अध्ययन प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा

अध्ययन प्रतिवेदन पूर्ण हुन अझै दुई साता लाग्ने
सबलीकरणको उपाय पहिल्याइनेछ : कार्यकारी अधिकृत ज्ञवाली 
देवेन्द्र भट्टराई

काठमाडौं — मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने की सबलीकरण गर्ने भन्ने बहस लम्बिरहँदा भवनको संरचना दिनानुदिन कमजोर बन्दै गएको छ।

तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) जारी रहेपनि पश्चिमी मोहडालाई भने अझै अध्ययन/अनुसन्धानकै क्रममा राखिएको छ। युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका विशिष्ट संरचना छन्।

‘सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा भने तीन महिनायता रेट्रोफिटिङ जारी छ,’ राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका एक अधिकारीले भने, ‘अब १५ महिनामा सक्नुपर्ने रेट्रोफिटिङको शर्मा न्यू टेक्निकलले ठेक्का पाएको छ, यसमा २४ करोड रुपैयाँ बिनियोजित छ।’

Yamaha

तर पश्चिमी मोहडा जिर्ण र संवेदनशील भएका कारण विषयविदको एउटा टोलीले जारी राखेको अध्ययनपछि मात्रै सवलीकरण गर्नेबारेमा टुंगो लाग्ने भएको छ। यो टोलीमा प्राधिकरणका सहसचिव राजु मानन्धर संयोजक रहेका छन्। टोलीले अब दुई सातामा आफ्नो अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँदैछ।

‘यो ऐतिहासिक संरचना जोगाउने पक्षमा र सबलीकरण गर्ने पक्षमा निर्णय आउने अपेक्षा छ,’ प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पश्चिमी मोहडाको स्थलगत भ्रमणपछि भने, ‘टोलीको सुझाव प्रतिवेदन आउनासाथै सबलीकरणको मोडालिटी निर्धारण गरिनेछ।’

अहिले पश्चिम मोहडातर्फ माटो परीक्षणको काम समेत भैरहेको छ। जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङका प्राविधिकले सोमबार मात्रै सिंहदरबार पश्चिमी मोहडाको १६ मिटर मुनिको माटो परीक्षण गरेको थियो। यो तहमा ‘कमजोर माटोको संरचना’ पाइएपछि थप विशिष्ट परीक्षण गरिने भएको छ।

‘सिंहदरबार जोगाउनेबारेमा बहस जारी रहेकै बेला यो संरचना जोगाउन भनेर प्लास्टिक ओतले छोपछाप गर्ने निर्णय भएको थियो,’ अध्ययन टोलीका संयोजक समेत रहेका सहसचिव मानन्धरले भने, ‘पश्चिमी मोहडाको बेलायती बैठक कक्षमाथि भने प्लास्टिक ओतको कुनोमा पानी जमेर पोखरी बनेको अवस्था रहेछ, एकपट्टिको पर्खाल भिजेर संरचना निकै कमजोर बनेको स्थिती छ।’ तर, सबलीकरणको जुनै उपाय लगाएर भएपनि सिंहदरबारको यो ‘सिग्नेचर’ संरचना जोगाउन सकिने अठोट मानन्धरले दोहोर्‍याए।

तस्बिर : अंगद ढकाल

प्रकाशित : भाद्र १८, २०७५ १७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सार्कझैँ ‘सनातनी’ बन्दैछ बिमस्टेक

दक्षिण एशियाली मञ्चबाट पाकिस्तानलाई ‘एक्ल्याउन’ सुरु भएको कार्यशैलीको खुलेर विरोध गर्ने आँट  धेरैले गरेका छैनन् ।  
देवेन्द्र भट्टराई

काठमाडौँ — नाममा ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग’ भएपनि बिमस्टेक क्षेत्रीय संगठन पनि कागजमा निर्णय गर्ने र कार्यान्वयन नगर्ने दक्षिण एशियाली मञ्च सार्कजस्तै स्वरुपमा रुपान्तरित हुने क्रममा छ ।

आर्थिक एकिकरण र समृद्धिका एजेण्डाभन्दा पनि बैठक, निर्णय र घोषणामै अल्झिैंदै आएको बिमस्टेकलाई विज्ञहरुले ‘सनातनी काम-कारबाहीको थलो’ भनी टिप्पणी गरेका छन् ।

