एकै विद्यालयमा सय अनाथ

रमेशचन्द्र अधिकारी

थलथले (धनकुटा) — सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माविमा १ कक्षामा पढ्ने ४ वर्षीया संस्कृति राई अनाथ हुन् । उनलाई पालनपोषण गर्ने कोही छैन । बाबुको केही वर्षअघि मृत्यु भयो ।

धनकुटाको सहिदभूमि गाउँपालिका ६ स्थित ठाकुरदेवी माविमा अध्ययनरत बालबालिका । तस्बिर : रमेशचन्द्र

आमा दोस्रो विवाह गरेर अन्यत्रै गइन् । त्यसपछि उनी आश्रयविहीन बनिन् । छरछिमेकको रेखदेखमा उनको दैनिकी बितिरहेको छ ।

संस्कृति मात्र होइन, उक्त विद्यालयमा अध्ययनरत एक सय बालबालिकाको अवस्था यस्तै छ । उनीहरू अभिभावकविहीन छन् । एकै विद्यालयमा यत्ति धेरै अनाथ बालबालिका अध्ययनरत हुनु अनौठो संयोग रहेको प्रधानाध्यापक डिल्लीराम न्यौपानेले बताए । ‘अधिकांश कक्षाकोठामा धेरै विद्यार्थी बाबुआमा गुमाएका अभिभावकविहीन छन्,’ न्यौपानेले भने, ‘कतिपयको अवस्था अति दयनीय छ । उनीहरूको पालनपोषण र पढाइलेखाइ नै प्रभावित हुने अवस्था छ ।’

Yamaha

अधिकांश वैदेशिक रोजगारसँग जोडिएका घटनाबाट अभिभावक गुमाएका रहेको उनले बताए । कतिपयका बाबु वैदेशिक रोजगारमा गएर वर्षौं नफर्किएका र आमाले अर्को विवाह गरेपछि बेसहारा भएका छन् । केही भने आमा वैदेशिक रोजगारमा गएका बेला बाबुले दोस्रो विवाह गरेपछि अलपत्र परेका छन् ।

कक्षा ७ का १२ वर्षीया स्नेहा राईका बाबुआमा साथमा छैनन् । आमा भारतको कुनै स्थानमा रोजगारीमा छिन् । बाबुले अर्काे विवाह गरेर हिंडेपछि उनी वृद्ध हजुरबुबा हजुरआमाको आश्रयमा छिन् । लेखपढ गर्ने मन भए पनि घरायसी कारणले समस्या परेको उनले सुनाइन् । ‘बाजेबजुसँग बस्छु,’ उनले भनिन्, ‘पछि के होला भन्ने चिन्ता छ ।’ हजुरबुबा हजुरआमाको शारीरिक अवस्था कमजोर भइसकेकाले स्नेहाको पालनपोषणमा समस्या उब्जिएको शिक्षिका सीता पोखरेलले बताइन् ।

अधिकांश बालबालिका उनीहरूको अवस्थाबारे कुरा गर्दा भक्कानिन्छन् । कक्षामा पढाइरहेका बेला मार्मिक कथावस्तु तथा उनीहरूको अवस्थासँग मिल्दोजुल्दो भए रुने तथा सम्हालिन नसक्ने अवस्था रहेको पोखरेलले बताइन् । ‘पढाउँदा पढाउँदै पनि भावुक भएर रुन्छन्,’ उनले भनिन्, ‘उनीहरूको आत्मबल असाध्यै कमजोर बनेकाले पढाइमा समेत असर पुगिरहेको छ ।’

१२ वर्षीय अनमोल राईका बाबुको केही वर्षअघि हत्या भएको थियो । आमाले अर्को विवाह गरिन् । त्यसपछि उनको अवस्था दयनीय छ । उनी फुपूको रेखदेखमा छिन् । कक्षा ३ का ८ वर्षीय प्रवेश परियारको अवस्था पनि कारुणिक छ तर उनका बाबुआमाको अवस्था अरूको भन्दा फरक छ ।

बाबु गंगाबहादुर शारीरिक रूपमा पूर्ण अशक्त छन् । वैदेशिक रोजगारमा कुवेत गएकी आमा बालकुमारी काम गर्ने क्रममा विदेशमै लडेर मेरुदण्ड भाँचिएपछि उनको पालनपोषण गर्ने अभिभावक नभएको हो ।

