२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

श्रीमान्‌ले नै लगाए आगो

खर्च अभावमा उपचार हुन सकेन
अर्जुन राजवंशी

दमक — मट्टितेल खन्याएर श्रीमान्ले लागो लगाउँदा झापा कमल गाउँपालिकाकी एक महिला गम्भीर घाइते भएकी छन् । आगाले उनको ४० प्रतिशत भाग जलेको चिकित्सकले बताए ।

श्रीमान्‌ले नै लगाए आगो

कमल ५ पाडाजुँगीका भक्तबहादुर दर्जीले श्रीमती लीलामायालाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । लीलामायाको कम्मरदेखि माथि सबै जलेको छ । उक्त घटना भदौ १२ गते राति भएको हो ।

घरायसी विवादमा भक्तबहादुरले श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको इलाका प्रहरी दमकका डीएसपी श्यामलकुमार सुब्बाले बताए । भक्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर घाइते लीलामायाले अहिलेसम्म उचित उपचार पाउन सकेकी छैनन् । आर्थिक अभावका कारण ४ दिनसम्म उनलाई कहाँ लगेर उपचार गर्नेमा आफन्त दोधार देखिए । अवस्था गम्भीर भए पनि उनको उचित उपचार हुन सकेको छैन ।

घटनालगत्तै लीलामायालाई प्रहरीको सहयोगमा बिर्तामोडस्थित ब एन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको कुरुवाका रूपमा माइतीपट्टिका दाजु टीकाराम ठटाल छन् । ठटाल भुटानी शरणार्थी हुन् । अरू कोही आफन्त नभएको र दाजुको पनि आर्थिक अवस्था कमजोर भएकाले उपचार सम्भव नभएको हो ।

बिरामी भर्ना भएको २ दिनसम्म पैसा बुझाउन नसकेपछि बीएन्डसीले त्यति बेलासम्मको खर्च छुट गरेर अन्यत्र लान रेफर गरेको थियो तर, एम्बुलेन्स भाडासमेत नहुँदा दाजुले सिकिस्त बहिनीलाई शरणार्थी शिविर लिएर गएका थिए ।

भुटानी शरणार्थी शिविर बेलडाँगीका सचिव टीकाराम रसाइलीको पहलमा आम्दा अस्पताल दमकमा भर्ना गरिएको थियो तर बिरामीको अवस्था गम्भीर रहेकाले आम्दामा उपचार सम्भव नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालले बताए । ‘बिरामीको अवस्था हेरेर हामीले तत्काल धरान रेफर गरेका थियौं,’ डा. ढकालले भने, ‘तर पैसा छैन भन्दै उहाँहरूले बिरामीलाई लग्नुभएको छैन ।’

बिरामीको ४० प्रतिशत भाग जलेकाले तत्काल विशेष उपचार आवश्यक रहेको उनले बताए । ‘घटनालगत्तै आईसीयूमा राखेर उपचार गर्नुपर्नेमा भ्यानमा बिरामी राखेर यताउता घुमाउँदै बितेको छ,’ डा. ढकालले भने, ‘बिरामीको उचित उपचार नहुँदा जलेको घाउमा संक्रमण हुने सम्भावना देखिएको छ ।’

लीलामाया भक्तबहादुरकी सातौं श्रीमती रहेको डीएसपी सुब्बाले जानकारी दिए । लीलाको पनि यो दोस्रो विवाह हो । उनीहरूका छोराछोरी छैनन् । यो परिवार अति विपन्न हो । घरमा भक्तबहादुरका वृद्ध बुबा मात्र छन् ।

‘बाँच्ने अवस्थाको बिरामी पनि उपचार नपाएर ज्यानै जाला भन्ने डर भइसक्यो,’ शिविर सचिव रसाइलीले भने, ‘आफन्तले एक पैसा छैन भनिरहेका छन् । खोइ कसरी कहाँ लगेर उपचार गर्नु ?’ लीलामाया पनि भुटानी शरणार्थी परिचयपत्रबाहक हुन् । उनका पहिलो श्रीमान्तर्फ दुई छोरा छन् ।

चर्को गर्मीका बेला आगाले जलेको बिरामी आईसीयूबाहिरै उपचारविहीन अवस्था देखेपछि दमकका रुद्रप्रसाद गौतम र विमल शर्माले खर्च दिएर शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने व्यवस्था गरिदिएका थिए । घटनालगत्तै कमल गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन ।

‘उहाँहरूले सहयोगको आश्वासन मात्र दिनुभयो । अहिलेसम्म केही सहयोग पाएको छैन,’ डीएसपी सुब्बाले भने, ‘मैले गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसँग सहयोग मागेको थिएँ ।’ मट्टितेल खन्याएर आगो लगाउने भक्तबहादुरलाई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा चलाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?