एकै विद्यालयमा सय अनाथ

रमेशचन्द्र अधिकारी

थलथले (धनकुटा) — सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माविमा १ कक्षामा पढ्ने ४ वर्षीया संस्कृति राई अनाथ हुन् । उनलाई पालनपोषण गर्ने कोही छैन । बाबुको केही वर्षअघि मृत्यु भयो ।

धनकुटाको सहिदभूमि गाउँपालिका ६ स्थित ठाकुरदेवी माविमा अध्ययनरत बालबालिका । तस्बिर : रमेशचन्द्र

आमा दोस्रो विवाह गरेर अन्यत्रै गइन् । त्यसपछि उनी आश्रयविहीन बनिन् । छरछिमेकको रेखदेखमा उनको दैनिकी बितिरहेको छ ।

संस्कृति मात्र होइन, उक्त विद्यालयमा अध्ययनरत एक सय बालबालिकाको अवस्था यस्तै छ । उनीहरू अभिभावकविहीन छन् । एकै विद्यालयमा यत्ति धेरै अनाथ बालबालिका अध्ययनरत हुनु अनौठो संयोग रहेको प्रधानाध्यापक डिल्लीराम न्यौपानेले बताए । ‘अधिकांश कक्षाकोठामा धेरै विद्यार्थी बाबुआमा गुमाएका अभिभावकविहीन छन्,’ न्यौपानेले भने, ‘कतिपयको अवस्था अति दयनीय छ । उनीहरूको पालनपोषण र पढाइलेखाइ नै प्रभावित हुने अवस्था छ ।’

Yamaha

अधिकांश वैदेशिक रोजगारसँग जोडिएका घटनाबाट अभिभावक गुमाएका रहेको उनले बताए । कतिपयका बाबु वैदेशिक रोजगारमा गएर वर्षौं नफर्किएका र आमाले अर्को विवाह गरेपछि बेसहारा भएका छन् । केही भने आमा वैदेशिक रोजगारमा गएका बेला बाबुले दोस्रो विवाह गरेपछि अलपत्र परेका छन् ।

कक्षा ७ का १२ वर्षीया स्नेहा राईका बाबुआमा साथमा छैनन् । आमा भारतको कुनै स्थानमा रोजगारीमा छिन् । बाबुले अर्काे विवाह गरेर हिंडेपछि उनी वृद्ध हजुरबुबा हजुरआमाको आश्रयमा छिन् । लेखपढ गर्ने मन भए पनि घरायसी कारणले समस्या परेको उनले सुनाइन् । ‘बाजेबजुसँग बस्छु,’ उनले भनिन्, ‘पछि के होला भन्ने चिन्ता छ ।’ हजुरबुबा हजुरआमाको शारीरिक अवस्था कमजोर भइसकेकाले स्नेहाको पालनपोषणमा समस्या उब्जिएको शिक्षिका सीता पोखरेलले बताइन् ।

अधिकांश बालबालिका उनीहरूको अवस्थाबारे कुरा गर्दा भक्कानिन्छन् । कक्षामा पढाइरहेका बेला मार्मिक कथावस्तु तथा उनीहरूको अवस्थासँग मिल्दोजुल्दो भए रुने तथा सम्हालिन नसक्ने अवस्था रहेको पोखरेलले बताइन् । ‘पढाउँदा पढाउँदै पनि भावुक भएर रुन्छन्,’ उनले भनिन्, ‘उनीहरूको आत्मबल असाध्यै कमजोर बनेकाले पढाइमा समेत असर पुगिरहेको छ ।’

१२ वर्षीय अनमोल राईका बाबुको केही वर्षअघि हत्या भएको थियो । आमाले अर्को विवाह गरिन् । त्यसपछि उनको अवस्था दयनीय छ । उनी फुपूको रेखदेखमा छिन् । कक्षा ३ का ८ वर्षीय प्रवेश परियारको अवस्था पनि कारुणिक छ तर उनका बाबुआमाको अवस्था अरूको भन्दा फरक छ ।

बाबु गंगाबहादुर शारीरिक रूपमा पूर्ण अशक्त छन् । वैदेशिक रोजगारमा कुवेत गएकी आमा बालकुमारी काम गर्ने क्रममा विदेशमै लडेर मेरुदण्ड भाँचिएपछि उनको पालनपोषण गर्ने अभिभावक नभएको हो ।

१० कक्षाकी करिश्मा राईकी आमा यज्ञकुमारीको निधन भएको र बाबु दिनेशकुमारबाट भरथेग गर्ने अवस्था नहुँदा उनको भविष्य अन्योलपूर्ण छ । आफन्तलाई सघाएर लेखपढ गर्दै आएको उनले बताइन् । घरायसी प्रसंग जोडदा उनी भक्कानिएर रुने गर्छिन् । १० कक्षाकै केशिका राईको पनि कमाएर पाल्ने बाबुको मृत्यु भएपछि चिन्तित छिन् । उनीहरूजस्तै अवस्था भोग्दै गरेका कैयौं बालबालिका त्यहाँ अध्ययनरत छन् ।

विद्यालयको सीमित छात्रवृत्ति कोषबाट सामान्य सहयोग जुटे पनि अन्य आधार नहुँदा बालबालिकाको भविष्य चिन्ताजनक बनेको शिक्षिका करुणा राईले बताइन् । कतिपय यस्ता अवस्थाका बालबालिका विद्यालय आउन छोडिसकेका र अनियमित हुने गरेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