‘यो क्षेत्रीय संगठनमा आबद्ध मुलुकहरुको ‘लेभल अफ इन्ट्रेष्ट’ नै फरक छ । भारत र थाइल्याडबीच आफ्नै खुला व्यापार व्यवस्था छँदैछ । भुटान, नेपालको एउटा चासो होला ।

बंगालादेश, श्रीलंका वा म्यानमारको अर्कै होला । यसकारण यो ‘लेभल’ नमिलेपछि सामन्जस्य देखिन सकेको छैन,’पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले कान्तिपुरसँग भने,‘अझै पनि बिमस्टेक भनेर क्षेत्रीय पहिचान बन्न सकेको छैन, सार्कजत्तिको चिन्ने स्थिती पनि छैन ।’

दुई दशकअघि स्थापित बिमस्टेकमा नेपालले सदस्यता लिँदा(२००४) परराष्ट्र सचिव रहेका आचार्यले त्यसबेला यो संगठनबाट निकै आशा गरेका थिए ।

‘खासमा दक्षिण एशियाली (सार्क) र आसियान(दक्षिण पुर्वी एशियाली) मुलुक जोड्न सकिन्छ कि भन्ने थियो सुरुमा,’आचार्य भन्छन्,‘तर, बिमस्टेक आफैंमा सार्कजस्तो बन्न लागेको छ, कार्यान्वयन शून्य निर्णय अधिक ।’

सार्क संगठनमा रहेकै गरिबी निवारण, कृषि, संस्कृतिजस्ता ‘आम विषय’ बिमस्टेकमा पनि जोडिएको छ, अहिले सुरक्षा विषय जोडेर भारतमा संयुक्त सैन्य अभ्यास गरिने भन्ने सूचना बाहिर आइसकेको छ ।

बहुपक्षीय प्राविधिक वा आर्थिक कुराभन्दा ‘देखासिकी’ काम भइरहेको बुझाइ विज्ञहरुको छ ।

काठमाडौंमा जारी बिमस्टेकको चौथो शिखर बैठकमा ‘उर्जा मार्ग’ (इनर्जी ग्रिड) बारेमा समझदारी बन्ने अपेक्षा त गरिएको छ तर, यसमा व्यापारका आधार र उपायबारेमा कुनै परामर्श थालिएकै छैन ।

‘बिमस्टेकमा व्यापार, व्यापार सेवा र लगानीका ३ क्षेत्रमा ‘फ्रि ट्रेड’ प्रावधान अघि सारिएको थियो । १४ वर्ष भयो, एउटैमा पनि सहमति हुन सकेको छैन,’ सचिव आचार्य भन्छन्,‘भनेपछि आर्थिक साझेदारीको आशलाग्दो आधार अझै देख्न सकिएन ।’सुरुका दिनमा बिमस्टेकलाई ‘सेरेमोनियल’ नगर्ने भनियो, ससाना योजना लिएर काम गर्ने भनियो । तर, अहिले काठमाडौंमा जारी सम्मेलन हेर्दा सबैभन्दा बढि ‘सेरेमोनियल’ भेलाका रुपमा यो चिनिएको छ ।

‘घोषणा प्रसस्तै हुने र कार्यान्वयन नहुने तथा अफिसियल मिटिङमैं घुमिरहेने रोग बिमस्टेकमा भित्रिएको छ,’आचार्य भन्छन्,‘हाम्रो सरोकार भने हामी भुपरिवेष्ठित मुलुक भएकाले भूवनोटअनुसार सेवा, सुविधा लिने भन्नेमा थियो । समुद्रसँगको सक्दो पहुँच बढाउने भन्ने थियो । तर बिमस्टेकको क्षेत्र यति बढी विस्तारित भयो र बाँढियो कि हामी विषयमा केन्द्रिकृत हुनै सकेनौँ ।’

आगामी महिना भारतको पुणेमा हुन लागेको संयुक्त सैन्य अभ्यासका सन्दर्भमा पनि बिमस्टेक क्षेत्रीय संगठन ‘भारतको प्रभाव र पहुँचमा चलिरहेजस्ता’ देखिएको छ । ‘पाकिस्तानलाई ‘माइनस’ गर्न र सार्कलाई ओझेल पार्न बिमस्टेक अघि बढाइएको देखिन्छ । रिजनल अर्थको एउटै प्रोजेक्ट आउन सकेको छैन । यहाँ त सबैले देख्ने सिग्नेचर–प्रोजेक्ट चाहिन्छ,’आचार्य भन्छन् ।

