१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मौलिकता मासेर संरचना

काठमाडौँ — धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

मौलिकता मासेर संरचना

यस्तै निर्माणका कारण युनेस्कोले सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाएको थियो । प्यूठानको स्वर्गद्वारी र ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत आधुनिक भौतिक संरचना निर्माण गरिएका छन् ।

स्वर्गद्वारी मन्दिर वरपर संरचना बनाइँदा पुरातात्त्विक महत्त्व तथा मौलिकतालाई ध्यान दिइएको छैन । धरमपानी बजारदेखि मुख्य मन्दिरसम्म पुग्दा यो स्थल १ सय २० वर्ष पहिले निर्माण भएको अनुभूति नै हुँदैन । बाटोमा पक्की सिँढी छ । फलामे रेलिङ लगाइएको छ । मन्दिर नजिकै सिमेन्टका भवन ठड्याइएका छन् । यस्ता संरचनाको निर्माण रोक्न स्थानीय तहले पनि ध्यान दिएको छैन ।

स्वर्गद्वारी आश्रमका प्रशासकीय प्रमुख हरि अधिकारी संरचना निर्माणमा गल्ती भएको स्विकार्छन् । ‘हामीले बनाएका संरचनाले आश्रमलाई नै कुरूप बनाएका छन् । यो ठाउँको ऐतिहासिक महत्त्व भुल्दा यस्तो भयो,’ उनले भने, ‘बेलैमा ध्यान दिएको भए बाटोमा काठका कलात्मक रेलिङ हाल्न सक्ने रहेछौं ।’ आश्रमभित्रको पाहुना घर र पानीपोखरी पनि सिमेन्टले बनाइएको छ । जबकि पुरातात्त्विक क्षेत्रमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाइँदैन ।

आश्रमका मुख्य पुजारी उमेश रेग्मी अब बन्ने संरचनामा ध्यान दिइने बताउँछन् । ‘यस क्षेत्रका कुटी पुरानै शैलीमा मर्मत गर्ने सोच छ,’ उनले भने । स्थानीय विकास मन्त्रालयको सहयोगमा आश्रम परिसरमै अत्याधुनिक धर्मशाला निर्माण गर्न खोजिएको थियो । तर, आश्रमले नमानेपछि अहिले धरमपानी बजार नजिक बनाइँदै छ ।

प्रशासकीय प्रमुख अधिकारीका अनुसार यज्ञशाला र नृत्य घर बनाउन पुरातत्त्व विभागको सल्लाहमा योजना बनाइएको छ । २०६४ मा तत्कालीन भौतिक योजना मन्त्रालयले स्वर्गद्वारीको भौतिक निर्माण गुरुयोजना तयार पारेको थियो । तर सरकारले बजेट नछुट्याएपछि गुरुयोजना अलपत्र छ ।

सिमेन्टको घेराबन्दीमा पाथीभरा
पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा पनि सिमेन्टका संरचनाको घेराबन्दीमा परेको छ । मौलिक स्वरूप बिग्रँदो छ । सय वर्षअघि उत्पत्ति भएको मानिने देवीको ढुंगे मूर्तिबाहेक सबैजसो संरचना फेरिइसकेका छन् । प्रवेशद्वार र आँगन सिमेन्टको बनाइएको छ ।

ढुंगा बिछ्याउन सकिने प्रांगण फराकिलो बनाउन सिमेन्टलगायत निर्माण सामग्री प्रयोग गरिएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका निवर्तमान उपाध्यक्ष रणबहादुर कार्की भने गुरुयोजनाअनुसार नै मन्दिर परिसर व्यवस्थापन गरिएको दाबी गर्छन् । ‘भक्तजनको ठेलमठेल हुन्थ्यो, बलि दिने ठाउँ अव्यवस्थित थियो,’ उनी भन्छन्, ‘मन्दिरलाई व्यवस्थित गरी फराकिलो बनाएका हौं ।’ डाँडामा रहेको धर्मशाला भत्काएर मन्दिर परिसरबाहिर बनाइएको छ ।

फेरिएन उग्रतारा
डडेल्धुराको उग्रतारा मन्दिर क्षेत्र कुनै बेला युनेस्कोको विश्व सम्पदा सूचीमा थियो । ढुंगैढुंगा कुँदिएको कलात्मक मन्दिर २०३४ सालमा विश्व सम्पदामा परेको थियो । तर, २०५० मा पुनर्निर्माणका क्रममा सिमेन्ट प्रयोग गरी मन्दिरको पुरानो स्वरूप नै बदलियो । यसको चार वर्षपछि युनेस्कोले उग्रतारालाई विश्व सम्पदा सूचीबाट हटायो ।

मन्दिरमा अहिले प्राचीन अवशेष बाँकै छैन । हवन कुण्ड नामेट भइसकेको छ । उग्रतारा मन्दिर निर्माण डोटी राज्यका तत्कालीन राजा नागी मल्लले एक हजार वर्षअघि गराएको लोककाव्यहरूमा उल्लेख छ । इतिहासविद् योगी नरहरिनाथले ‘सुदूरपश्चिम दिग्दर्शन’ मा उग्रतारा मन्दिर १३ सय वर्ष पुरानो भएको उल्लेख गरेका छन् ।

मन्दिरको चारैतिर सिमेन्टका डेढ दर्जन संरचना छन् । २ वटा धर्मशाला, वेद विद्यालय, विवाह मण्डप, प्रवचन भवन, भजनकीर्तन हलमा आधुनिक निर्माण सामग्री प्रयोग गरिएका छन् । मन्दिरपछाडिको जंगललाई पिकनिक क्षेत्र बनाइएको छ ।

प्रवेशद्वारदेखि नै सिमेन्टका संरचना देख्न सकिन्छ । पिच सडक छ । सडकका दुवैतिर राखिएका ऋषिमुनिका मूर्तिले मन्दिर क्षेत्रलाई आकर्षक बनाए पनि प्राचीन मौलिकता बाँकी देखिँदैन । ‘उग्रतारा मन्दिर क्षेत्र पूरै आधुनिक भइसक्यो,’ स्थानीय भोजराज भट्टराई भन्छन्, ‘प्राचीन शैलीको झलक अब बाँकी छैन ।’

पुरातात्त्विक महत्त्वका विषयमा जानकारहरूले पनि चासो नदिएकाले मन्दिरले मौलिकता गुमाएको स्थानीय बताउँछन् । ‘विश्व सम्पदाबाट हटाए पनि कसैले सोधखोज गरेन,’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर साँकीले भने, ‘त्यसैले हामीले आवश्यकताअनुसार संरचना बनाउन थालेका हौं ।’

प्रकाशित : भाद्र १६, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?