कंक्रिटले घेरिँदै मनकामना

हरिराम उप्रेती

गोरखा — वरिपरि बनेका सिमेन्टका अग्ला घरले मनकामना मन्दिर छेकिन थालेको छ । योजना र मापदण्ड नबनाई जथाभावी घर निर्माण गरिँदा मन्दिर क्षेत्रको पहिचानमै संकट आउने स्थानीय बताउँछन् ।

गोरखाको मनकामना मन्दिर आसपास बनेका सिमेन्टेड घरहरू । तस्बिर : हरिराम / कान्तिपुर

केबुलकार बन्दै गर्दा स्टेसनबाट मन्दिर पुग्ने पैदलमार्ग आसपास २८ घर थिए । अहिले उक्त क्षेत्रमा ६८ पक्की घर बनिसकेका छन् । यी कुनै कलात्मक वा मौलिक संरचनामा बनेका छैनन् । पुजारी गाउँको नामले परिचित गाउँ अहिले बजारमा परिणत भएको छ ।

Yamaha

१७ औं शताब्दीमा बनेको मानिएको मनकामना मन्दिर प्राचीन स्मारक क्षेत्रभित्र पर्छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले सय वर्ष नाघेका वास्तुकला, इतिहास, र स्थापित कलालाई प्राचीन स्मारक मानेको छ ।

उक्त ऐनको दफा १२ मा स्मारक क्षेत्र विरूप बनाउन नपाइने उल्लेख छ । भूकम्पअघि नै ६ इन्च ढल्किएको मनकामना मन्दिरको पुनर्निर्माण जारी छ । मन्दिरको पुनर्निर्माणमा भने चुना सुर्कीलगायत परम्परागत सामग्री नै प्रयोग गरिएको छ ।

चार दशकअघि मनकामना पुगेकी तान्द्राङकी चेतकुमारी लामिछाने अहिले बनेका घर देखेर छक्क पर्छिन् । ‘२०२४ सालमा पहिलो पटक झोलामा तरकारी र चामल बोकेर मन्दिर आएकी थिएँ ।

यो ठाउँ सबै पातीघारीले ढाकेको थियो,’ उनी भन्छिन्, ‘अहिले आउँदा त घरले छेकेर मन्दिरै देख्न मुस्किल भयो । जिउँदै हुँदा यस्तो पनि देख्न पाइयो ।’ अघिल्लो बिहीबार मन्दिर परिसरमा भेटिएकी उनले मन्दिर नै छेक्ने गरी घर बनाउन दिन नहुने बताइन् ।

मनकामनाका जंगबहादुर गुरुङलाई पनि यसमा चित्त बुझेको छैन । केबुलकार बनेपछि आउने मान्छेको संख्या बढेकाले व्यापार गर्न खोज्नु स्वाभाविक भए पनि कलात्मक घर बनाउने नियम लगाउनुपर्ने उनको भनाइ छ ।

‘यहाँ कलात्मक घर बनाउन खोज्दा काम गर्ने मान्छेको अभाव छैन,’ उनी भन्छन्, ‘आँखीझ्याल बनाउने मान्छे पनि छन् । तर, अहिले यस्तो सीप भएका मान्छेको काम नै छैन । आरसीसी घर भनेका छन्, पुराना घरको महत्त्व नै बिर्सिए ।’

‘सिजनका बेला ५ लाखसम्म भक्तजन आउँछन् । चाप बढेका बेला एकै दिन तीन करोड रुपैयाँसम्मको कारोबार हुन्छ,’ स्थानीय व्यापारी तेजराज लामिछाने भन्छन्, ‘यतिको कारोबार हुने क्षेत्रमा अझै भक्तजन भुलाउन आकर्षण बढाउनुपर्छ ।’

मनकामना जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ मन्दिर आसपास पुरातात्त्विक महत्त्व झल्कने घर बनाउन अभियान चाल्नुपर्ने बताउँछन् ।

‘भूकम्पका हिसाबले ढुंगामाटाका भन्दा पक्की घर ठीक लाग्यो,’ उनले भने, ‘स्वरूपचाहिँ पुरानो मोडलको देखाउने अभियान चाल्ने योजनामा छौं ।’

चार/पाँच लाख खर्च गरे अहिलेकै घरलाई कलात्मक देखाउन सकिने उनको तर्क छ । ‘भित्र आरसीसी जे भए पनि बाहिर कलात्मक देखिनुपर्‍यो,’ उनले भने, ‘आँखीझ्याल राख्न त्यति खर्च लाग्दैन । हामीले यसबारे सोचिरहेका छौं ।’

मन्दिरकै नाउँमा झन्डै ९७ रोपनी जग्गा छ । मन्दिरको संरचना, फूलबारी र धर्मशालाले झन्डै १४ रोपनी क्षेत्र ओगटेको छ भने पश्चिमपट्टिको अन्य भाग जंगल छ । मन्दिरको आफ्नै जग्गा पनि प्रयोगमा आउन सकेको छैन ।

‘गुरुयोजना नै बनाएर अघि बढ्नेबारे पनि छलफल चलेको छ,’ संयोजक श्रेष्ठले भने, ‘मन्दिर सँगैको जग्गामा गार्डेन, गेस्ट हाउस, लाखबत्ती बाल्ने र रुद्री लगाउने ठाउँ बनाउन सके व्यवस्थित भइहाल्छ ।’

दैनिक सयांै भक्तजन भेला हुने मन्दिरको प्रांगण फराकिलो छैन । पैदल मार्गमै घण्टौं लामबद्घ भएर भक्तजन दर्शन गर्न बाध्य छन् ।

गुठी संस्थानको नाउँमा रहेको मन्दिरसँगैको धर्मशाला व्यापारिक प्रयोजनमा प्रयोग भइरहेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ १९:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कारविरुद्ध नाटक प्रदर्शन

विद्या राई

काठमाडौँ — कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग गर्दै वसन्तपुरमा सर्वसाधारणले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । घटना भएको महिनादिन बित्दा पनि दोषी पहिचान गरी कारबाही नभएको भन्दै नाटक, पेन्टिङ तथा कार्टुन प्रदर्शन गरिएको हो ।

सांकेतिक विरोधस्वरुप सिल्पी थ्रिएटरले नाटक प्रदर्शन गरेको थियो। नाटकमा पिडक र पीडितको अवस्था देखाइएको थियो।

निर्मलाका निम्ति न्याय जनताको भेला लेखिएको ब्यानर तथा विरोध जनाउने प्लेकार्ड प्रदर्शन भएको थियो। प्रदर्शनमा विभिन्न पेशाकर्मी, राजनीतिकर्मी, पत्रकार, शिक्षक, विद्यार्थीको सहभागिता थियो।

प्रकाशित : भाद्र १६, २०७५ १९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT