२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

किशोरी हत्या प्रकरणः दोषी पत्ता लाग्नेमा विश्वस्त छैन परिवार 

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् ।

किशोरी हत्या प्रकरणः दोषी पत्ता लाग्नेमा विश्वस्त छैन परिवार 

भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे ।


‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन । दुर्गादेवीका आँखा रसाइरहेका थिए ।


यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’


पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने हो कि भन्ने शंका रहेको दुर्गादेवीले बताइन् ।


‘अहिले जताततै प्रमाण मेटिएको कुरा बाहिर आएको छ, तर प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको देखिँदैन,’ उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’


घटनापछि भेट्न आएका मन्त्री, नेता र जनप्रतिनिधिले दोषी पत्ता लगाउन पहल गर्ने आश्वासन दिए पनि उनी विश्वस्त छैनन् । ‘दोस्रो पटक अनुसन्धान सुरु गरेकै १० दिन पुगिसक्यो, अझै केही पत्ता लागेको छैन,’ दुर्गाले भनिन् ।


मन्त्री मगरसँगै शनिबार प्रतिनिधिसभा सदस्यहरू दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेशसभा सदस्य प्रकाश रावल पीडित परिवारलाई भेट्न पुगेका थिए ।


साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला दोस्रो दिन नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटना लगत्तैदेखि दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले आन्दोलन थालेका थिए ।


प्रहरीले २६औं दिन भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्टलाई दोषीका रूपमा सार्वजनिक गरेको थियो । स्थानीयले वास्तविक दोषी जोगाउन मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई पक्रिएको भन्दै आन्दोलन झन् झर्काए । त्यस क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।


‘अहिले नेता आउने क्रम बढेको छ तर हाम्रा कुरा नसुनी फर्किन्छन्,’ स्थानीय रामचन्द्र शाहले भने, ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् ।’


शनिबार पनि स्थानीयले मन्त्री मगरसँग केही कुरा राख्न खोज्दा उनी हतार छ भन्दै निस्किइन् । जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान जारी रहेको जनाउँदै आएको छ ।


पक्राउ गरिएका बम दिदीबहिनीसँग बयान लिने काम भइरहेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।


गत शुक्रबार पक्राउ परेका उनीहरूमाथि दोस्रो पटक ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । तर, स्थानीय पनि प्रहरीको अनुसन्धानप्रति विश्वस्त छैनन् ।


फेरि पनि बमलाई नै दोषी देखाएर वास्तविक दोषीलाई उम्काउने खेल भइरहेको जनाएका छन् । ‘सुरुमा प्रहरीले नै सामूहिक बलात्कार भनेको थियो, पछि मानसिक अवस्था बिग्रेको एक जना मात्रै कसरी हत्यारा भयो,’ दुर्गादेवीले भनिन्, ‘अब पनि त्यस्तै हुनेजस्तो छ ।’

प्रकाशित : भाद्र १६, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?