कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

धासिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

टिप्पणी
सुरज कुँवर

काठमाडौँ — कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२ घण्टा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको हवाई सम्पर्क टुट्यो ।

धासिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

धावनमार्गबाट करिब १० मिटर पर पुगेर धस्सिएको ७ टन हाराहारी तौलको खाली विमान निकाल्न १२ घण्टा लाग्नु लाजमर्दो विषय हो । काठमाडौं विमानस्थलमा शनिबार बेलुकी साढे ८ बजे भएको रन–वे एस्कर्सन (धावनमार्गबाट चिप्लिने) घटना पहिलो होइन । यसअघि ०७१ फागुनमा टर्किको राजधानी इस्तानबुलबाट २ सय २४ यात्रु बोकेर आएको वायुयान एयरबस ३३० धावनमार्ग छेवैमा चिप्लिएर दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल ठप्प भयो ।


विमानको पखेटाले धावनमार्ग अवरोध गरेका कारण एकमात्र धावनमार्ग भएको मुलुकका लागि यो ठूलो विपत् थियो । उपकरण, दक्षता, ज्ञान, सीप र चुस्त व्यवस्थापनको अभावका कारण चार दिनसम्म हजारौं यात्रु बिचल्लीमा परे । यो घटनाबाट भएको क्षतिको आर्थिक मूल्यांकन कुनै निकायबाट भएन । नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल, ग्राउन्ड हयान्डिलिङ गर्ने नेपाल वायुसेवा निगम, सैनिक हवाई निर्देशनालय आदिका लागि यो ठूलो पाठ थियो ।

वैशाखमा मलेसियाको राजधानी क्वालालमपुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान घाँसे मैदानबाहिर पसेपछि फेरि उड्डयनसँग सरोकार राख्ने निकायको अक्षमता प्रकट भयो । उक्त वायुयान टेकअफलगत्तै तीन किलोमिटर लामो धावनमार्गबाट करिब ४० मिटर पर पुगेर घाँसेमैदानमा धसियो । १ सय ३९ जना यात्रु बोकेको यो विमानलाई निकाल्न १३ घण्टा बिताउँदा कम्तीमा एक दर्जन अन्तर्राष्ट्रिय उडान अवरुद्ध र अन्यन्त्रै डाइभर्ट भए ।

चार महिनापछि शनिबार यस्तै खाले घटनामा यतीको विमान पर्‍यो । यो विमान निकाल्न १२ घन्टा समय बित्यो ।

नेपाल पस्दै गरेका ६ वटा अन्तर्राष्ट्रिय वायुयान भारत र बंगलादेशतर्फ डाइभर्ट भए । काठमाडौंबाट उड्न लागेका ५ वटा ठूला विमान यतै रोकिए । ५ वटा आन्तरिक उडान काठमाडौं पस्न नसकेर भैरहवातर्फ फर्किए । शनिबार राति ३ बजेसम्म विमानस्थलमा सयौं यात्रु अलपत्र परे । जहाज निकाल्न भएको ढिलाइका कारण एयरलाइन्सहरूले न त उनीहरूलाई बेलैमा होटलमा फर्काउन सके । न त उडाउन । यात्रुहरूले एयरपोर्टमा नाराबाजी गर्नुपर्‍यो ।


‘यो घटनामा पनि हामीसँग जहाज तान्ने एउटा सानो टुचनसम्म भएन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यो हाम्रो ठूलो कमजोरी हो ।’ उनले पश्चत्ताप गर्दै भने, ‘हामीले उपकरण जुटाउन नसके पनि चुस्त संयोजन गरेर चाँडोभन्दा चाँडो विमानस्थल सञ्चालन गर्न सक्थ्यौं । तर, यस्ता घटनामा हामी मुढेबल मात्रै देखाउँछौं । जसका कारण हामी विश्वभर आलोचित हुनुपर्छ ।’ खासमा यस्तो विपत् व्यवस्थापन गर्ने कार्य ग्राउन्ड हयान्डिलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सलगायतका उड्डयनसँग सँलग्न संस्थाहरूको हुनुपर्ने हो ।


टर्किसको दुर्घटनामा भारतीय हवाई सेनाले ल्याएका जस्ता एयरब्याग, जहाजलाई पोजिसनमा राखेर निकाल्ने कारपेट, रिकभरी किट, बेल्ट, छुट्टै दक्षता भएका प्राविधिक जनशक्ति यस्ता घटनामा हुनुपर्ने । शनिबार यतीको विमान निकाल्न स्काभेटरको खोजी गरियो, राति सशस्त्र प्रहरी प्रमुखलाई ‘गुहारेर’ ४० जना जवान ल्याइयो । ‘सेना पनि थियो, हाम्रो प्रहरीको विपत् व्यवस्थापनको टोली पनि थियो फेरि सशस्त्र पनि थपियो,’ विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘तर राति बल लगाएर जहाज निकाल्न सकिने रहेनछ, बिहान थाहा पाइयो ।’ ती अधिकारीका अनुसार, बिहान स्काभेटरले जमिन खनियो ।

प्लाइउड ओच्छयाएर जहाजका पाङ्ग्रा त्यसमाथि राखेर टयाक्टरको सहयोगमा तानियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा जारी विज्ञप्तिअनुसार, विमानलाई राति नै हटाउने प्रयास गरिए पनि ‘मौसमी प्रतिकूलता र रातको समय भएकाले असहजता’ भइदियो ।


क्याप्टेन लाभिस चन्द र भर्खरै क्याप्टेन भएकी मोनिका प्रजापतीले उडाएको उक्त चार्टर्ड उडानमा रहेको विमान के कारणले चिप्लिएर दुर्घटनामा परेको हो ? भन्नेबारे पत्ता लगाउन सरकारले वरिष्ठ एयरवरिर्दनेश निरीक्षक भेषराज सुवेदीको संयोजकत्वमा चार सदस्यीय समिति बनाइसकेको छ । यस्मा वरिष्ठ पाइलटहरू ददिराम निरौला र गोपालसिंह विष्ट अनि प्राधिकरणको सेफ्टी विभागका रितेशराज पन्त छन् । हाइड्रो इफेक्ट (पानीको असर) ले हो वा अन्य प्राविधिक कारणले हो ? यसबारे जहाजको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) को विश्लेषणबाट पनि पत्ता लाग्ला ।

बारम्बार यती एयरलाइन्सले सुगम रुटका लागि उडाउँदै आएका ब्रिटिस वायुयान जेटस्ट्रिम विमानमा देखिने समस्याले नेपालको उडान सुरक्षालाई चुनौती थपेको छ । दुई वर्षअघि यतीका यी विमानमा उडे (टेकअफ) लगत्तै एउटा इन्जिन बन्द हुने समस्या बारम्बार दोहोरिन थालेपछि प्राधिकरणले यस विमानको फयुल–पम्पको फेर्ने आयु घटाइदियो । त्यसपछि यो समस्या देखा परेको छैन ।


यो नियम लागू हुनुअघि यतीका इन्जिनियरहरूले ८ हजार घण्टाको उडानपछि फ्युल पम्प फेर्थे । तर, प्राधिकरणले यो प्राविधिक नियमलाई ४ हजार घण्टामा झारेपछि उड्नेबित्तिकै एउटा इन्जिन बन्द हुने समस्या अन्त्य भयो ।


पछिल्ला महिना यतीका जेटस्ट्रिम विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिने घटना भइरहेका छन् । यो गम्भीर विषय हो । यती एयरलाइन्स र नियमनकारी निकाय प्राधिकरणले यसलाई गम्भीर रूपमा लिई समाधान खोज्न ढिलाइ गर्नु हुँदैन । हुन त यो समूहका वायुयान उडाउने मुलुको एक्लो एयरलाइन्स यतीले आफ्ना बाँकी ६ वटा जेटस्ट्रिम नेपालबाटै चाँडै हटाउँदै एटीआरलगायतका विमान उडाउने घोषणा गरिसकेको छ । अहिले यतीसँग दुइटा एटीआर उडानमा आइसकेका छन् भने एक सातापछि अर्को एटीआर थपिँदै छ ।


प्रकाशित : भाद्र १७, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?