१० कक्षाकी करिश्मा राईकी आमा यज्ञकुमारीको निधन भएको र बाबु दिनेशकुमारबाट भरथेग गर्ने अवस्था नहुँदा उनको भविष्य अन्योलपूर्ण छ । आफन्तलाई सघाएर लेखपढ गर्दै आएको उनले बताइन् । घरायसी प्रसंग जोडदा उनी भक्कानिएर रुने गर्छिन् । १० कक्षाकै केशिका राईको पनि कमाएर पाल्ने बाबुको मृत्यु भएपछि चिन्तित छिन् । उनीहरूजस्तै अवस्था भोग्दै गरेका कैयौं बालबालिका त्यहाँ अध्ययनरत छन् ।

विद्यालयको सीमित छात्रवृत्ति कोषबाट सामान्य सहयोग जुटे पनि अन्य आधार नहुँदा बालबालिकाको भविष्य चिन्ताजनक बनेको शिक्षिका करुणा राईले बताइन् । कतिपय यस्ता अवस्थाका बालबालिका विद्यालय आउन छोडिसकेका र अनियमित हुने गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

५ रुपैयाँबाट जुट्यो ६३ लाख

कान्तिपुर संवाददाता

विराटनगर — वृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान संकलन गर्ने अभियानबाट ८ वर्षमा ६३ लाख संकलन भएको छ ।

महानगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हजार ९ सय ३ जनाले दान गरिसकेका छन् ।

अभियानकर्ता जगतप्रसाद अर्यालका अनुसार त्यति व्यक्तिबाट संकलित ५/५ रुपैयाँ र त्यो रकम जम्मा गर्दाको ब्याजसमेत जोडा ६३ लाख रुपैयाँ पुगेको हो । संकलित रकमबाट वृद्धाश्रमका लागि पूर्वाधार बनाउने काम भइसकेको छ ।

वृद्धाश्रम परिसरमा लायन्स क्लबले १ करोड रुपैयाँ लागतमा भवन बनाइदिएको छ । वृद्धाश्रममा २७ महिलासहित ५२ जना वृद्धवृद्धाले शरण पाएका छन् । पहिलेदेखि बसेका मध्ये हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । दानबाट संकलित रकम र सरकारको ३० प्रतिशत सहयोगमा वृद्धाश्रमले नै ९२ लाख लागतमा १४ कोठा भएको दुईतले भवन बनाएको छ । त्यहाँ कांग्रेस नेता शेखर कोइरालाले कोइराला परिवारकी सहयोगी दिवंगत ‘उमा दिदी’ का नाममा ४ लाख रुपैयाँमा एउटा कोठा बनाइदिएको अर्यालले जनाए ।

चन्दा संकलन गर्ने दिनचर्या नै भएका अर्याल यो क्रममा देशका आधाभन्दा बढी जिल्ला पुगिसकेका छन् । छोराबुहारी र अरू आफन्त भएका भारत, अमेरिका, अस्ट्रेलिया र क्यानाडालगायत देश पुगेर पनि उनले सहयोग जुटाएका छन् ।

अमेरिका बस्ने छोराबुहारी प्रशान्त र सुधारको सहयोगमा अमेरिका, क्यानाडा र अस्ट्रेलियामा रहेका ५ सय जनाबाट ५ डलरका दरले रकम संकलन भएको उनले बताए । ७५ वर्ष नाघेका अर्याल हरेक दिन बिहान साइकलमा ‘मुष्ठी र भूमिदान संकलन’ अभियानमा निस्कन्छन् । डेढ दशकदेखि उनको यो दैनिकी चलिरहेको छ ।

आश्रमका वृद्धवृद्धाको पालनपोषण र थप भौतिक पूर्वाधार बनाउन मुष्ठी र भूमिदान संकलनको काम अझै जारी छ । उनी चढ्ने साइकलको अगाडि ‘अपहेलित, असहाय र अशक्तको पालनपोषणका लागि मुष्ठी दानस्वरूप दैनिक १ रुपैयाँ र भूमिदानका लागि ५ रुपैयाँ इच्छाअनुसार दान गराैं’ लेखिएको बोर्ड छ ।

वृद्धवृद्धाको रेखदेखका लागि उनीबाहेक आश्रममा ७ जना कर्मचारी छन् । आश्रम सञ्चालनका लागि मासिक सरदर १ लाख २५ हजार रुपैयाँ खर्च हुँदै आएको छ । अहिले पनि दैनिक १ हजार १ सय ७९ जनाले दैनिक मुष्ठी दान र अन्य सहयोगी हातहरूले खाद्यान्न, कपडा, औषधि, खानेतेलजस्ता सामग्री सहयोग गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT