूषणका मुख्य कारक हुन् ।

Yamaha

वातावरण विभागले वायु प्रदूषण अवस्था परीक्षण र अनुगमनका लागि काठमाडौंबाहेक चितवनको सौराहा, पोखरा र लुम्बिनीमा स्टेसन स्थापना गरेको छ । यी स्टेसनले दैनिक घण्टा–घण्टाको प्रदूषण अवस्था बताउने गरेका छन् । यसको रिपोर्टले पनि उद्योगहरूको उत्पादन बढी हुने कात्तिकदेखि फागुनसम्म प्रदूषण बढेको देखिन्छ । यी उद्योग दिनरात सञ्चालन हुन्छन् ।

प्रदूषणको असर मानव स्वास्थ्य, पर्यावरणसाथै पुरातात्विक सम्पदामा पनि पर्ने गरेको छ ।

तीन वर्षअघि लुम्बिनीमा भएको पहिलो बौद्ध सम्मेलनले आसपास बढेको प्रदूषणले पुरातात्त्विक सम्पदा खतरामा परेको निष्कर्ष निकालेको थियो । तर, सरकारले नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन ।

अशोकस्तम्भ मक्किँदै
लुम्बिनी विकास कोषका अनुसार तीन वर्षअघि प्रदूषणले अशोक स्तम्भमा पारेको प्रभाव अध्ययन भएको थियो । युनेस्कोबाट आएका वैज्ञानिकले अध्ययन गर्दा स्तम्भमा सिमेन्टका कण टाँसिएको र सरसफाइ गर्दा हानि पुग्ने देखिएको थियो ।

अशोक स्तम्भ लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्ने महत्त्वपूर्ण संकेत हो । २०६९ सालमा युनेस्कोले गरेको अध्ययन प्रतिवेदनमा करिडोरका उद्योगले रसायन मिसिएको पानी प्रशोधन नगरी खेतमा फ्याँक्ने गरेको औंल्याएको थियो । उक्त रसायन खानेपानीमा मिसिए छालाको रोग र क्यान्सर हुने उल्लेख छ ।

लुम्बिनी विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्ले ठूला उद्योगले कच्चा पदार्थ अव्यवस्थित ढंगले ल्याउँदा प्रदूषण बढ्दै गएको बताउँछन् । ‘अधिकांश गाडीमा ल्याइने कच्चा पदार्थ (कोइलाको धूलो, जिप्सन पाउडर) नछोपी ल्याएर खसालिन्छ,’ उनले भने । यसले गर्दा कार्बोनिक, सल्फोरिक एसिड हावामा मिसिने र वर्षाको पानीसँगै जमिनमा झर्दा सम्पदा नष्ट भइरहेको काफ्लेले बताए ।

पुरातात्विक सम्पदा जोगाउन इटालीका वैज्ञानिक तथा संरक्षणकर्मीको टोलीले बर्सेनि अशोक स्तम्भ र आसपासका भग्नावशेषमा धूलोका कण सफा गर्दै आएको छ । ५ वर्षयता वातावरण विभाग र इसिमोडको साझेदारीमा यहाँ सानोभन्दा साना धूलोका कण मापन गर्न यन्त्र राखिएको छ ।

प्रदूषण बढाउनेमा लुम्बिनी करिडोरमा खुलेका सिमेन्टबाहेक छड, कागज र इट्टा उद्योग पनि छन् । अधिकांश उद्योगले सरकारले तयार पारेको वातावरण प्रदूषण नियन्त्रण निर्देशिकाको मापदण्ड नमानेको स्थानीयको गुनासो छ ।

सीमावर्ती भारतीय उद्योगको प्रदूषित हावा पनि यहाँ आउँछ । लुम्बिनी विश्वविद्यालयकै प्राध्यापक गीतु गिरी वातावरणीय प्रदूषण मापदण्ड मिचेर उद्योग स्थापना गरिएकाले वायु र ध्वनि प्रदुषण बढेको बताउँछन् । ‘नक्साभन्दा बेग्लै संरचना बनिरहेका छन्,’ उनी भन्छन्, ‘सरकारले यस्ता कुरामा आँखा चिम्लिने गरेको छ ।’ ५ वर्षदेखि थप उद्योग खोल्न नदिन आवाज उठाए पनि खुल्ने क्रम नरोकिएको उनी गुनासो गर्छन् ।

प्रदूषणले पुरातात्त्विक सम्पदामै असर पुर्‍याउन थालेपछि युनेस्कोले चासो दिन थालेको हो । सन् २०१३ देखि प्रदूषण, यसले पुर्‍याएका असर र न्यूनीकरणका लागि वार्षिक रूपमा युनेस्कोका प्रतिनिधिसहितको बैठक बस्न थालेको छ ।

चार महिनाअघि भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्रमा पुरातात्त्विक क्षेत्रमा प्रदूषण नियन्त्रण गर्न पहल गर्ने उल्लेख छ । ‘घोषणापत्रमा ठ्याक्कै के गर्ने भन्नेचाहिँ छैन,’ लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने ।

प्रदूषण र त्यसले पारेका असरसम्बन्धी प्रतिवेदनबारे संघीय सरकारको ध्यानाकर्षण गराउन कोषका तर्फबाट पनि पहल हुन सकेको छैन । ‘विभिन्न प्रतिवेदनले लुम्बिनी क्षेत्र प्रदूषित भन्ने देखाएको छ,’ कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले भने, ‘तर प्रभावकारी नियन्त्रण कसरी गर्ने भन्ने अन्योल छ ।’

मापदण्ड अपूरो
२०६४ मा सचिवस्तरीय बैठकले लुम्बिनीको पर्खालबाट १५ किमि हवाई दूरी र भैरहवा–लुम्बिनी सडक खण्डको ८ सय मिटरभित्र कार्बन उत्सर्जन गर्ने कुनै पनि कारखाना तथा उद्योग स्थापना गर्न नदिने निर्णय गरेको थियो ।

तर, त्यो निर्णय लुम्बिनीका लागि मात्र अनिवार्य गरिएको छ । यत्तिकै महत्त्वका अन्य बौद्धस्थल आसपास उद्योग खोल्न अवरोध छैन । तिलौराकोट, रामग्राम, देवदहलगायतका पुरातात्त्विक स्थलका बारेमा कुनै मापदण्ड बनेको छैन ।

वातावरण मन्त्रालयले यहाँका सिमेन्ट उद्योगमा मापदण्ड कायम गरेर कार्यान्वयनका लागि दबाब दिइरहेको छ । मन्त्रालयको अनुगमनले धूलो नियन्त्रण प्रविधि जडान गर्न उद्योगहरूलाई दबाब परेको छ । पश्चिम नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषि अग्रवाल प्रदूषण नियन्त्रण प्रविधि जडान नगरे उद्योग बन्द हुने बताउँछन् । ‘धेरैले धूलो सोस्ने मेसिन जडान गरिसकेका छौं,’ अग्रवालले भने, ‘मापदण्ड पूरा नगर्नेलाई घचघच्याइरहेका छौं ।’

लुम्बिनी आसपास प्रदूषण गराउनेमा सिमेन्टपछि इँटा उद्योग हुन् । लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजय गुप्ता पनि वातावरण मन्त्रालयसित समन्वय गरेर प्रदूषण नहुने चिम्नी प्रयोगमा जोड दिँदै आएको दाबी गर्छन् । ‘इँटा पकाउने नाममा वातावरण विनाश गर्ने हाम्रो चाहना होइन,’ उनले भने, ‘कम हानि पुर्‍याउने प्रविधि उपलब्ध गराउनुपर्‍यो, सहकार्य गर्न तयार छौं ।’

लुम्बिनीस्थित राजकीय बौद्ध विहारका भिक्षु सागर धम्म भने उद्योगको प्रदूषण नियन्त्रण गरेर नपुग्ने बताउँछन् । ‘उपयुक्त स्थान खोजेर उद्योग स्थानान्तरण नै गर्नुपर्छ,’ उनी भन्छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तिनाउ किनारलाई करिडोरका रूपमा विकास गरेर उद्योग स्थानान्तरण गर्न सकिने बताउँदै आएका छन् । तर, उद्योगी यसमा सहमत छैनन् ।

उद्योग स्थापनाको योजना निर्माणदेखि लगानी सुरु हुने भएकाले नयाँ ठाउँमा स्थानान्तरण सम्भव नभएको उनीहरूको तर्क छ । ‘वर्षौं दु:ख गरेर उद्योग स्थापना गरेका हौं, करोडौं खर्च भइसकेको छ,’ सिमेन्ट उत्पादक संघ अध्यक्ष अग्रवालले भने, ‘बजारमा भएको लगानी कसले फिर्ता गर्छ ?’ यहाँका सिमेन्ट उद्योगमा २५ अर्ब लगानी भएको उनी बताउँछन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष कुलप्रसाद न्यौपाने लुम्बिनीजस्तो गौरवको सम्पदा क्षेत्रमा उद्योग सञ्चालन स्वीकृति दिनु नै कमजोरी भएको बताउँछन् । ‘सरकारी कर्मचारीको अदूरदर्शिताले गर्दा उद्योग सञ्चालन भएका हुन्,’ उनले भने, ‘स्थानान्तरण गर्ने हो भने सरकारले सम्पूर्ण खर्च बेहोर्नुपर्छ ।’

प्रकाशित : भाद्र १६, २०७५ ०७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मौलिकता मासेर संरचना

गिरुप्रसाद भण्डारी, अानन्द गौतम, डीअार पन्त

काठमाडौँ — धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

डडेलधुरास्थित उग्रतारा शक्तिपीठ । मापदण्डविपरीत कंक्रिट संरचना बनाइएपछि युनेस्कोले यो मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाएको थियो । तस्बिर : डीआर

यस्तै निर्माणका कारण युनेस्कोले सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाएको थियो । प्यूठानको स्वर्गद्वारी र ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत आधुनिक भौतिक संरचना निर्माण गरिएका छन् ।

स्वर्गद्वारी मन्दिर वरपर संरचना बनाइँदा पुरातात्त्विक महत्त्व तथा मौलिकतालाई ध्यान दिइएको छैन । धरमपानी बजारदेखि मुख्य मन्दिरसम्म पुग्दा यो स्थल १ सय २० वर्ष पहिले निर्माण भएको अनुभूति नै हुँदैन । बाटोमा पक्की सिँढी छ । फलामे रेलिङ लगाइएको छ । मन्दिर नजिकै सिमेन्टका भवन ठड्याइएका छन् । यस्ता संरचनाको निर्माण रोक्न स्थानीय तहले पनि ध्यान दिएको छैन ।

स्वर्गद्वारी आश्रमका प्रशासकीय प्रमुख हरि अधिकारी संरचना निर्माणमा गल्ती भएको स्विकार्छन् । ‘हामीले बनाएका संरचनाले आश्रमलाई नै कुरूप बनाएका छन् । यो ठाउँको ऐतिहासिक महत्त्व भुल्दा यस्तो भयो,’ उनले भने, ‘बेलैमा ध्यान दिएको भए बाटोमा काठका कलात्मक रेलिङ हाल्न सक्ने रहेछौं ।’ आश्रमभित्रको पाहुना घर र पानीपोखरी पनि सिमेन्टले बनाइएको छ । जबकि पुरातात्त्विक क्षेत्रमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाइँदैन ।

आश्रमका मुख्य पुजारी उमेश रेग्मी अब बन्ने संरचनामा ध्यान दिइने बताउँछन् । ‘यस क्षेत्रका कुटी पुरानै शैलीमा मर्मत गर्ने सोच छ,’ उनले भने । स्थानीय विकास मन्त्रालयको सहयोगमा आश्रम परिसरमै अत्याधुनिक धर्मशाला निर्माण गर्न खोजिएको थियो । तर, आश्रमले नमानेपछि अहिले धरमपानी बजार नजिक बनाइँदै छ ।

प्रशासकीय प्रमुख अधिकारीका अनुसार यज्ञशाला र नृत्य घर बनाउन पुरातत्त्व विभागको सल्लाहमा योजना बनाइएको छ । २०६४ मा तत्कालीन भौतिक योजना मन्त्रालयले स्वर्गद्वारीको भौतिक निर्माण गुरुयोजना तयार पारेको थियो । तर सरकारले बजेट नछुट्याएपछि गुरुयोजना अलपत्र छ ।

सिमेन्टको घेराबन्दीमा पाथीभरा
पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा पनि सिमेन्टका संरचनाको घेराबन्दीमा परेको छ । मौलिक स्वरूप बिग्रँदो छ । सय वर्षअघि उत्पत्ति भएको मानिने देवीको ढुंगे मूर्तिबाहेक सबैजसो संरचना फेरिइसकेका छन् । प्रवेशद्वार र आँगन सिमेन्टको बनाइएको छ ।

ढुंगा बिछ्याउन सकिने प्रांगण फराकिलो बनाउन सिमेन्टलगायत निर्माण सामग्री प्रयोग गरिएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका निवर्तमान उपाध्यक्ष रणबहादुर कार्की भने गुरुयोजनाअनुसार नै मन्दिर परिसर व्यवस्थापन गरिएको दाबी गर्छन् । ‘भक्तजनको ठेलमठेल हुन्थ्यो, बलि दिने ठाउँ अव्यवस्थित थियो,’ उनी भन्छन्, ‘मन्दिरलाई व्यवस्थित गरी फराकिलो बनाएका हौं ।’ डाँडामा रहेको धर्मशाला भत्काएर मन्दिर परिसरबाहिर बनाइएको छ ।

फेरिएन उग्रतारा
डडेल्धुराको उग्रतारा मन्दिर क्षेत्र कुनै बेला युनेस्कोको विश्व सम्पदा सूचीमा थियो । ढुंगैढुंगा कुँदिएको कलात्मक मन्दिर २०३४ सालमा विश्व सम्पदामा परेको थियो । तर, २०५० मा पुनर्निर्माणका क्रममा सिमेन्ट प्रयोग गरी मन्दिरको पुरानो स्वरूप नै बदलियो । यसको चार वर्षपछि युनेस्कोले उग्रतारालाई विश्व सम्पदा सूचीबाट हटायो ।

मन्दिरमा अहिले प्राचीन अवशेष बाँकै छैन । हवन कुण्ड नामेट भइसकेको छ । उग्रतारा मन्दिर निर्माण डोटी राज्यका तत्कालीन राजा नागी मल्लले एक हजार वर्षअघि गराएको लोककाव्यहरूमा उल्लेख छ । इतिहासविद् योगी नरहरिनाथले ‘सुदूरपश्चिम दिग्दर्शन’ मा उग्रतारा मन्दिर १३ सय वर्ष पुरानो भएको उल्लेख गरेका छन् ।

मन्दिरको चारैतिर सिमेन्टका डेढ दर्जन संरचना छन् । २ वटा धर्मशाला, वेद विद्यालय, विवाह मण्डप, प्रवचन भवन, भजनकीर्तन हलमा आधुनिक निर्माण सामग्री प्रयोग गरिएका छन् । मन्दिरपछाडिको जंगललाई पिकनिक क्षेत्र बनाइएको छ ।

प्रवेशद्वारदेखि नै सिमेन्टका संरचना देख्न सकिन्छ । पिच सडक छ । सडकका दुवैतिर राखिएका ऋषिमुनिका मूर्तिले मन्दिर क्षेत्रलाई आकर्षक बनाए पनि प्राचीन मौलिकता बाँकी देखिँदैन । ‘उग्रतारा मन्दिर क्षेत्र पूरै आधुनिक भइसक्यो,’ स्थानीय भोजराज भट्टराई भन्छन्, ‘प्राचीन शैलीको झलक अब बाँकी छैन ।’

पुरातात्त्विक महत्त्वका विषयमा जानकारहरूले पनि चासो नदिएकाले मन्दिरले मौलिकता गुमाएको स्थानीय बताउँछन् । ‘विश्व सम्पदाबाट हटाए पनि कसैले सोधखोज गरेन,’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर साँकीले भने, ‘त्यसैले हामीले आवश्यकताअनुसार संरचना बनाउन थालेका हौं ।’

प्रकाशित : भाद्र १६, २०७५ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT