१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालो झन्डा देखाउँदा पक्राउ परेका बन्दीको मृत्यु

बर्दिया — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा भदौ ७ गते पक्राउ परेका राममनोहर यादवको उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

कालो झन्डा देखाउँदा पक्राउ परेका बन्दीको मृत्यु

प्रहरी नियन्त्रणमा रहेका यादव एक्कासि बेहोस भएपछि प्रहरीले उपचारार्थ जिल्ला अस्पताल गुलरिया लगेको थियो । उपचारमा संलग्न डा. सुप्रिया पौड्यालले प्रारम्भिक उपचारक्रममा मस्तिष्कमा पक्षघात भएको देखिएकाले उनलाई नेपालगन्ज रिफर गरेको बताइन् ।

जिल्ला अस्पतालमा पक्षघातसम्बन्धी जाँचका लागि उपकरण नभएकाले उनलाई नेपालगन्ज रिफर गरिएको उनको भनाइ छ । पक्षघातसँगै यादवलाई १०८ डिग्री ज्वरो आएको थियो । रोगले च्याप्दै लगेपछि उनलाई भदौ १४ गते जिल्ला अस्पतालका सिनियर अहेब गयाप्रसाद चौधरी र प्रहरीको प्रत्यक्ष निगरानीमा एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । ‘शिक्षण अस्पतालमा उपचारकै क्रममा शनिबार उनको मृत्यु भयो,’ मैनालीले भने, ‘शव आइतबार परीक्षण हुन्छ ।’

सीके राउतका केन्द्रीय प्रवक्ता अब्दुल खानले आफ्ना जिल्ला नेता यादव उच्च रक्तचापको बिरामी भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको दाबी गरे । ‘प्रहरी हिरासतमा कसैलाई भेट्न दिइएन,’ उनले भने, ‘उच्च रक्तचापको बिरामी औषधि नै खान नपाएर मरेको हो ।’

उनीसँगै पक्राउ परेका बाँके, बर्दियाका सह–संयोजक हरपाल सिंह, बाँकेका जिल्ला संयोजक हरफान शेष र क्षेत्रीय संयोजक राजितराम बर्मा हिरासतमै छन् । हिरासतमा रहेकालाई मुलुकी अपराध संहिता ऐन, २०७५ को दफा ४९ अन्तर्गत राज्य विप्लव कसुर अपराधअन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । कसुर ठहर भए १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?