‘संयुक्त सैन्य अभ्यास नीतिविपरीत’

दुर्गा खनाल

काठमाडौँ — बिमस्टेक राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सहमतिप्रति प्रमुख सत्तारूढ दल नेकपाका नेताहरूले आपत्ति जनाएका छन् । संयुक्त सैन्य अभ्यासजस्तो गम्भीर विषयमा पार्टीभित्र छलफल नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

‘संयुक्त सैन्य अभ्यास नीतिविपरीत’

यो सहमतिले छिमेकी चीन र सार्कको सदस्य पाकिस्तानलगायत मुलुकको नेपालप्रतिको धारणामा परिवर्तन आउन सक्ने उनीहरूको बुझाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गम्भीर विषयमा पार्टीलाई जानकारी नै नदिई सरकारबाट सहमति कायम गरिनु आपत्तिजनक भएको बताए ।

‘नेकपाले सबै छिमेकीसँग तटस्थ सम्बन्ध राख्नुपर्छ र यसका लागि हामीले गर्ने कुनै पनि गतिविधिमा छिमेकी मुलुकले आशंका गर्ने अवस्था रहनु हुँदैन,’ खनालले कान्तिपुरसँग भने, ‘अहिले भएको सैन्य अभ्याससम्बन्धी सहमति मिडियाबाट थाहा पाएको हुँ । यस्तो संवेदनशील विषयमा पार्टीभित्र केही जानकारी र छलफल भएन ।’

संयुक्त सैन्य अभ्यासको विषय बिमस्टेक सम्मेलनका बेला सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रवेश गराएका थिए । ‘यो अभ्यास आतंकवाद नियन्त्रण, विपद व्यवस्थापन र अन्तरदेशीय अपराध नियन्त्रणका लागि हो’ भनेका थिए । अभ्यास आउँदो २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुनेछ । त्यसमा बिमस्टेक राष्ट्रका सेनाप्रमुख नै सहभागी हुने तयारी छ ।

नेकपाका स्थायी समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले संयुक्त सैन्य अभ्यास बिमस्टेकको उद्देश्यभन्दा फरक ढंगले आएको बताए । ‘बिमस्टेक, सार्कजस्ता क्षेत्रीय संगठन पारस्परिक आर्थिक समृद्धिका लागि बनेका हुन्, तिनले आतंकवाद, अपराध नियन्त्रणजस्ता विषयमा नीतिगत निर्णय र सूचना आदानप्रदान गर्न सक्छन्,’ उनले भने, ‘तर संयुक्त सैन्य अभ्यास नै गर्ने भन्ने उद्देश्यसँग मेल खाँदैन र यो घोषित नीतिविपरीत हो ।’ नेपालले अन्य मुलुकसँग द्विपक्षीय सैनिक अभ्यास गर्ने गरे पनि बहुपक्षीय अभ्यास पहिलो पटक हुन लागेको हो ।

परराष्ट्र र गृह मन्त्रालयसमेत सम्हालिसकेका पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि यो सहमतिप्रति आपत्ति जनाएका छन् । उनले पार्टीका शीर्ष नेताहरूसँग त्रुटिपूर्ण सहमति भएको भन्दै असन्तुष्टि पोखेका छन् । तर सार्वजनिक रूपमा बोलेका छैनन् । पार्टीको आउँदो बैठकमा यो विषयमाथि गम्भीर ढंगले कुरा उठाउने नेताहरूले बताएका छन् ।

सैन्य मामिलाका जानकारसमेत रहेका नेकपा सांसद डा. दीपकप्रकाश भट्टले संयुक्त सैन्य अभ्यास नेपाल र नेकपाले लिएको अहिलेसम्मका परराष्ट्र नीतिभन्दा भिन्न खालको भएको बताए । सरकारले भने यस क्षेत्रमा हुने प्राकृतिक प्रकोपको उद्धारलगायतमा क्षमता अभिवृद्धिका लागि सैन्य अभ्यास गर्न लागिएको दाबी गरेको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?