कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपूर्व हतियार सहित दुई जना पक्राउ

अमृता अनमोल

बुटवल — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी भ्रमण आउनु पूर्व रुपन्देही प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ।

श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपूर्व हतियार सहित दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-५ का २० वर्षीय राजेन्द्र लोध र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका-१ का २० वर्षीय सुनल कुमार यादव रहेका छन्। उनीहरूको साथबाट एक थान नलकटुवा पेस्तोल र एक थान चक्कु बरामद भएको छ । उनीहरूले प्रयोग लु ३९ प २९१९ नम्बर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।


दुई वटा मोटरसाइकलमा चार जनाको समूहमा कपिलवस्तुदेखि लुम्बिनी पुगेका मध्ये दुई जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन्। कपिलवस्तुबाट लुम्बिनी आउने क्रममा उनीहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लोखडिया चोकबाट शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरीले स्रोतले बतायो।


श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनु अघि उनीहरू किन र के कारण हतियार बोकेर लुम्बिनी आए भन्ने विषय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार फरार अन्य दुई जना खोजी जारी छ।


श्रीलंकामा सशस्त्र विद्रोही समूह लिबरेसन अफ तमिल टाइगर इलम (लिट्टे) को अस्तित्व श्रीलंकामा नरहेपनि तमिल सामुदायको सञ्जाल संसारभर रहेकोले श्रीलंकाका राष्ट्रपतिलाई तामिल समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ।


सोही अनुसार लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपतिको लुम्बिनी भ्रमणको क्रममा उनको सुरक्षाको लागि देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको छ।

प्रकाशित : भाद्र १६, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?