भारतमा पक्राउ परे गुण्डा दावा लामा

काठमाडौँ/भारत — गुण्डागर्दीमा सक्रिय दावा लामा भनिने जितेन्द्र तामाङ पक्राउ परेका छन् । उच्च स्रोतका अनुसार भारतीय प्रहरीले उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट पक्राउ गरेको हो । लामा दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा थिए ।

भारतमा पक्राउ परे गुण्डा दावा लामा

उनी सहित ३ जना टर्मिनलमा बसिरहेको बेला पक्राउ गरिएको हो । तीन जनासँगै रहेपनि भारतीय प्रहरीले २ जनालाई मात्रै पक्राउ गरेका छ ।

पक्राउ परेका दुवै जनालाई एयरपोर्ट नजिकैको दिल्ली पुलिसको थानामा राखिएको छ । उच्च स्रोतका अनुसार लामालाई सुराकीको आधारमा समातिएको हो ।

लामा तरुण दल काभ्रेका कार्यबाहक अध्यक्ष समेत हुन् । लामालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेसको भातृ संगठन तरण दल विरोध गर्दै सकुशल रिहा गर्न माग गरेको छ ।


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीकाे शान्तिनगरमा गोली हानी हत्या भएपछि प्रहरीले दावा लामाको खोजी गरेको थियो । उक्त हत्याकाण्डका मुख्य नाइके भनिएका बुटवलका मनोज पुनसँग दावाको प्रतिस्पर्धा रहेको आधारमा प्रहरीले उनीमाथि शंकाको सुई सोझ्याएको थियो ।


जेठ १५ मा प्रहरी परिसर काठमाडौंले नेपालमा बसेर अन्तराष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगिताको अनलाईन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक अन्जन केसी सहित ६ जना पक्राउ गरेको थियो ।

त्यसलगत्तै महानगरीय अपराध महाशाखाले असार १० मा आइपीएल क्रिकेटको अनलाइन सट्टेबाजीका मुख्य नाइके भनिएका नागराज भनिने नथमल अग्रवाललाई पक्राउ गरेको थियो ।


लामालाई राखिएको दिल्लीस्थित प्रहरी भवन । तस्बिरः सुरेशराज न्यौपाने/कान्तिपुर

यी दुवै घटनामा प्रहरीले अनलाइन सट्टेबाजीमा दावा लामाको समेत संग्लनता रहेको बताएको थियो । उच्च स्रोतका अनुसार प्रहरीले लामालाई यस घटनालगत्तै खोजी गरिरहेको थियो ।


अपराधको संसारमा लामाको नाम नयाँ भने होइन । गुण्डागर्दीको संसारमा परिचित काभ्रेका गणेश लामासँग निकट रहेको काम गरेका दावा पछिल्ला वर्षहरुमा भने आफैले गुण्डा समूह निर्माण गरेका थिए ।


२०७३ चैतमा गौरीघाटको एक जिम क्लबबाट निस्कदै गर्दा लामामाथि गोली प्रहार भएको थियो । घुडाँमुनी गोली लागेर बाँचेका लामा अत्तरखेलमा रहेको मेडिकल कलेजमा उपचार गराएका थिए ।


२०७१ भदौमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पनि लागू औषध बोकेको आरोपमा लामालाई समातेको थियो । त्यसबेला लामामाथि ललितपुरका व्यपारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरेको आरोप लागेको थियो ।

प्रकाशित : भाद्र १६, २०७५ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?