परराष्ट्रको ‘अफिसियल डम्प’मा निर्भर रहेको बिमस्टेकमा तत्काल दह्रो सचिवालय र थिङं–ट्याङ्कजस्तो प्रबुद्ध समूह चाहिने आवश्यकता देखेका छन्, विज्ञहरुले । ‘सार्कको विकल्प बिमस्टेक हुन सक्छ भनेर भ्रम राखिरहनु ठीक हुन्न,’पूर्व परराष्ट्र सचिव मदन भट्टराई भन्छन्—‘सार्क र बिमस्टेक एकअर्काका सहयोगी वा साझेदार बन्न सक्छन् ।’
बिमस्टेकभित्र पनि सन् २०१० मा ‘ट्रान्सपोर्ट इन्फ्रक्सट्चर एण्ड लजिष्टिक स्टडी’ भनेर अध्यन गर्दै दर्जनौं प्रोजेक्ट पहिचान गरिएको थियो । तर ती परियोजनामा एउटै पनि कार्यान्वयनमा आएनन् । ‘बरु सार्कमा साउथ एशिया युनिर्भसिर्टी, डिजाष्टर सेन्टर जस्ता कार्ययाजना व्यवहारिक बनेका छन्,’आचार्य भन्छन् ।

पछिल्ला वर्षमा बिमस्टेकमा बढी भौगालोकिक र राजनीतिक प्रभाव–पहुँच देखा पर्न थालेको छ । दक्षिण एशियाली मञ्चबाट पाकिस्तानलाई ‘एक्ल्याउन’ सुरु भएको कार्यशैलीको खुलेर विरोध गर्ने आँट पनि धेरैले गरेका छैनन् ।

बिमस्टेकभित्रकै बंगालादेश–म्यानमार जस्ता संस्थाबीच रोहिंग्या शरणार्थीको मुद्दा अल्झेर रहेकोमा यस्तो मञ्चमा आपसी मनमुटावका विषय पनि बहसमा आउनु जरुरी देखिएको छ । ‘जस्तो आशियान मञ्चमा पनि कम्बोडिया–थाइल्याण्डको बोर्डरबारे रिजोल्युसन पास गरिएको छ ।

म्यानमारमा लोकतन्त्र भएन भनेर आशियानले विरोधमा ‘रिजोलुसन’ निकालेको छ,’न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि समेत भइसकेका आचार्य भन्छन्,‘क्षेत्रीय संगठन भएपनि म्यानमार-बंगालादेशबीचको रोहिंग्या शरणार्थीबारे कुराकानी किन नगर्ने ? सार्क मञ्चमा पनि भारत–पाकको संवाद अभावले न यो स्थिती आएको हो ।’

विशेषत राजनीतिक समन्वय र समझदारी नभैकन आर्थिक साझेदारी बढ्न सक्दैन भन्ने बुझबुझारथ हुनु जरुरी रहेको उनको भनाइ छ ।

बिमस्टेकमा धेरैजसो निर्णायक कार्ययोजना ‘भारत निर्देशित’ रहेको हो कि भन्ने आशंका पनि उठेको छ । बुद्धिष्ट–सर्किट पहिचान गर्ने मामलामा पनि बुद्धको जन्मस्थलबाट ‘सर्किट’ सुरु नगरेर ‘बुद्धिजम’को जन्मस्थल भनेर भारतबाट यो सर्किट सुरु गरिएकोमा बिषयविद् र जानकारले पनि ‘थाहा नपाए’ झैं गरिरहेका छन् ।

‘कुशिनगर, बोधगया, सारनाथ हु्ँदै लुम्बिनी फुत्त पसेको एउटा यात्रुले पत्तै पाउँदैन,’आचार्य भन्छन्,‘अर्कातिर, नेपालकै आफ्नै बुद्धिष्ट-सर्किट तय हुन सकेको छैन, कपिलवस्तु–नवलपरासीका मुकामहरु बारे आफैंमा अन्यौल छ । न नक्सा छ, न गाइडलाइन । रामग्राम, निग्लिहवा, गोटिहवाको नाम–नक्सांकन कहाँ छ ?’

प्रकाशित : भाद्र १२, २०७५ १९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT