उपत्यकामा सात पार्क बनाइँदै

दीपेन्द्र विष्ट

काठमाडौँ — उपत्यकामा धेरैको गुनासो रहन्छ, 'खुला क्षेत्र नै छैन । यसो घुम्न, हावा खाना र केही समय विताउने ठाउँ नै छैन ।' अव भने यस्ता गुनासोहरु होला की ? उपत्यका वरिवरि ७ वटा हरियाली पार्क (हरित उद्यान) बनाउन सुरु भएको छ ।

उपत्यकामा सात पार्क बनाइँदै

सहरी विकास मन्त्रालयले नगर क्षेत्रभित्र खुला क्षेत्रको कमी हुंदै गएकाले विभिन्न सार्वजनिक जग्गामा ‘हरित उद्यान’ बनाउन थालेको हो ।


दक्षिणकाली नगपालिकाको चम्पादेवी १ मा २ वटा ‘चम्पादेवी पार्क’, टोखा नगरपालिका ३ मा ‘नमूना विकास पार्क’, नागार्जुन ७ मा ‘संरक्षणविद स्मारक पाकर्’, नागार्जुन ७ मै ‘स्वीजरल्याण्ड पार्क’, चन्द्रगिरी इन्द्रस्थान १ मा ‘ऐतिहासिक पार्क’ र बुढानिलकण्ठ १ मा ‘राष्ट्रिय विकास पार्क’ निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।


‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्दै जाने मन्त्रालयको नीति छ’ विभागका महानिर्देशक मणिराम गेलालले भने, ‘भूकम्पमा खुला क्षेत्रको अभाव हामीले भोगिसककेका छौं, त्यसबाट पाठ सिक्दै विभिन्न स्थानमा पार्क निर्माण गर्दैछौं, पार्क निर्माणलाई अभियानकै रुपमा अघि बढाउंछौं ।’


हेटौंडा र पोखरामा समेत पार्क निर्माण प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए । उपत्यका वरिवरिका प्रत्येक नगरपालिकामा दुइटा भन्दा बढी पार्क निर्माण गर्नेबारे छलफल भइरहको उनले बताए । बच्चादेखि बृद्धबृद्धालाई मनोरन्जन गर्न हरित उद्यान निर्माण गरिने उनले बताए । हाल निर्माण भइरहेको स्वीजरल्याण्ड पार्क अन्तिम चरणमा पुगेको उनले बताए । ‘१५ प्रतिशत काममात्र बांकी छ, यो पार्क पिकनिक स्थलका रूपमा विकास भएको छ’ उनले भने, ‘अग्लो स्थानमा भएकाले उपत्यकाको सबै भ्यू देखिन्छ ।’ ४० रोपनी जग्गामा निर्माणधीन उक्त पार्क चारैतिर जंगलले ढाकिएको उनले बताए ।


विभागका अनुसार नार्गाजुनस्थित संरक्षविद् पार्क पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । ६० प्रतिशत काम सकिएको भन्दै स्वीमिङपुल, चिडियाघर, राधाकृष्ण चौतारीलगायतको अवधारणा अघि सारिएको छ । १८ रोपनी जमिनमा पार्क निर्माण हुने छ । २०६३ असोज ७ मा ताप्लेजुङको घुन्सामा तत्कालीन बन राज्यमन्त्री गोपाल राई र संरक्षणविदलगायत २४ जना स्वदेशी तथा वदेशी हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनीहरूकै सम्झनामा उक्त पार्क निर्माण हुन लागेको हो । पार्कमा मृतक सबैको प्रतिमा राखिएको छ ।

दक्षिणकालीस्थित चम्पादेवीमा ४० र २० रोपनी जग्गामा अलग–अलग दुइटा पार्क निर्माण भइरहेका छन् । ३ वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । पार्कभित्र भ्यू टावर, कुण्ड, पानीको फोहरा, पिकनिक स्थललगायत शिव पार्वती, राम सीता र हनुमानका अग्ला अग्ला प्रतिमा राखिएको छन् । बुढानिलकण्ठमा ५० रोपनी जग्गामा राष्ट्रिय विकास पार्क निर्माण भइरहेको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पार्कमा निर्माण कार्य धमाधम भइरहेको महानिर्देशक गेलालले बताए ।


चन्द्रगिरी नगरपालिकाको इन्द्रस्थानस्थित ३५ रोपनी जग्गामा ऐतिहासिक पार्क निर्माण भइरहेको छ । उक्त पार्क ऐतिहासिक चिनारी झल्कने किसिमका बस्तुहरुलाई संकलन गरी राखिनेछ । टोखा ३ मा ‘नमुना विकास पार्क’ निर्माण भइरहेको छ । १० रोपनी क्षेत्रफल ओग्टने उक्त पार्कलाई आधुनिक पार्कका रूपमा विकास गरिनेछ । पार्क निर्माणका अभिन्यता तथा जलसम्पदा तथा वातावरण विकास संरक्षण कोषका अध्यक्ष पुष्पराज पाण्डेले विगत १० वर्षदेखि निरन्तर रूपमा पार्क बनाउने अभियानमा लागिपरेको बताए ।


‘सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ, त्यसलाई जोगाउनु पर्छ, खुल्ला स्थानको संरक्षण गर्नुपर्छ, भन्ने उद्धेश्यका साथ हरित उद्यान निर्माण गर्ने अभियानमा लागेका छौं’ उनले भने, ‘उपत्यका वरपर घुम्न जाने र मनोरन्जन गर्ने स्थान छैनन, अब सार्वजनिक जग्गामा पार्क निर्माण गर्नैपर्छ ।’


मुलुकभर अन्य स्थानमा पनि पार्क निर्माण गर्नु पर्ने भन्दै उनले प्रदेश सरकार तथा स्थानीय सरकारले पनि उक्त अभियानलाई अघि बढाउनु पर्ने बताए । त्यसैगरी हेटौडामा ५० रोपनी र पोखराको लेखनाथ नगरिपालिका सिलगेमा ४० रोपनी जग्गामा यसै वर्षदेखि पार्क निर्माण सुरु गरिने जानकारी उनले दिए ।


प्रकाशित : भाद्र १८, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?