कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बन्दै बनेन पुल

भीमबहादुर सिंह

जाजरकोट — ठेकेदारको लापरबाहीले मोर्क खोला पुल निर्माणमा ढिलाइ भएको छ । जाजरकोट–जुम्ला रणनीतिक सडकअन्तर्गत पर्ने उक्त पुलको निर्माण ७ वर्षदेखि अलपत्र छ ।

बन्दै बनेन पुल

पुल निर्माणमा लापरबाही गर्ने कम्पनीलाई गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम टुंगो नलाग्दा थप ढिलाइ भएको हो ।

वर्षौंसम्म पुल निर्माण नगर्ने कम्पनीलाई जिल्ला समन्वय समितिको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले वर्षदिनअघि कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध कम्पनीका अख्तियार अधिवक्ता जगदीश बजगाईंले समिति र अनुगमन कार्यालयलाई विपक्षी बनाई गत असोज २६ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

सर्वोच्चले गत असोज २७ गते विपक्षीका नाममा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दा र मुद्दाको अन्तिम टुंगो नलाग्दा पुल निर्माण थप अलपत्र परेको जिल्ला प्राविधिक कार्यालयका सबइन्जिनियर कर्णबहादुर सिंह बताउँछन् । ठेकेदारले पुल निर्माणका लागि ९० लाख भुक्तानी लिइसकेका छन् । तर पुलको सब स्ट्रक्चरको कार्यबाहेक अरू हुन सकेको छैन । पुलको सुपरस्ट्रक्चर, पहुँच मार्ग, नदी नियन्त्रणलगायत काम अलपत्र छन् । पुल निर्माणका लागि सर्वउद्धार/फ्रेन्ड्स जेभी काठमाडौंले २०६९ मा सम्झौता गरेको थियो ।

कम्पनीले १ करोड ९६ लाख लागतमध्ये घटाघट गरी १ करोड ४४ लाखमा सम्झौता गरेको थियो । २०७३ मा तेस्रोपटक म्याद थप गर्दासमेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता नदेखाएपछि कारबाही गरेको सिंहले बताए । सम्झौताको मितिले डेढ वर्षमा सक्नुपर्ने काम ७ वर्षसम्म पूरा नभएको उनले बताए । पुल निर्माणका लागि ३ पटकसम्म म्याद थप गर्दा पनि सम्बन्धित व्यवसायी सम्पर्कमा नआउँदा र निर्माणमा तदारुकता नदेखाउँदा कम्पनीलाई कालोसूचीमा राख्न तथा ठेक्का तोड्न कार्यालय बाध्य भएको उनको भनाइ छ ।

मुद्दाको अन्तिम टुंगो नलागी पुल निर्माण रोकिएपछि गत आवमा आएको ७० लाख बजेट पनि फिर्ता गएको सिंहले बताए । मोर्क खोला पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट–जुम्ला सडकमा पर्ने दर्जन पुल निर्माण प्रक्रिया अघि बढ्न सकेका छैनन् । ‘जसले अन्य विकास निर्माणमा बाधा पुगेको छ,’ उनले भने, ‘पुल निर्माणको ६० प्रतिशत कार्य भइसकेको छ । २५ मिटर लम्बाइ तथा ४ मिटर चौडा पुल स्थानीय सडक पुल आयोजनाअन्तर्गत बन्न लागेको हो ।’ व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि कार्य सम्पन्नतर्फ बेवास्ता गर्ने चलनले समस्या भएको उनको भनाइ छ ।

व्यवसायीले समयमा पुल नबनाउँदा पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावतमा सास्ती भएको जिसस प्रमुख मनबहादुर रावलले बताए । पुल नबन्दा मोर्क बजारदेखि थलहसम्मको २५ किमि खण्डमा यातायात सहज छैन । ‘सडक निर्माण भएको वर्षौं बिते पनि यातायात सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ,’ उनले भने, ‘बर्सेनि वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । पुल नहुँदा स्थानीयले बर्खाको समयमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ ।’ मोर्क पुल जाजरकोट पश्चिम क्षेत्रको मुख्यद्वार मानिन्छ ।

लाखौं खर्चेर बनाएको कजवे बग्यो
मोर्क खोलामा गत आवमा निर्माण भएको कजवे पनि खोलाले बगाएको छ । खोलाले कजवे बगाएपछि २८ लाख लगानी खेर गएको छ । लामो समयसम्म पुल नबनेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै जिससको पहलमा गत जेठ/असारमा मोर्क खोलामा उक्त कजवे निर्माण भएको थियो ।स्थानीय बासिन्दाले उपयोग गर्न नपाउँदै खोलामा आएको बाढीले कजवे बगाएको छ ।

खोलामा पुल नबन्दासम्म यातायातका साधन सञ्चालनका लागि कजवे निर्माण भएको थियो । निर्माण भएको महिना दिन नबित्दै कजवे बगेपछि स्थानीयले सम्बन्धित निकायको आलोचनासमेत गरेका छन् । गतिलो प्राविधिक डिजाइनबिना हचुवामा कजवे बनाउँदा लगानी खेर गएको स्थानीय वीरबहादुर चन्दले बताए । उपयुक्त लोकेसन र डिजाइनबिनै कजवे निर्माण गरी आर्थिक लगानी हिनामिना भएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?