कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिकित्सक आन्दोलन: अस्पताल ठप्प

अतुल मिश्र

काठमाडौँ — मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित चिकित्सकहरू हडतालमा उत्रिएपछि आइतबार देशभर स्वास्थ्य सेवा प्रभावित भएको छ । चिकित्सकहरूले राजधानीलगायत जिल्लाका सदरमुकामहरूमा समेत विरोध प्रदर्शन गरेका छन् ।

चिकित्सक आन्दोलन: अस्पताल ठप्प

‘हामीले संहिता संशोधनको माग राख्दै राष्ट्रव्यापी रूपमै विरोध कार्यक्रम गर्‍यौं,’ चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले भने, ‘देशभरका सरकारी, निजी, सामुदायिक, मेडिकल कलेज, क्लिनिकलगायत सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकको सेवा बन्द रह्यो ।’
संघले सोमबारसमेत मुलुकभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने जनाएको छ । मंगलबारदेखि भने आकस्मिकबाहेक अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवाबाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवाबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले राखेको छ ।


‘सरकारले भदौ २२ सम्म पनि माग सुनुवाइ नगरे आगामी शुक्रबारदेखि आकस्मिकबाहेक बहिरंगलगायत सबै सेवा माग सम्बोधन नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने । चिकित्सकहरूले आफ्ना मागका सम्बन्धमा सरकारले हालसम्म कुनै सकारात्मक पहल नगरेकामा दुखेसो पोखेका छन् । ‘सरकारलाई झकझक्याउन बाध्य भएर हामी एकदिन आकस्मिकबाहेक सेवा बन्द जस्तो अप्रिय निर्णय लिन बाध्य भएका छौं, तर हालसम्म सम्बद्घ निकायले कुनै पहल गरेको छैन,’ चिकित्सक संघका अध्यक्ष श्रेष्ठले भने, ‘आइतबार अबेरसम्म सरकारले हामीसँग कुनै संवाद गरेको छैन ।’


नयाँ कानुनले बिरामी नै मारमा : डा.केसी
चिकित्सकहरूले मुलुकी अपराध संहिताका प्रावधानले अन्तत: बिरामी नै मारमा पर्ने उल्लेख गर्दै यसमा भएका चिकित्साकर्मीविरोधी प्रावधान तुरुन्त सच्याउन माग गरेका छन् ।
चिकित्सक संघले आइतबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म गरेको विरोध प्रदर्शनपछि आयोजित सभामा बोल्दै चिकित्सकहरूले त्यस्तो माग गरेका हुन् ।


डा.गोविन्द केसीले यो कानुन यथार्थको धरातलमा नरही थोपरिएको उल्लेख गर्दै भने, ‘यो कानुनले बिरामी नै मारमा पर्नेछन् ।’ उनले वर्तमान कानुनमा बिरामीलाई उपचार मन नपरे कुनै पनि बेला चिकित्सकले लापरबाही गरेको भनेर उजुरी दिन सक्ने र डाक्टर जेल जानुपर्ने गलत प्रावधान रहेको आैंल्याए ।


‘अवहेलना गरेको बदनियतपूर्ण हो भनेर पुष्टि गर्ने निकायको व्यवस्था छैन,’ डा.केसीले भने, ‘अब डाक्टरले जोखिम लिँदैनन्, बिरामी रिफर हुनेक्रम चल्छ ।’ गाउँको स्वास्थ्य कार्यकर्ताले जोखिम लिएर गम्भीर रोगको प्राथमिक उपचार गरी ज्यान जोगाएर थप उपचारका लागि ठूला अस्पतालमा रिफर गर्ने गरेको आैंल्याउँदै डा.केसीले भने, ‘अब बिरामी र डाक्टरको सम्बन्ध चिसिन्छ ।’ वरिष्ठ स्नायु शल्यचिकित्सक डा.वसन्त पन्तले संहिता लागू भए मुलुकको स्वास्थ्य क्षेत्र धेरै तल जाने उल्लेख गर्दै सरकारलाई दुई तिहाइको मातबाट बाहिर आउन आग्रह गरे ।

६ हजार लाइसेन्स फिर्ता
चिकित्सकहरूले मुलुकी अपराध संहिताको विरोधमा आइतबार आ–आफ्नो लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गरेका छन् । चिकित्सक संघले केही दिनयता देशभरबाट संकलन गरेको लाइसेन्स आइतबार काउन्सिलमा फिर्ता गरेको हो । ‘हामीले करिब ६ हजार लाइसेन्स काउन्सिललाई बुझायौं,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने ।

कडा कारबाहीको चेतावनी
स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको हो ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?