कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अधुरा दुई अनुसन्धान

पूर्वराजदूत झाको हत्या र सांसद पाललाई बन्दुक देखाइएको घटनामा प्रहरी अनुसन्धान लम्बिएको लम्बियै
जनकराज सापकोटा

काठमाडौँ — प्रहरी अनुसन्धान नटुंगिँदा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण रहस्यमै छ । ८० वर्षीय झाको भदौ ४ मा थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

अधुरा दुई अनुसन्धान

त्यसलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो । घटनाको दुई साता हुनै लाग्दा पनि प्रहरी झा हत्याको कारणबारे निष्कर्षमा पुग्न सकेको छैन ।

महाशाखाले झाको घरमा काम गर्ने माली, भान्से र सुरक्षागार्डलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरूबाट घटनाबारे ठोस सूचना पाउन सकेको छैन । महाशाखाका एक अनुसन्धान अधिकारीले घटना थप रहस्यमयी बन्दै गएको र कारणबारे प्रहरीले अझै ठोस सबुत फेला पार्न नसकेको बताए ।

महाशाखाले घटनास्थलबाट बरामद चक्कुबाट फिंगरप्रिन्ट प्राप्त गर्न सकिने र त्यसैका आधारमा केही निष्कर्षमा पुग्न सकिने आशा गरेको थियो । उक्त चक्कु जाँचका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । घटनास्थलबाहिर दुईवटा पन्जा फेला पारेपछि भने प्रहरी झस्किएको थियो । एक अनुसन्धान अधिकारीका अनुसार अपराधीले पन्जा लगाएर चक्कु प्रहार गरेको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तो भए चक्कुमा फिंगरप्रिन्ट भेटिँदैन ।

प्रहरीका अनुसार माली र सुरक्षागार्डमाथि प्रारम्भिक शंका गरिए पनि उनीहरूको भूमिका प्रस्ट भइसकेको छैन । अपराधको उद्देश्य खुट्याउन नसकिएकाले पनि अपराधी पहिचानमा अप्ठ्यारो भइरहेको महाशाखाको दाबी छ । प्रहरीले पक्राउ गरिएका तीनजनाबाहेक अन्य केही व्यक्तिसँगसमेत बयान लिए पनि नयाँ थप आधार फेला पारिसकेको छैन ।

महाशाखाले झा परिवारले घटनाको केही समयअघि बुढानीलकण्ठ क्षेत्रमा रहेको जग्गा बेचेको सूचना पाएपछि पैसाका कारण घटना भएको हो कि भनेर जान्ने प्रयास गरेको थियो । एक अनुसन्धान अधिकारीका अनुसार उक्त जग्गा बेचेको रकम र हत्या जोड्न मिल्ने आधार नभेटिएपछि त्यतातिर अनुसन्धान सोझिएन ।

पछिल्ला केही दिनयता उक्त घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरू नै बिमस्टेक सम्मेलनको सुरक्षा र व्यवस्थापनमा खटिएकाले अनुसन्धान प्रभावित बनेको छ । कान्तिपुरसँगको कुराकानीका एक अधिकारीले आफू तीन–चार दिनयता बिमस्टेक सुरक्षामा खटिएका कारण अनुसन्धान कहाँ पुग्यो र के हुँदै छ भन्ने थाहा नभएको बताए ।

महाशाखाले घटनास्थल कभरेजमा सीसीटीभी छ कि भनेरसमेत अध्ययन गरेको थियो । तर अनुसन्धानलाई सहयोग पुग्ने खालको सीसीटीभी फुटेज प्राप्त गर्न सकेको छैन । एक प्रहरी अधिकारीले भने, ‘भेटिएका सीसीटीभी फुटेज पनि घर क्षेत्रभन्दा बाहिरको छ । रातिको फुटेज राम्रो त छैन नै, त्यसबाट केही सुुराक मिल्न सकेन ।’

प्रहरीले गम्भीरताका साथ गरेको भनिए पनि निष्कर्षमा पुग्न नसकेको अर्को अनुसन्धान हो– नेकपाकी सांसद निरु पाललाई बन्दुक देखाएर लुटिएको भनिएको घटना । साउन १५ गते राति ८ बजे बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला पाललाई अज्ञात बन्दुकधारीले पेस्तोल देखाएर धम्काएको र मोबाइल लुटेको घटना सार्वजनिक भएको थियो । त्यसबेला प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे संसदीय सुनवाइ समितिमा छलफल चलिरहेको थियो ।

छलफल चलिरहेकै बेला समितिकी सदस्यलाई बन्दुक देखाइएको भन्दै प्रहरी प्रधान कार्यालयले समितिका सबै सदस्यको सुरक्षामा प्रहरी खटायो । घटनाको भोलिपल्टै तत्कालीन प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेल पालको घर पुगेका थिए ।

प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धानमा ८० जना सादा पोसाकका प्रहरी खटिएको थियो । प्रहरीले भोलिपल्टै बानेश्वर क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । एक साताभित्रै परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा घटनाबारे विस्तृत छानबिन गर्न समिति गठन गरियो ।

समितिका प्रमुख एसपी जोशीले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । तर अनुसन्धान कहाँ पुग्यो र के प्रगति भयो भन्नेबारे उनले बताउन चाहेनन् । उनले यत्ति भने, ‘अनुसन्धान जारी छ । निष्कर्षमा पुगेको छैन ।’

अनुसन्धान अधिकारीका अनुसार घटनाबारे सांसद पालले दिएको बयान र प्रहरी अनुसन्धानबाट फेला परेका तथ्यहरू बाझिएका छन् । प्रहरीले उनको स्विच अफ रहेको भनिएको मोबाइलको लोकेसनसमेत नेपाल टेलिकमबाट झिकाएर हेरेको थियो । ‘मोबाइल लोकेसनको विवरण र सांसद पालले भनेको घटना विवरणबीच केही तारतम्य मिलेको देखिँदैन,’ ती प्रहरी अधिकारीले भने ।

परिसरका अर्का अधिकारी घटनाबारे निष्कर्षमा पुगे पनि यथार्थ सार्वजनिक गर्न प्रहरी हिचकिचाइरहेको बताउँछन् । हाइप्रोफाइल व्यक्तिको केस भएकाले प्रहरीलाई अनुसन्धानबारे बोल्ने कि नबोल्ने भन्ने अप्ठ्यारो परिरहेको उनी बताउँछन् ।

सांसद पाल भने घटनाबारे प्रहरी निष्कर्षमा नपुगेकाले आफूलाई अप्ठ्यारो भइरहेको बताउँछिन् । ‘मैले बारम्बार प्रहरीलाई अनुसन्धान कहाँ पुग्यो भनेर सोधिरहेको छु,’ उनले भनिन्, ‘तर जहिले पनि अनुसन्धान चल्दै छ मात्रै भन्छन्, कहाँ पुग्यो भन्दैनन् ।’ पालले अनुसन्धान नटुंगिएको बारे आफूले गृहमन्त्री र गृह सचिवसँग पनि कुराकानी गरिरहेको बताइन् । उनले भनिन्, ‘अहिले पनि त्यो बाटो हिँड्दा डर लाग्छ, प्रहरीले अनुसन्धान नटुंग्याउँदा लाचार भइयो ।’

प्रकाशित : भाद्र १६, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?