४ दशकपछि सडक

कृषि उपज बजार पुर्‍याउन सुविधा
बुढेसकालमा गाउँबाटै गाडी चढ्न पाउँदा स्थानीय खुसी
रमेशचन्द्र अधिकारी

धनकुटा — याक्ते गाउँका ७८ वर्षीय जीतबहादुर आठपहरिया घरको आँगनबाटै पहिलोपटक मोटर चढेर सदरमुकाम पुगे । आफ्नो गाउँमा मोटरबाटो आइपुग्छ भन्ने कमै आशा गरेका उनी यसरी घरआँगनबाटै गाडी चढ्न पाउँदा खुसीको सीमा नाघेको बताउँछन् ।

त्यसो त धनकुटा नगरपालिकाका घोषणा हुँदा धनकुटामा मोटर बाटो आइसकेको थिएन । ०३५ सालमा नगरपालिका बनेको दुई वर्षपछि जिल्लामा मोटरबाटोको सञ्जालले तराई जोडेको थियो । तर सदरमुकामबाट मुस्किलले चार किलोमिटर दूरीको धनकुटा नगरपालिका ८ स्थित याक्ते तथा तेत्रिदाङ गाउँमा चार दशकपछि बल्ल मोटरबाटो पुगेको छ ।


मुलुकभरमा नै धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जाति रहेको याक्तेले दुर्गम गाउँको झझल्को दिन्छ । त्यसै गाउँमा चार महिना अघिदेखि मात्र बल्ल सवारी साधन सञ्चालनमा आएको छ । ‘मलाई यो उमेरमा घरैबाट गाडी चढेर बजार (धनकुटा सदरमुकाम) पुग्न पाइन्छ भन्ने आशै थिएन’, जीतबहादुरले भने, ‘धन्न मोटर चल्यो, अब अस्पताल जान समेत हिँड्नु नपर्ने भो ।’


कृषि उपज तथा फलफूल उत्पादन हुने उक्त गाउँबाट विगतमा स्थानीयले डोकोमा भारी बोकेर बजारमा बिक्री गर्न लैजान्थे । तर गाउँघरमा मोटर पुग्ने भएपछि स्थानीय केही युवाले त ढुवानी साधन खरिद गरेरै उत्पादित वस्तु बजार पुर्‍याउन थालेका छन् । व्यावसायिक रूपमा आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्न पाउँदा दंग परेका छन् ।


स्थानीय रितेश राई आठपहरियाले आफ्नै लगानीमा पिकअप गाडी खरिद गरेर उत्पादित वस्तु बजार पुर्‍याउन थालेको बताए । गालेभेडा, सरिफा, भुइँकटहर लगायतका वस्तु उनले बजारसम्म ढुवानी गर्दै आएको जानकारी दिए । ‘अब त हामी पनि सुगमबासी भएका छौं’, उनले भने, ‘सदरमुकाम नजिक रहेर पनि वर्षौं ओझेल परेको गाउँ अब विकास हुने आशा पलाएको छ ।’


नगरपालिकाले धनकुटा ७ स्थित बस पार्कदेखि घुमाउने चौतारा, टेकुनाला, याक्ते, सान्ताङ लगायतका स्थानमा चक्रपथ निर्माणको योजना अनुसार सडक सञ्जालले जोडेको नगर प्रमुख चिन्तन तामाङको भनाइ छ । खासगरी कृषि उत्पादन बजारसम्म पुर्‍याउन र स्थानीयलाई सहज यातायातको लागि नगरपालिकाले सडक निर्माण गरेको उनको भनाइ छ ।


आर्थिक वर्ष ०७४/०७५ मा २१ लाख रकम विनियोजन गरेर सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ । उक्त गाउँमा सार्वजनिक नियमित सवारी साधन भने सञ्चालनमा आएका छैनन् । तर रिजर्भ गरेका टेम्पो, भेन तथा अन्य सवारी साधन पनि गाउँमा सहज पुग्न थालेपछि आवतजावतमा सजिलो भएको स्थानीय प्रेमिका राई बताउँछिन् । याक्तेमा २० र नजिकको अर्को गाउँ तेत्रेदाङमा १८ घरपरिवारको बसोबास छ । ती गाउँमा अल्पसंख्यक आठपहरिया जाति बसोबास गर्छन् । गाडी बाटो नपुग्दा स्थानीयले कम्तीमा दुई घण्टा बढी समय पैदल हिँडेर बजार पुग्ने गरेका थिए । ०६८ सालमा तत्कालीन कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङको पालामा उक्त गाउँ भएर सान्ताङ हुँदै धनकुटा बजारसम्म चक्र पथ निर्माण गरिने योजना अघि सारिएको थियो । तर जननिर्वाचित पदाधिकारीबाट सडकको पूर्णता पाएको नगरपालिका स्रोतले जनाएको छ ।


केही वर्ष अघिदेखि बिजुली बल्न थालेसँगै सडक सञ्जालले जोडिएपछि राहतको महसुस गरेको स्थानीय ७४ वर्षीय वृद्धिमाया राईले बताइन् । नगर क्षेत्रमा उक्त गाउँमा सडक पुगेसँगै अब अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिएका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT